आयो, आयो पुस (बालकविता)

 आयो, आयो पुस (बालकविता) 
रमेशचन्द्र घिमिरे

कम्मल ओढी कोठामा नै
बस्छु धम्मर धुस
बाहिर जान्नँ चिसो लाग्छ
आयो, आयो पुस


सल्काएर घसेटा र
झिर्कामिर्का झुस
आगो तापी जाडो भगाऊँ
आयो, आयो पुस


न्यानो सुइटर लाउन पाए
हुन पाइन्थ्यो खुस
बालाई भन्दिनु न आमा
आयो, आयो पुस


कुहिरो हो कि बादल हो  
उड्छ फुस्–फुस्
घामको मुखै देख्नै गाह्रो
आयो, आयो पुस


अहिले पढौँ अल्लि पछि 
खेलौँ तामा टुस
यतिखेर जाडो छ
आयो, आयो पुस ।

— भोर्लेटार, लमजुङ

२०७७/०९/०२



Post a Comment

0 Comments