कवि रामबाबु सुवेदीका प्रतिनिधि बालकविता र तिनको विश्लेषण - रचना चौतारी

Breaking

Powered By Blogger

July 25, 2021

कवि रामबाबु सुवेदीका प्रतिनिधि बालकविता र तिनको विश्लेषण

 कवि रामबाबु सुवेदीका प्रतिनिधि बालकविताको विश्लेषण

कवि रामबाबु सुवेदी
पिता देवीदास सुवेदी र माता पवित्रा सुुवेदीका सुपुत्रका रूपमा कास्की जिल्लाको हंसपुर भन्ने रमाइलो गाउँमा जन्मिएका कवि रामबाबु सुवेदी नेपाली छन्दोबद्ध कवितालेखन परम्पराका उल्लेख्य कवि हुन् । आफ्ना बालकवितामा राष्ट्रिय सन्दर्भको प्रयोग गर्दै उनले राष्ट्रप्रतिको बफादारीको भाव समेटेका छन् भने प्राचीन र लोपोन्मुख स्थानीय महत्त्वका विषयलाई समेत आफ्ना बालकवितामा निक्कै जोड दिएका छन् । उनका बालकवितामा बालस्वभाव, बालमनोविज्ञान, बालकको कर्तव्यबोधी भावना र बालअधिकार जस्ता विषयवस्तुहरू समेटिएका पाइन्छन् भने बालबालिकालाई प्यारो लाग्ने बालखेलौनाको परिचय दिन पनि उनका कविता सक्षम देखिन्छन् । कवि सुवेदीका बालकवितामा नैतिक तथा शैक्षिक जागरणको सन्देश पनि पाइन्छ । लोकजीवनप्रतिको मोह एवं प्राकृतिक सौन्दर्यसितको अभिरुचि उनका कवितामा अभिव्यक्त भएको पाइन्छ । उनले प्रकृतिचित्रणसँगै स्थान परिचयसमेत दिई आन्तरिक पर्यटनलाई टेवा दिने खालका कविता रचेको पाइन्छ । खुर्पेटो, डल्लँेठो, ओदान, सियो, आग्लो, आँसी, ठेकी, मदानी, पोतारी जस्ता ग्रामीण व्यवहारमा प्रयुक्त हुने उपयोगी बस्तुहरूको परिचय पनि उनका कविता पढेर सहरी बालपाठकले प्राप्त गर्न सक्दछन् । उनका कवितामा प्राकृतिक पशुपक्षी र कीटपतङ्गलाई पनि विषयवस्तु बनाइएको पाइन्छ । राष्ट्रिय एवं साहित्यिक व्यक्तित्वको गुणगान र योगदानको प्रशंसा गर्दै त्यस्ता प्रतिभाहरूको परिचय दिई उनीहरूप्रति श्रद्धा जगाउन उनका कविता सफल छन् । थोरै शब्दमा धेरै कुरा भन्नु, ग्राम्य परिवेशलाई आधार बनाउनु अनि झर्रा र सरल तथा मीठा शब्दको प्रयोग गरी आफ्ना बालकवितालाई रोचक पार्नु उनको बालकवितात्मक वैशिष्ट्य हो । 

यहाँ यिनै कविका जमुनीको छोरो, बैनी जन्मँदा र माले गोरु गरी तीनवटा बालकविताको विवेचना गर्ने प्रयास गरिएको छ ।

१. जमुनीको छोरोः
कवि रामबाबु सुवेदीको ‘जमुनीको छोरो’ कविता वि.सं २०४१ मा बालकोसेली प्रकाशनद्वारा प्रकाशित यसै नामको सङ्ग्रहमा सङ्कलन गरिएको उत्कृष्ट र चर्चित कविता हो । ‘राजीव’ उपनामबाट लेखिएको यो कविता रामेश श्रेष्ठको सङ्गीतमा सङ्गीतबद्धसमेत भएको छ । स्वर्णिम स्कुल काठमाडौँका विद्यार्थीहरूले यसमा स्वर दिएका छन् । दुर्गम गाउँमा जन्मेको एउटा बालकले आफूले पढ्न नपाएर जान्ने–सुन्ने हुन नपाएको दुखेसोलाई कविले यसमा आफ्नो भाषामा प्रस्तुत गरेका छन् । 
समीक्षक रमेशचन्द्र घिमिरे
कवितामा ज्यामिरे गाउँमा बस्ने जमुनीको छोराले आफू गोरो भए पनि सबैले ‘काले’ भनेकोमा चित्त दुखाएको छ । सधैँ गोठे धन्दामा लाग्नुपरेको जमुनीको छोरालाई अरुले झैँ पढेर जान्ने–सुन्ने हुन मन लागेको छ । सस्ता कुरा मात्र गर्ने ज्यामिरे गाउँमाा बसेको जमुनीको छोराको मन नराम्ररी दुखेको छ । आाफूसँग कापी–कलम नभएको कोही बुझ्दैनन्, खालि स्कुल किन नगएको भनेर मात्र सबैले प्रश्न गर्दछन् । आफ्नो गोठलाई स्कुल र पढ्न–लेख्न मुस्किल पर्ने गोबरलाई अक्षरका रूपमा जमुनीको छोराले चित्त बुझाएको छ । 

आनुप्रासिक छटा एवं सरल बालसुलभ कोमल भावनायुक्त शब्दचयनले सिँगारिएको यस कवितामा रूपक अलङ्कारको प्रयोग कविले यसरी गरेका छन्ः

मेरो सानो गोठ नै
मेरो सानो स्कुल
गोबरका अक्षर 
पढ्न लेख्न मुस्किल ।

गाउँघरका पढ्न खोज्ने व्यक्तिको पढ्ने इच्छालाई गोठे धन्दामा मात्रै नअल्मल्याई उनीहरूको पढ्ने इच्छालाई कुण्ठित गर्नुहुँदैन भन्ने सन्देश यस कवितामा व्यक्त गरिएको छ । निमुखा र निरक्षरलाई ‘काले’ भनी होच्याएको र गोठे धन्दामा लाग्नुपर्दा पढाइलाई नै पर पन्छाउनु पर्ने तत्कालीन ग्रामीण समाजको बाध्यतालाई कविले यसमा उतारेका छन् । शैक्षिक जागरणको कुरालाई प्रस्तुत गरिएको यस कवितामा पढाइको महत्त्वलाई नाटकीय ढङ्गमा सम्प्रेषण गर्ने काम कविले गरेका छन् ।

२. बैनी जन्मँदाः
‘भँगेरी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत ‘बैनी जन्मँदा’ कविता पनि लयात्मक बालकविता हो । ७ श्लोक र १४ हरफको संरचनामा संरचित यस कवितामा सामाजिक भेदभावको विरोध र लैङ्गिक असमानतालाई विषयवस्तु बनाइएको छ । यस कविताको भावार्थ यस्तो रहेको छः

दुइटी छोरी भएका घरमा अर्की छोरीको जन्म भई तीन छोरीको ताँती लागेको छ । रेडियोले दुइटा मात्र सन्तान हुनुपर्छ भनेर प्रचार गरे पनि छोराको आसले त्यो नियम तोडेको छ । ‘म’ पात्रलाई भाइसित खेल्ने रहर छ भने बा–आमालाई पनि छोराको आस छ । छोरी पाएपछि आमा–बा दुवै निन्याउरा र हरेस खाएजस्ता देखिन्छन् । छोरी भए पनि मैले बा–आमालाई हँसाउन सक्छु । छोराछोरी दुवै एकै हुन्, छोराको मात्रै चाहना गरेर सन्तान बढाउनु राम्रो होइन । एउटै मात्र छोरी भए पनि त्यसलाई लाखै सम्झनुपर्छ, दुईबिच भेदभाव गर्नुहुन्न भनेर ‘म’ पात्रले भनेकी छे । 

छोरा नभए मरेपछि पिण्डपानी दिने कोही हुँदैन भन्ने सामाजिक अन्धविश्वासमा जकडिएको समाजका लागि यो बालकविता बढी शिक्षाप्रद देखिन्छ । जनसङ्ख्या नियन्त्रण गरी बढीमा दुई सन्तान माात्र जन्माएको खण्डमा परिवार सुखी र सम्पन्न हुन सक्छ । छोरा र छोरीबिच भेदभाव गर्नु राम्रो होइन । छोरीले पनि पछि गएर बा–आमालाई छोरालाई भन्दा बढी माया गर्न र हँसाउन सक्छे भन्ने भाव यस बालकवितामा अभिव्यञ्जित भएको छ । कवितामा अन्त्यानुप्रासको योजना राम्ररी मिलेको छ । जस्तैः

मलाई  पनि भाइसित खेल्ने रहरै
रहरले रहरलाई पार्‍यो ठहरै ।


३. माले गोरुः
‘भँगेरी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत ‘माले गोरु’ पनि लयात्मक शैलीमै लेखिएको बालकविता हो । प्राकृतिक पशुको पीडा बुझ्न सक्ने उदार बालक बनेर कविले यस कविताको सिर्जना गरेका हुन् । ९ श्लोकर १८ पङ्क्तिको संरचनामा रहेको यस कविताको भावार्थ यस्तो छ?

पशुको रूपमा जन्मेपछि धेरै दुःख हुन्छ । त्यही दुःखले मेरो माले गाई पनि भलभली रोएको छ । ठाडो शिर लिएर हलो तानिरहनु पर्ने बाध्यता माले गोरुलाई छ । आफ्नै नारलाई समेत सिङले हानेर उसले स्वाद फेरेको हुन्छ । घाँस खाइन्जेवल खुसाए पनि दिनभरि जोतिइरहनु पर्दा धेरैजसो ऊ  रिसाएको देखिन्छ । आकाशको चरो स्वच्छन्द रूपमा उडेको देख्ने माले गोरुले व्यर्थै हलो जोत्नुपर्दा आफ्नो स्वतन्ता कुँजिएको ठानेको छ । चराले उपभोग गरेको स्वतन्त्रतालाई आँखाले टुुलुटुलु हेर्दै र गलो दुखाउँदै माले गोरु हलो तान्न विवश छ । बाँझो धर्ती फोर्दा उसलाई हुनसम्मको पिर परेको छ । कहिलेकाहीँ त छाती चर्किएर आँसुसमेत खसाल्न पुग्दछ । जतिसुकै दुःख सहेर पनि खेतबारी जोतेर सुन फलाउने गोरु मानिसका लागि निकै उपयोगी पनि भएको छ । एउटा प्राणीलाई दुःख दिएर मानिसले निर्लज्ज मोज गरेको छ । कवि माले गोरुको काम देखेर नाङ्ला जत्रो छाती बनाई प्रफ्ल्ल हुन पुगेका छन् । सधैँ पीडामा मात्र पिल्सिइरहने माले गोरुले हाँस्न पाउनुपर्दछ र खान मन लागे जति घाँस, कुँडो, पराल पनि खान पाउनुपर्छ भन्दै कवि यसो भन्छन्ः

यो मालेले पनि हाँस्ने दिन पाओस्
घाँस, कुँडो, पराल जति खान्छ खाओस् । 
प्राकृतिक पशुको पीडा खोतल्दै यस कवितामा कवि स्वतन्त्रताप्रेमी भएर देखिएका छन् । मानिसका लागि निकै उपयोगी, सहयोगी र हितकारी काम गर्ने प्राणीलाई आफ्नो स्वार्थका लागि माात्र काममा नल्याई उसप्रति दया पनि गर्नुपर्छ भन्ने भाव यस कवितामा व्यक्त गरिएको छ । मान्छेले निरीह पशुको समेत हित चिताउनुपर्छ भन्ने मूल सन्देश बोकेको यस कवितामा कविले बालबालिकाले रमाइलो मान्ने भाका र सन्दर्भको चयन गरेका छन् । यस कवितामा काल्पनिक पक्ष पनि उत्तिकै प्रबल रहेको छ ।

निष्कर्षः
बालबोलीलाई नै टपक्क टिपेर बालसुलभ कोमल भाषामा सुन्दर कविताको सिर्जना गर्नु र बालमनोविज्ञानलाई खोतल्न सक्नु कवि रामबाबु सुवेदीको बालकवितात्मक वैशिष्ट्य हो । प्राकृतिक सौन्दर्यको चित्रण, लोकजीवनप्रतिको मोह, श्रमको कदर एवम् बाल आनीबानीको यथार्थ चित्र उतार्ने सुवेदीले बालबालिकालाई ऐक्यबद्ध र शैक्षिक क्षेत्रमा जागृत हुनका लागिसमेत प्रेरणा प्रदान गरेका छन् । विभिन्न सङ्ग्रहबाट विश्लेषणका लागि चयन गरिएका उल्लेखित बालकविताहरूमध्ये  ‘जमुनीको छोरो’ बालकवितामा प्रगतिवादी चेतनाको सूक्ष्म झलक भेटिन्छ भने बैनी जन्मँदा’ बालकवितामा समाजमा छोरीको महत्त्वबोध गराउँदै लैङ्गििक असमानताको विरोध गरिएको छ र ‘माले गोरु‘ बालकवितामा प्राकृतिक पशुको पीडा खोतल्दै निरीह पशुप्रति उदार हुनुपर्ने दृष्टिकोण पेश गरिएको छ ।

https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samicha/34724/

No comments:

Post a Comment