अरेली काँडैले (लघुकथा)
रमेशचन्द्र घिमिरे
'अरेली काँडैले मलाई, च्वास्सै च्वास्सै ...' उता यो
गीत बजिरहेको थियो । यता उनलाई यो गीत मन परेन ।
'यो गीतको के अर्थ छ ? यसले भन्न खोजेको चाहिँ
के हो के खासमा ? भयो बन्द गर्दिनुस् । मलाई त मन परेन ।' तीजको दर खाने
कार्यक्रममा आएकी प्रमुख अतिथिले गीत बन्द गर्न लगाइन् ।
महिला सञ्जालद्वारा आयोजित तीजको दर खाने कार्यक्रममा शुभकामना दिन मन लाग्ने जतिले शुभकामना दिए । उनले पनि दिइन् । हिजोको संस्कृति अहिले आएर विकृति भएकामा दुखेसो पोखिन् । मौलिकता हराएकामा चिन्ता व्यक्त गरिन् । नारीले वेदना पस्कनु पर्ने चाडले रत्यौलीको झल्को दिएकामा नमजा मानिन् र नारीहरूको महान् पर्व हरितालिका तीजको उपलक्ष्यमा शुभकामना दिइन् अनि दर खाने कार्यक्रमको आयोजना गरेकामा आयोजकलाई धन्यवाद दिइन् ।
शुभकामना मन्तव्य लगत्तै दर खाने कार्यक्रम
सुचारु भयो ।
दर खाने कार्यक्रम पनि समापन भयो ।
सबै महिला दिदी बहिनीहरू नाच्नमै व्यस्त थिए ।
प्रमुख अतिथिलाई ननचाईकन उनीहरूको मन नै मानेन । उनले पनि मन राखिन् र मज्जाले
नाचिन् ।
गीतको बोलचाहिँ उही थियो - 'अरेली काँडैले मलाई,
च्वास्सै च्वास्सै ...'
********************************
२०८०/०५/३० भोर्लेटार लमजुङ
रहर लाग्दो पनि तर कता कता चस्कने पनि ।
ReplyDeleteतर नौलो किसिमको लघुकथा
पस्केको हुनाले यस्लाई मैले उच्च
स्तरको मान्न पुगे ।
बधाई छ रमेश भाइ।
स्तरको मान्न पुगे ।