कवयित्री प्रभा भट्टराईका प्रतिनिधि बालकविताको विश्लेषण - रचना चौतारी

Breaking

Powered By Blogger

May 22, 2021

कवयित्री प्रभा भट्टराईका प्रतिनिधि बालकविताको विश्लेषण


प्रभा भट्टराई
 कवयित्री प्रभा भट्टराईका प्रतिनिधि बालकविताको विश्लेषण

पिता नारायणदत्त शास्त्री र माता मिठ्ठू आचार्यकी सुपुत्रीका रूपमा वि.सं. २०२२ कार्तिक १६ गते चुँदी रम्घा, तनहुँमा जन्मिएकी कवयित्री प्रभा भट्टराई आचार्य (हालः काठमाडौँ महानगरपालिका–१३, ताहाचल) त्रिविबाट स्नातकोत्तर र एम. फिल. गरेकी साहित्य स्रष्टा हुन् । वि.सं. २०३३ देखि नै कवितामार्फत लेखनयात्रा थालेकी उनी नेपाली साहित्यमा समसामयिक एवम् साहित्यिक तथा अनुसन्धनात्मक लेख, समालोचना, छन्दोबद्ध कविता, गीत, निबन्ध, कथा, बालकथा, बालकविता लेखन, सम्पादन आदिमा निरन्तर क्रियाशील स्रष्टा हुन् ।

नेपाल सरकार पाठ्यक्रम विकास केन्द्र तथा अन्य निजी प्रकाशन संस्थाहरूद्वारा प्रकाशित पाठ्यपुस्तक र सन्दर्भ पुस्तकमा उनका प्रशस्त रचनाहरूको प्रकाशन भएको पाइन्छ । हाल उनी पद्मकन्या क्याम्पस, काठमाडौँमा प्राध्यापन पेशामा समेत आबद्ध छन् । उनका सुमधुर स्वरमा सजिएका रामायण वाचन लगायत अन्य छन्दमा वाचन गरिएका कविताका अडियो सामग्रीहरू अत्यन्त रुचिकर छन् । आदिकवि भानुभक्त आचार्यको कवित्वले उर्वर बनाएको तनहुँ जिल्लाको चुँदी रम्घाको माटोलाई साहित्यिक हिसाबले अझ मलिलो बनाउनमा आदिकवि भानुभक्तकै वंशमा जन्मिएकी कवयित्री प्रभा भट्टराईको पनि उत्तिकै ठूलो योगदान छ ।
👉रमेशचन्द्र घिमिरे


शास्त्रीय छन्दकविता लेखनमा कवयित्री प्रभा एउटा सशक्त नारी हस्ताक्षरको नाम हो । वर्णमात्रिक प्रौढ छन्दकविता लेखनमा मात्र होइन, लोकलयात्मक बालकविता लेखनका क्षेत्रमा समेत उनको लेखनीले लामो यात्रा पार गरेको छ र सो यात्रा हालसम्म पनि अविश्रान्त रूपमा अगाडि बढिरहेको छ । उनी बालसाहित्य लेखनका क्षेत्रमा एउटा सफल, सशक्त र स्थापित प्रतिभाका रूपमा सुपरिचित व्यक्तित्व हुन् । २०३३ सालको ‘बालक’ पत्रिकामा ‘आमा’ शीर्षकको कविता प्रकाशन गरेर उनले बालसाहित्यको यात्रा आरम्भ गरेकी हुन् । सरर्र बग्ने मीठो शैलीमा उत्कृष्ट बालकविता लेख्ने कवयित्री प्रभाका बालकविता बालबालिकाका हृदयमा गड्ने खालका छन् । उनका बालकवितामा प्रत्यक्ष रूपमा नैतिक सन्देश दिइएको र उपदेशको भारी बोकाइएकोे पाइँदैन । उनका कविता पढ्दै जाँदा बालबालबालिकाले प्रत्यक्ष रूपमा मनोरञ्जन त प्राप्त गर्छन् नै साथै अप्रत्यक्ष रूपमा थाहै नपाई नैतिक सन्देश समेत ग्रहण गर्दछन् । बालबालिकाको भाषामा बालककै बोली बनेर लेखिएका उनका बालकविता बालमष्तिष्कमा सकारात्मका छाप छोड्न सफल छन् । जिज्ञासा, कुतूहलता, प्रभावकारिता, बालसुलभता, रोचकता, सरलता, लयात्मकता, झर्रोपना आदि उनका बालकविताका शैलीगत विशेषता हुन् । उनका बालकविताले बालबालिकालाई स्वास्थ्यप्रति सचेत हुन अह्राउँछन्, सुमार्गमा हिँडाउँछन् अनि कुन कुरा राम्रो र कुन नराम्रो हो भन्ने बारेमा परिचित गराई बालबालिका स्वयम्लाई निर्णय गर्ने अधिकार दिन्छन् । अझ उनका कतिपय बालकवितामा त रमरम हास्य र भित्री व्यङ्ग्य पनि घुसेको देख्न सकिन्छ । 

बालसाहित्यतर्फ बालकविता लगायत बालकथा, बालकाव्य, बालचित्रकथा आदि विधामा उनको कलम चलेको छ । उनका ‘पोसिला कविता’ र ‘मेरो सानो भाइ’ बालकवितासङ्ग्रह प्रकाशित छन् । यी सङ्ग्रहहरूमध्ये साझा प्रकाशनद्वारा प्रकाशित उनको ‘पोसिला कविता’ सङ्ग्रहमा अनार, अम्बा, अमला, अदुवा, आँप, उखु, केरा, खुर्सानी, फर्सी, बेल, तुलसी, नरिवल, नासपाती, रुखकटहर र लसुन गरी बालबालिकाका लागि चिर परिचित १५ वटा उपयोगी बोटबिरुवा र फलहरूको बारेमा सरल शैलीमा तिनीहरूको परिचयसहित गुण र विशेषताको कवितात्मक वर्णन गरिएको छ । लोकलयमा रचित यी कविताहरूमा हितकारी फलफूल, तरकारी, मसला, वनस्पति आदिले मानव स्वास्थ्य र मानव जीवनमा पार्ने सकारात्मक प्रभावको कुरा अत्यन्तै रमाइलो पारा र सुन्दर शैलीमा व्यक्त गरिएको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित उनको ‘मेरो सानो भाइ’ बालकविता सङ्ग्रहमा उनका दसैँ आयो, चौतारी, त्यही चाहिन्छ, मेरो सानो घर, मेरो सानो भाइ, नानी बाच्छी, धत्तेरी चञ्चले, मेरो पुतली, मामा घर, को खाई को खाई र दिदीको बिहे गरी ११ वटा कविताहरू सङ्गृहीत छन् । यस सङ्ग्रहमा विभिन्न विषय र सन्दर्भको प्रयोग गर्दै बालबालिकाका अनुभूतिलाई रोचक र कलात्मक पारामा अभिव्यक्त गरिएको छ । उनका ‘पोसिला कविता’ र ‘मेरो सानो भाइ’ यी दुई प्रकाशित बालकवितासङ्ग्रहमा सङ्कलन गरिएका तथा अन्य फुटकर बालकविताका आधारमा हेर्दा प्रकति चित्रण, प्राकृतिक वनस्पतिको उपयोगिता, नेपाली चाडपर्वमा हुने मनोरञ्जन, सामाजिक र लोक व्यवहारको झलक, परम्परागत संस्कृतिको संवद्र्धन, बालसुलभ व्यवहार, आञ्चलिकता, स्थानीय र लोकोन्मुख वस्तुको चिनारी, जन्मभूमिप्रतिको ममता, वात्सत्य भाव, प्राकृतिक प्राणीसँगको सामीप्यता, जनस्वास्थ्यप्रतिको सचेतता र चासो, बालखेलको सन्दर्भ, बालसुलभ निश्चलता र चञ्चलता, मनोरञ्जनात्मकता, बालबालिकालाई प्यारो लाग्ने नातासम्बन्ध, स्वतन्त्रताको अनुभूति, शैक्षिक चेतना, अग्रजप्रतिको श्रद्धाभाव जस्ता विषयवस्तुको प्रयोग गरेर लेखिएका यी कवितामा सङ्क्षिप्त शैलीको प्रयोग गरिएको छ भने बालबालिकाकै बोली टपक्क टिपेर बालमनोविज्ञानलाई समेट्ने अनि बालोचित कोमल भावनाको उजागर गर्ने कामसमेत उनका बालकवितामा गरिएको छ । छोटा आकारमा झिनो कथानक मिसाउनु, बालभावनाको कदर गर्नु, अग्रजप्रति श्रद्धा गर्दै अनुजप्रति वात्सल्य देखाउनु, कल्पनाशील पक्षमा रमाउनु, बालबालिकामा हुने जिज्ञासाको प्रस्तुति दिनु, सरल, सरस र लयात्मक कोमल भाषाको प्रयोग गर्नु आदि उनका बालकवितात्मक प्रवृत्ति हुन् ।  ‘म के बनूँ’, ‘गीता पापा’, ‘रमाइलो गाउँ’,  ‘गुडियाको बिहे’, ‘सन्तु र सुगा’, ‘करेसाबारीमा कमल’, ‘बुनूको झोला’, ‘माछा ! माछा ! माछा !’, ‘परीको माला’, ‘मेरो एक दिन’, ‘भोजकोे निम्तो’, ‘घुम्न राजधानी’ लगायतका उनका कृतिहरू बालपद्य, बालचित्रकथा तथा बालकथातर्फ सम्बन्धित छन् । बालबालिकाका स्वभाव, चरित्र, जीवनशैली र बालमनोभावनालाई जस्ताको तस्तै टिपेर बालोपयोगी कोमल भावना र बालोचित सन्दर्भलाई उनले आफ्ना बालकविता वा बालगीतमा उतारेकी छन् । यहाँ यिनै बालसाहित्य सर्जक प्रभा भट्टराईका ‘फुलेका ती केशले’, ‘अदुवा’, ‘फुच्ची कोरोना’, ‘छायाँ साथी’ र ‘दसैँ आयो’ गरी पाँच वटा बालकविताहरूको विश्लेषणको प्रयास गरिएको छ ।

१. फुलेका ती केशले–

‘फुलेका ती केशले !!!’ बालकविता गोरखापत्र संस्थानद्वारा प्रकाशित मासिक बालपत्रिका ‘मुना’ को २०७० फागुनको अङ्कमा छापिएको उत्कृष्ट बालकविता हो । २+२+३ र २+२+३ (७+७) को संरचनामा रहेको १४ अक्षरे बालोरी लोकलयमा रचित यस बालकवितामा आफ्नो विगत बिर्सिएर सन्तानलाई उपदेशको भारी बोकाउने अभिभावकको बालमैत्री विरोधी व्यवहारप्रति तितो पोखिएको छ । हरेक मानिसलाई आफूलाई अरुले सम्झाएको मन पर्दैन तर अरुलाई सम्झाउनु प¥यो भने विगतमा गल्ती–कमजोरी गर्नेले समेत आफूलाई साधु जस्तै बनाएको हु्न्छ भन्ने भाव यसमा अभिव्यञ्जित भएको छ । बालपात्र बनेकी कविलाई आफ्ना अभिभावकको यस्तो व्यवहार मन पर्दैन । बालकका पनि रहर हुन्छन् । बालकले बालक हुँदा नचले कहिले चल्ने अनि बालक हुँदा नखेले कहिले खेल्ने त ? भन्दै बालक बनेर उभिएकी लेखिकाले अभिभावकसँग घुर्की पोखेकी छन् र आफूलाई पनि खेल्न, रमाउन, आफ्ना जिज्ञासा बाआमासँग निर्धक्क राख्न र बाल चर्तिकला देखाउन मन लागेकाले हाम्रा इच्छामाथि लात नमार्न अभिभावकसँग साङ्केतिक भाषामा अनुरोध गरेकी छन् । बालबालिकाका चाहनामाथि अभिभावकले हस्तक्षेप गर्न नहुने विद्रोहको भाव यसमा अभिव्यक्त भएको छ । बाल्यकालीन रहर पूरा गर्न खोज्ने अभिभावकले पनि आफ्ना बाल्यकाल त खेलेर, चलेर र स्वतन्त्रै भएर त बिताएका होलान् नि भन्ने भित्री शङ्का यस कवितामा बालक बनेको ‘म’ पात्रद्वारा व्यक्त भएको छ । कविताको भावार्थ यस्तो छः 


    सेतै कपाल फुलेका ठूलाबडा भनाउँदाहरूले दिने ठुल्ठुला उपदेशले हामीलाई दिक्कै पारेको छ । हामी केटाकेटीले धेरै खेलेको उनीहरूलाई मन पर्दैन रे ! अनि धेरै बोलेको र धेरै सोधेको समेत उनीहरूलाई फिटिक्कै मन पर्दैन । हामीले टि.भी. हेरेर रमाएको र भुइँमा कोतरेको त झन् उनीहरूलाई कत्ति पनि मन पर्दैन । उनीहरूका लागि जतिखेर पनि हामी किताबको किरो जस्तै बनेर थुपुक्क नचलीकन बसिदिनुपर्दछ । पक्कै पनि उनीहरूको जीवनमा पनि बाल्यकाल थियो होला । सानामा उनीहरू पनि चकचक गर्थे होलान्, उनीहरू पनि पढ्नमा भन्दा खेल्नमा ध्यान दिन्थे होलान् । तर उनीहरू आफ्ना कुरा कहाँ भन्छन् र ? शिरमा सेतै कपाल फुलाएर हामीलाई उपदेश दिन .पल्केका अभिभावकहरू सानामा रुखैरुख झुन्डिएका र बारी–बारी दौडिएका थिए होलान् । पढ्न छोडेर लुकी–लुकी भाग्दै खोलामा पुगेर माछा मार्न गएका थिए होलान् अनि पौडी खेलेका थिए होलान् । ती पनि पक्कै हामीजस्तै त थिए होलान् नि ! मानवीय स्वभाव न हो सधैँ कहाँ तिनीहरू जाँगरिला हुन्थे र ? एउटै काम गर्दा–गर्दा तिनलाई वाक्क–दिक्क बनाउँदो हो, शरीरमा अल्छीले डेरा जमाउँदो हो अनि पढ्ने–लेख्ने बेलामा झुपु–झुपु निद्रा आउँदो हो । अहिले टाउकामा सेतै कपाल फुल्यो भन्दैमा हामीहरूका बालचाहनामाथि अवरोध पु¥याउँदै ती अभिभावकले उपदेशका गरुङ्गा भारी बोकाएर हामीलाई पटक–पटक दिक्क पारेकामा आपत्ति जनाउँदै कविताको समापन गरिएको छ ।





    कविता यस्तो छः
    ठूला–ठूला मान्छेका, ठूलै उपदेशले
    दिक्कै पार्‍यो हामीलाई फुलेका ती केशले

    खेल्न धेरै हुँदैन, चल्न धेरै हुन्न रे !
    बोल्न धेरै हुँदैन, सोध्न धेरै हुन्न रे !
    टि.भि.हेर्न हुँदैन, भैँमा केर्न हुन्न रे !

    किताबको कीरो झैँ बस्नु अरे थुपुक्कै !

    ठूला ठूला मान्छेका ठूलै उपदेशले
    दिक्कै पार्‍याे हामीलाई फुलेका ती केशले !!!
    आफ्ना कुरा भन्दैनन्, सानो छँदा के गर्थे ?
    रुखैरुख झुन्डिन्थे, बारी–बारी दौडिन्थे !
    लुकी–लुकी खोलामा, माछा मार्थे, पौडिन्थे

    पढ्ने–लेख्ने बेलामा निद्रा लाग्थ्यो झुपुक्कै !

    ठूला ठूला मान्छेका ठूलै उपदेशले
    दिक्कै पार्‍यो हामीलाई फुलेका ती केशले !!!

    २. अदुवा–

    ‘अदुवा’ बालकविता वि.सं. २०६० मा साझा प्रकाशनद्वारा प्रकाशित उनको ‘पोसिला कविता’ नामक बालकवितासङ्ग्रहमा सङ्गृहीत १४ अक्षरे सबाई छन्द (२+२, २+२, २+२+२) मा रचित लोकलयात्मक बालकविता हो । चित्रकार सुरेन्द्रराज भट्टराईको चित्रकलामा सजिएको यस बालकवितामा औषधीय गुणले युक्त रहेको मसलादार वनस्पति अदुवाको घरायसी व्यहारमा गरिने उपयोगिता र यसले मानव स्वास्थ्यलाई पार्ने सकारात्मक प्रभाव र फाइदाका बारेमा कवितात्मक वर्णन गरिएको छ । अदुवाको स्वादको मेसो भएका तर यसको अन्य गुणका बारेमा खासै थाहा पाउन नसकेका बालपाठकले कविता पढिसकेपछि यसको राम्ररी परिचयसमेत पाउन सक्दछन् । कवितामा प्रकृतिको मानवीकरण गरिएको छ र अदुवाले ‘म’ पात्रका रूपमा आफूलाई उभ्याउँदै आत्मपरक शैलीमा आफ्नो गुणगान आफैले गाएको छ । कविताले यसो भन्न खोजेको छः


    अदुवाको पात लाम्चो र चुच्चो हुन्छ अनि यो हरियो रङको हुन्छ । झट्ट हेर्दा यसको गानो फुच्चे औँला जस्तै देखिन्छ जसलाई माटोमुनि रोपिएको हुन्छ । यसको गानोभन्दा बाहिर दाह्रीजस्ता मसिना जरा देखिन्छन् । अदुवालाई माटाबाट झ्वाट्ट निकाल्न खोज्दा चुँडिन पनि सक्ने हुनाले जतनका साथ माया गरेर यसलाई उखेल्नुपर्छ भनेर कविले सल्लाह दिएकी छन् । अदुवा एउटा बहुउपयोगी बनस्पति हो । यसले घरेलु औषधिको काम गरेको हुन्छ । पेट दुख्दा, बान्ता हुँदा, रुघाखोकी लाग्दा र ज्वरो आउँदा यसको सेवनले ती रोगहरूबाट सहजै उपचार पाउन सम्भव हुन्छ । यति मात्र होइन पेटका जुका, चुर्ना मार्न अनि बाथ निको पार्न र मधुमेह वा कमलपित्त रोगको निदानका लागि पनि यो अत्यन्त हितकारक छ । अदुवाको गानो वर्षौँवर्षसम्म रहन सक्ने बलियो छ । हेर्दा सानो भए पनि यसको .महत्त्व ज्यादै ठूलो छ । रुखो माटो, सुक्खा जमिन, बारी, कान्ला जहाँ पनि रोप्न मिल्ने अदुवा दाल–तरकारीमा राखिने उपयोगी मसला पनि हो जसले मीठो स्वाद र चोखो बास्ना दिएको हुन्छ भनेर कविताको अन्त्य गरिएको छ ।
कविता यस्तो छः

लाम्चोलाम्चो पात मेरो हरियो र चुच्चो
औँलाजस्तै गानो मेरो माटोमुनि फुच्चो
गानो बाहिर दाह्रीजस्ता मसिना छन् जरा
माया गरी उखेल्नू है ? चुँडिएलान् बरा

पेट दुख्ने बान्ता हुने रुघा खोकी ज्वरो
धन्दा मान्नै पर्दैन म भगाइदिउँला पर
जुका–चुर्ना मार्न सक्छु बाथ निको पार्छु
मधुमेह कमलपित्त सबैलाई टार्छु

वर्षौँ–वर्ष बाँच्न सक्ने बलियो छ गानो
महत्त्व छ मेरो ठूलो हेर्दा मात्रै सानो
रुखोसुखो कान्लो बारी जहाँ पनि फल्छु
मीठो स्वाद, चोखो बास्ना सधैँ दिन थाल्छु ।

३..फुच्ची कोरोना–

विश्वमा महामारीका रूपमा कोभिड–१९ भाइरसले आतङ्क मच्चाएको र कोरोना रोगले अत्याएकोमा दिक्क हुँदै कवयित्री प्रभा भट्टराईले कोरोनाको मानवीकरण गर्दै ‘फुच्ची कोरोना’ शीर्षकमा कविता रचेकी हुन् । २+२+२+२, २+३ संरचना रहेको १३ अक्षरे भजन शैलीमा यो कविता रचिएको छ । २०७६÷१२÷२३ (सन् २०२० अप्रिल ५) मा सामाजिक सञ्जाल फेसबुकमा प्रकाशित यो बालकविता समसामयिक, सान्दर्भिक र जनचेतनामूलक भएकाले समीक्षाका लागि यहाँ प्रस्तुत गरिएको छ । कोरोनाका जीवाणुलाई आफ्नो सामु आउन दिनै नहुने र यसबाट बच्नका लागि गर्नुपर्ने विभिन्न उपायहरूको खोजी यस कवितामा गरिएको छ । कविताले बालबालिकालाई एकातिर जनस्वास्थ्यप्रति सचेत गराएको छ भने अर्कातिर फुर्सदको समयको सदुपयोग गर्दै सिर्जनशील बन्न समेत आग्रह गरेको छ । कविताको भावार्थ यस्तो छः

कवयित्रीले कोरोनालाई फुच्ची कोरोना नाम दिँदै र एउटा दुष्ट बालिकाका रूपमा उभ्याउँदै आफूसमेत बालपात्र बनेर उसको सातो लिन खोज्दैछिन् । उनलाई कोरोना काम न काजसँग लुखुर–लुखुर डुलेको पटक्कै मन परेको छैन । त्यो फुच्ची र छुच्ची कोरोनालाई आफूछेउ नआइज भनेर उनी सम्झाउँदै छिन् । बालपात्र बनेकी कवयित्री कोरोनाबाट सकभर तर्किन खोज्दै छिन् । यस कवितामा कोरोनालाई मान्छेकै रूपमा हेरेर सोही अनुरूप गाली गरिएको छ । नआइज भन्दाभन्दै पनि बलमिच्याइँ गरेर कोरोना आउन खोजी भने त्यसलाई हातबाट कसरी निकाल्नु पर्छ मैले पनि जानेकी छु भन्दै पिरो साबुन–पानीले पखालेर लखेटिदिने घुर्की उनले लगाएकी छन् । ‘म’ पात्रका रूपमा आएकी लेखिका भन्छिन्– कोरोनाबाट बच्नका लागि औँला टोक्न नहुने र तातो–तातो खानुपर्ने कुरा मलाई पनि थाहा छ तर म जतिसुकै सचेत भए पनि तेरो असह्य चर्तिकलाबाट मैले धेरै जोगिनु छ । तँ लुकिछिपी गरेर गल्ली–गल्ली डुल्न भ्याउँछेस् र आफ्ना सेना (जीवाणु) लाई यत्र–तत्र–सर्वत्र जहाँसुकै फिँजाउँछेस् । त्यसैले अब म घरमै बस्छु अनि तँलाई नजिक पर्नै दिन्नँ र बस्ने ठाउँसमेत तँलाई दिन्नँ । तेरो सङ्गतमा परिन्छ कि भन्ने डरले म घरमा केही न केही नयाँ–नौला कामहरू गर्छु, आफ्नो कला प्रदर्शन गर्छु । मसँग गीत गाउने खुबी छ त्यसैले म नाच्छु; नृत्य प्रतिभा छ त्यसैले नाच्छु अनि चित्र कोर्ने कला छ त्यसैले चित्र बनाउँछु । भान्सामा आमालाई सघाउने जाँगर मसित छ र मैले मेरा बा–आमाबाट पाककला पनि सिक्नु छ । घर वरिपरिको वातावरण सुरम्य, मनमोहक र सुवासिलो बनाउनका लागि मैले गमलामा पानी हालेर फूल फुलाउनु छ । केटाकेटीले टि.भी हेर्नै हुन्न भन्ने कहाँ छ र ! राम्राराम्रा कार्यक्रम भए म मजाले टि.भी पनि हेर्छु, परिवारकै सदस्यसँग खेल खेल्छु । यसरी कोरोनाको महामारीबाट जोगिन समयको सदुपयोग गर्दै सिर्जनशील कर्म गरेर घरमै रमाउँछु भन्ने सकारात्मक सन्देशसहितको निष्कर्ष बोकेको कविताको पूर्ण पाठ यस्तो छः

कति डुल्छेस् लुखुर् लुखुर् फुच्ची कोरोना
भो भो यता नआइज छुच्ची कोरोना

आइस् भने मेरो हातमा निकाल्दिन्छु म
 पिरो साबुन्–पानीले पखाल्दिन्छु म
मलाई पनि था’छ औँला टोक्नुहुन्न रे !
तातो–तातो खानुपर्छ खोक्नुहुन्न रे !

हिँड्छेस् अरे लुकी–लुकी गल्ली–गल्लीमा
फैलाउँछेस् आफ्ना सेना हल्ली–खल्लीमा 
घरमै बस्छु तँलाई नजिक् आउनै दिन्नँ म !
तँलाई बुझिस् ? बस्ने कुनै ठाउँ नै दिन्नँ म 

गीत गाउँछु, नाच्छु अनि चित्र बनाउँछु 
भान्छातिर बा–आमालाई काम सघाउँछु 
गमलामा पानी हाल्छु, फूल फुलाउँछु 
 टि.भी. हेर्छु,, गेम खेल्छु, घरमै रमाउँछु ।

४. छाया साथी–

२०७७ चैत्र २१ को नागरिक न्युज अनलाइनको अक्षर पृष्ठमा प्रकाशित ‘छाया साथी’ बालकविता कवि प्रभा भट्टराईको खारिएको, माझिएको र कल्पनाको जलप लगाइएको सुन्दर बालकविता हो । यस कवितामा कविले एउटा निर्जीव प्रतिबिम्ब अर्थात् छायालाई कविताको विषयवस्तु बनाउँदै त्यसको मानवीकरण गरेकी छन् र छायालाई साथीको संज्ञा दिएकी छन् । कविता सरर्र बग्ने मीठो शैलीको छ । अन्त्यानुप्रासको सफल योजना रहेको यो कविता असाध्यै सुन्दर र कलात्मक छ । साथी भनेका सुखको रमाइलोमा मात्र होइन दुःखको अप्ठ्यारामा समेत साथ दिने खालको निस्वार्थी र त्यागी हुनुपर्दछ भन्ने सन्देश यस बालकवितामा दिइएको छ । कविताको भावार्थ यस्तो छः

  • आफू जता–जता गयो त्यतै–त्यतै जाने, हिँडेपछि सँगै हिँड्ने र बस्यो भने सँगै बस्ने अनि कहिलेकाहीँ झुक्किएर आफैभित्र पस्ने छायाकोे स्वभाव मिलनसार साथीको जस्तै छ । दिउँसो दौडिने र राति थकाइ मार्ने उसको स्वभाव छ । मेरो मिल्ने साथी छाया मजस्तै छ र म जत्रै छ । जति पिटे पनि ऐया नभन्ने र  कत्ति पनि नरुने छाया साथी भागेर बिलाए पनि बत्ती बालेपछि फेरि फर्किहाल्छे भन्दै यसमा स्त्रीलिङ्गी क्रियापदको प्रयोग गरिएको छ । मान्छेजस्तै हिँडडुल गर्ने भए तापनि मान्छेलाई झैँ खाने पिउने कुराको आवश्यकता उसलाई पर्दैन । ऊ माना–पाथीको माग पनि गर्दिन । कवयित्रीका दृष्टिमा छाया सुख–दुःखकी साथी हो । सुख पर्दा छायाले साथ दिन्छे भने  दुःख पर्दा पनि डराएर ऊ हात छोड्दिन । त्यसैले बालपात्र बनेकी कवयित्रीलाई छायारानीप्रति पूरापूर भरोसा छ । उज्यालोमा घामको प्रकाशका कारण र राति बत्तीको उज्यालाको कारण छाया बन्ने तर अन्धकारमा भने छाया नपर्ने कुरालाई कवितामा अप्रत्यक्ष सङ्केत गरिएको छ । 
कविता यस्तो छः
हिँडेपछि सँगै हिँड्छे, बस्यो भने बस्छे
कैलेकाहीँ झुक्किएर आफैभित्र पस्छे !
दिउँसो–दिउँसो दौडिरहन्छे, थकाइ मार्छे राति
 मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी 

पिटे पनि ‘ऐया’ भनी रुने हैन कत्ति,
भागे पनि फर्किहाल्छे बालेपछि बत्ती !
भोकै बस्छे, खाँदिन ऊ माग्दै माना–पाथी,
मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी !
 
सुख–दुःख सँगै हुन्छे, साथ छोड्दिन ऊ,
दुःखसित डराएर हात छोड्दिन ऊ !
‘छायाँरानी’ भरोसा छ मलाई उसैमाथि,
मजस्तै छ, म जत्रै छ, मेरो मिल्ने साथी !

५. दसैँ आयो–

कवयित्री प्रभा भट्टराईको ‘दसैँ आयो’ बालकविता सङ्क्षिप्त आयतनमा लेखिएको रोचक बालकविता हो । यो कविता नेपाल सरकार शिक्षा मन्त्रालय (साविक श्री ५ को सरकार शिक्षा तथा खेलकुद मन्त्रालय) पाठ्यक्रम विकास केन्द्रद्वारा २०६० सालमा छापिएको उनको ‘मेरो सानो भाइ’ शीर्षकको बालकविता सङ्ग्रहमा रहेको संस्कृतिप्रधान बालकविता हो । प्रत्येक हरफमा ७–७ अक्षरको संरचना रहेको बालोरी लोकलयमा रचित यस कवितामा नेपाली मात्रको ठूलो धार्मिक एवं सांस्कृतिक पर्व दसैँमा हुने रमाइलोको वर्णन गरिएको छ । कवितामा दसैँ पर्वलाई हिन्दु धर्मावलम्बीको मात्र नभई अन्य धर्म मान्नेहरूको समेत साझा पर्वका रूपमा हेरिएको छ । केटाकेटीलाई रमाइलो लाग्ने यस पर्वको सामाजिक, सांस्कृतिक र परम्परागत महत्त्वलाई झल्काउँदै विशेष गरी गाउँघरको प्रसङ्ग यसमा कोट्टिएको छ । दसैँ पर्वमा मान्यजनका हातबाट लगाइने टीका–जमराको प्रसङ्ग र पिङ खेलेर गरिने रमाइलोको सन्दर्भ कवितामा प्रत्यक्ष रूपमा शब्दमा नआए पनि चित्रमा भने देखिएको छ । राम्रो लाउने, मीठो खाने एवं घर सफा र चिरिच्याट्ट पार्ने सांस्कृतिक एवं मनोरञ्जक पर्वका रूपमा दसैँ पर्वको आफ्नै महत्त्व रहेको भाव अभिव्यक्त गर्नु कविताको उद्देश्य हो । कविताको भावार्थ यस्तो छः 

  • दसैँ आएको सूचना दिँदै हातमा पैसा लिएर बाबा सहर जानुभएको छ । बाबाले सहरबाट केही किनेर ल्याउनुहुन्छ भन्ने आशा बालपात्रले गरेको छ । दसैँ पर्वको आरम्भ हुनुअघि गाउँघरमा महिलाहरू जुटेर ढिकीमा चिउरा कुट्ने सन्दर्भ अघि सार्दे बालपात्रले आफ्नी आमा पनि राति उठेर चिउरा कुट्ने सुरसार गर्नुहुन्छ भनेर रमाएको छ । टीकाको दिनमा नैवेद्यका रूपमा केराको प्रयोग गरिने अप्रत्यक्ष सङ्केत गर्दै बेलैमा केरा पकाउनुपर्छ र समयमै केराको घरी ढाल्नुपर्छ भनेर बालपात्रले सम्झिएको छ । अष्टमीका दिनमा खसी–बोकाको मार हान्ने प्रसङ्ग पनि कवितामा आएको छ । दसैँको बेला गाउँघरमा रातो माटो र कमेराले घर सजाउने कुराको स्मरण गरिएको यस कवितामा सिलिक्क पारेर आफ्नो घर सजिएको हेर्ने रहर बालपात्रलाई छ । दसैँ विशेष गरी केटाकेटी रमाउने पर्व हो त्यसैले राम्रा–राम्रा लुगा लगाउने, मीठो–मीठो खान पाइने र मामाघर जान पाइने आशामा बालपात्र रमाएको आशयका साथ कविताको समापन गरिएको छ । 

कविता यस्तो छः

दसैँ आयो भनेर
हातमा नोट गनेर
बाबा सहर जानुभो
केके किनी ल्याउनुभो !
आमा राति उठ्नुभो
ढिकीमा च्युरा कुट्नुभो

केराको घरी ढाल्ने रे !
मने बोका काट्ने रे !
घर पोत्ने सिलिक्क
नाना चाचा झिलिक्क
मीठो–मीठो खाने रे !
मामाघर जाने रे !

निष्कर्षः

सीमित शब्दशैयामा गहन भाव समेटी धेरै कुरा अटाउने बालसाहित्यकार प्रभा भट्टराईका कविताहरूमा नेपाली लोकलयको मिठास पाइनुका साथै सरल र झर्रो खालको शब्दको प्रयोग भेट्टाइन्छ । विवेचनाका लागि छानिएका उनका माथिका कविताहरूमध्ये ‘फुलेका ती केशले !!!’ कवितामा अग्रज पुस्ताले सन्तानको चाहनालाई बुझेर बालोचित व्यवहार गर्नुपर्छ भनेर सुझाव दिइएको छ र बालबालिकालाई अर्ती–उपदेशले भन्दा पनि स्नेहको वातावरण दिएर उनीहरूका मागको सम्बोधन र चाहनाको कदर गर्नुपर्ने कुरा पेश गरिएको छ । त्यस्तै उनको ‘अदुवा’ कवितामा प्राकृतिक वनस्पतिका रूपमा रहेको अदुवाको बहुउपयोगिताको परिचय दिइएको छ । ‘फुच्ची कोरोना’ कवितामा कोरोना महामारीबाट जोगिनका लागि स्वास्थ्यप्रति सचेत हुनुपर्ने र सिर्जनशील कार्यलाई निरन्तरता दिनुपर्ने दोहोरो सन्देश बालपाठकलाई प्रदान गरिएको छ । ‘छाया साथी’ बालकवितामा साथीले साथीका लागि हरबखत दु.ःख–सुखमा साथ दिन सक्नुपर्दछ भन्ने प्रतीकात्मक अभिव्यक्ति दिइएको छ भने ‘दसैँ आयो’ बालकवितामा चाहिँ दसैँ पर्वमा हुने रमाइलो र यसको धार्मिक, सामाजिक, सांस्कृतिक, आञ्चलिक, ऐतिहासिक र परम्परागत महत्त्वको बोध गराइएको छ । 

क्याम्पस प्रमुख 
ईशानेश्वर क्याम्पस 
मध्यनेपाल नगरपालिका–६, 
भोर्लेटार लमजुङ

https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samaalochna/39697/



No comments:

Post a Comment