कवि बुँद रानाका प्रतिनिधि बालकविताको विश्लेषण - रचना चौतारी

Breaking

Powered By Blogger

May 01, 2021

कवि बुँद रानाका प्रतिनिधि बालकविताको विश्लेषण

 कवि बुँद राना र उनका प्रतिनिधि बालकविताको विश्लेषण

कवि बुँद राना
– रमेशचन्द्र घिमिरे

       



नेपाली साहित्याकाशमा विशेष गरी गजलकारका रुपमा सुपरिचित बुँद राना (२००३) बालकविता लेखनका क्षेत्रमा समेत उत्तिकै सिद्धहस्त प्रतिभा हुन् ।
उनका पुष्टकारी’, ‘खै गुजी’, ‘डण्डी बियो’, ‘पहिलो भयो प्यादा’, ‘चना चटपटे’ लगायतका बालकवितासँग सम्बन्धित कृतिहरु प्रकाशित छन् । यीमध्येपुष्टकारी’, ‘खै गुजी ?’  चना चटपटे’ बालकविता सङ्ग्रह हुन् भने डण्डी बियो’ बालचित्रकविता तथा पहिलो भयो प्यादा’ बालगीतिकाव्यका रुपमा प्रकाशित कृति हुन् । उनी आफ्ना बालकवितामा बालबालिकाकै बोलीमा रमाउने बालक बनेका देखिन्छन् । आफ्ना बालकवितामा उनी नैतिक सन्देश र ज्ञानलाई मिलाई मिलाई सम्प्रेषण गर्न सिपालु छन् । कतै उनी अभिभावक बनेर लोरी प्रस्तुत गर्छन् भने कतै बालबालिका बनेर बालगीत सुनाउँछन्  अनि कतै बालबालिकाको रमाइलो भाषामा अन्धविश्वासको विरोध गरी रोचक शैलीमा चेतनामूलक कविता पेश गर्दछन् । उनका कवितामा बालबालिकालाई प्रिय लाग्ने नातासम्बन्धखेल आदिको प्रयोग गर्छन् भने पुस्तकप्रेमी बालकका रुपमा समेत आफूलाई उभ्याउँछन् । उनी रहस्यमय कविता लेख्छन् र त्यसको समापन आकस्मिक र रोचक पारामा गर्दछन् । आफ्ना बालकवितामार्फत बालबालिकालाई चेतनशील र सिर्जनात्मक हुन उनी हौस्याउँछन् । अत्यन्त छोटादेखि लिएर निकै लामा आकारसम्मका बालकविता लेख्ने उनका कतिपय बालकवितामा उनको गजलकार व्यक्तित्वको समेत प्रभाव परेको पाइन्छ । विषयवस्तुका हिसाबले कवि बुँद रानाका बालकवितामा प्रकृतिप्राकृतिक मौसमप्राकृतिक जीवजन्तु र कीटपतङ्गबाल्यकालीन अनुभववात्सल्य भावनातासम्बन्धबालखेलशैक्षिक सामग्रीविज्ञानसम्मत दृष्टिकोण जस्ता विषयवस्तु सँगेटिएको पाइन्छ । भाषाशैलीगत सरलतासुस्पष्टतारहस्यमयतामौलिकताहास्यव्यङग्यात्मकताराष्ट्रियता आदि उनका अन्य बालकवितात्मक वैशिष्ट्य हुन् । बालबालिकाको बोलीलाई टपक्कै टिपेर लेखिएका उनका बालकवितामा बालोपयोगी सन्दर्भबालसुलभ कोमलताबालरुचि अनुकूलताबालबालिकाको मनोविज्ञान र बालसुलभ अभिव्यक्तिको कलात्मक प्रयोग भेट्टाइन्छ । उनका केही बालकविता अन्य लेखकका शैली र परम्पराभन्दा भिन्न स्वरुपका हुने हुनाले प्रयोगधर्मी र नवीन ढाँचाका कविता लेख्ने बालसाहित्यकारका रुपमा समेत उनले आफूलाई उभ्याएको पाइन्छ ।

    यहाँ यिनै बालसाहित्यकार बुँद रानाका खै गुजी’ ?, ‘पुष्टकारी’  चना चटपटे’ बालकवितासङ्ग्रहभित्र सङ्गृहीत क्रमशः पोखरा र चरा’,  ‘गुजी पाएँ’  चना चटपटे’ गरी तीन वटा बालकविताको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

१. पोखरा र चरा-

कवि बुँद रानाको पोखरा र चरा’ बालकविता उनको खै गुजी ?’ बालकवितासङ्ग्रहमा सङ्गृहीत प्रकृतिचित्रणात्मक उत्कृष्ट बालकविता हो । संवादात्मक शैली र आख्यानात्मक संरचनामा लेखिएको यस बालकवितामा प्रकृतिको मानवीकरण गरिएको छ र नेपालको दोस्रो ठूलो सहर पोखराको सुन्दर दृश्य र सुरम्य वातावरणको झल्को दिइएको छ । कविताको भावार्थ यस्तो छः

          काफलको रुखमा बसेको घुमन्ते चरोलाई पाल्पाबाट पोखरा जाने रहर पलाउँछ । पोखरामा गएपछि उसले माथि हिमाली दृश्य तथा तल फेवातालको सौन्दर्य देख्ने अवसर प्राप्त गर्दछ । उसको फेवातालको माछासँग भेट हुन्छ अनि भेटका क्रममा मााछाले चरासँग प्राकृतिक भाषामा पोखरा आएपछिको अनुभूति सोध्छ । चराले ज्ञानी मान्छेले झैँ आफ्नै पारामा काफलसुन्तला र आलुबखडा जस्तो छपोखरा पनि त्यस्तै रसिलो र मीठो भएको अभिव्यक्ति दिन्छ । कविता यस्तो छः

काफलको रुख
रुखमाथि चरा
चरा उडी गयो
पाल्पाबाट पोखरा
 
पोखरामा गएर
साह्रै खुसी भएर
माथि हे¥यो हिमाल
तल फेवाताल

फेवातालको माछाले
सोध्यो आफ्नै भाषाले
भन भाइ चरा,
कस्तो लाग्यो पोखरा
 
कत्ति बेर नगरी
ज्ञानी मान्छेसरि
भन्यो सानो चराले
उसको आफ्नै पाराले
 
जस्तै काफलसुन्तला
जस्तै आलुबोखरा
त्यस्तै लाग्यो मलाई त
दाजुहाम्रो पोखरा । 

    प्रस्तुत कवितामा कल्पना पक्षको प्रबलता पाइन्छ । मान्छेले झैँ माछा र चराले बोलेको सन्दर्भमा एकातिर प्रकृतिको मानवीकरण त छँदैछ अर्कातिर रमाइलो कल्पना पनि उत्तिकै छ । काफलसुन्तला र आलुबखडा जस्ता विभिन्न फलफूलको प्रसङ्गले उनका कवितामा पोखराको मौसमत्यहाँको हावापानी र सिङ्गो पोखरा नै रसिलो छ भन्ने खालको अभिव्यक्ति र अतिशयोक्ति अलङ्कारको दोहोरो प्रयोग भएको पाइन्छ । .कवितामा अन्त्यानुप्रासको सफल प्रयोग देखिन्छ भने सुन्दरताको बखान पनि पाइन्छ ।

२. गुजी पाएँ-

    कवि बुँद रानाको गुजी पाएँ’ बालकविता उनको पुष्टकारी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत चेतनामूलक उत्कृष्ट बालकविता हो । यस बालकवितामा पनि कविले आख्यानमिश्रित संवादात्मक शैलीको रोचक प्रयोग गरेका छन् । बालबालिकाकालाई अन्धविश्वासको जालोमा रुमलिने वातावरण अभिभावकले सिर्जना गर्न नहुने सन्देश प्रस्तुत गर्नु यस बालकविताको उद्देश्य हो । कवितामा बालकलार्ई साहसी बनेको देखाइएको छ र अन्धविश्वासी चेतबाट माथि उठ्नुपर्ने अप्रत्यक्ष सन्देश दिँदै आँटी बन्न उत्प्रेरित समेत गरिएको छ । बालबालिकाको कलिलो बाल मस्तिष्कमा अभिभावकले झुटा कुरा भरेर विषवृक्ष रोप्नु हुँदैन भन्ने नैतिक सन्देश दिइएको यस कवितामा आफ्नै बालबालिका (नाति) लाई पराईको व्यवहार गर्ने अभिभावक (बज्यै) प्रति व्यङ्ग्य गर्नसमेत खोजिएको छ र आकस्मिक समापनका साथ रहस्यको अन्त्य गरिएको छ । कविताको भावार्थ यस्तो छः

          घरमा बनाइएका परिकार नातिले खाएर सिध्याउँछ कि भन्ने पिरलो हजुरआमालाई छ । त्यसै भएर नातिलाई भँडार कोठामा नजानका लागि उनले अनेक तानाबाना बुनेकी हुन्छिन् । यतिसम्म कि अँध्यारामा गुजी वा भूत हुन्छ भनेर उनले सातो लिन खोजेकी हुन्छिन् । तर नाति केटोको स्वभाव अर्कै छ । हजुरआमाले भनेका कुरामा ऊ शङ्का गर्छ र झट्ट विश्वास गरिहाल्दैन अनि गुजी कस्तो हुन्छ थाहा पाउनु प¥यो भन्ने झोक पनि उसमा चल्छ । आँटीसाहसी र जिज्ञासु बालक (नाति) ले कुनै पनि कुराको परीक्षण गरेपछि मात्र बल्ल प्रमाणित हुन्छ भन्ने सोच राख्छ । आफ्नी हजुरआमा (बज्यै) ले अँध्यारामा जानुहुँदैन भनेर बारम्बार भनेपछि उसलाई जाँदा के फरक पर्छ र भन्ने सोच मनमा पलाउँछ । उसलाई गुजी कस्तो हुँदो रहेछ हेर्ने इच्छा जागृत हुन्छ । आज पनि बज्यैले आँटीमा नजानका लागि सम्झाएपछि उसले जेसुकै होस्एकचोटि गुजी त हेर्नै पर्‍यो भनेर दियालाको उज्यालाको सहाराले चुपचाप चोरको चालका आँटीमा पुग्छ । जब उसले त्यहाँ सोलीभरि सेल रोटी देख्छ ऊ दङ्ग पर्छ र तुरुन्तै कुरा बुझिहाल्छ । त्यहाँबाट एउटा सेल रोटी टिपेर हातमा लिन्छ अनि बज्यैछेउ पुगेर हाँस्दै भन्छ — ‘इ बज्यै मैले गुजी पाएँ ।

    अत्यन्त रमाइलो शैलीमा लेखिएको प्रस्तुत कविता यस्तो छः

अँधेरीमा गुजी हुन्छ भन्नुहुन्थ्यो बज्यैले
के हो गुजी  कस्तो हुन्छ  नदेखेको मैले
आज फेरि भन्नुभयो सम्झाउँदै राति
आँटीमाथि गुजी छ त्यहाँ नजानू है नाति !
गुजी हेर्ने रहर थियो नदेखेको कैल्यै
एक टुक्रा दियालोको झोसेँ आगो मैले
चुपचाप चोरचाल आँटीमाथि पुगेँ
सोलीभरि सेल देखी बल्ल कुरा बुझेँ
यौटा सेल टिपी दौडी बज्यैछेउ आएँ
हाँस्तै भनें– ’इ बज्यै ! मैले गुजी पाएँ !

    हास्य रसको प्रयोग गरिएको यस बालकवितामा अन्त्यानुप्रासको सफल प्रयोग भएको देख्न सकिन्छ । सङ्क्षिप्त शब्दशैयामा पूर्णता पाइनु र कवितासँगै आख्यानको मिठास भेटिनु यस बालकविताको विशेषता हो ।

३. चना चटपटे-

    कवि बुँद रानाको चना चटपटे’ बालकविता उनको चना चटपटे’ नामकै बालकवितासङ्ग्रहमा सङ्गृहीत रहस्यमूलक उत्कृष्ट बालकविता हो । आख्यानसंवादद्वयार्थकता र कौतुहलताको प्रयोगले यो बालकविता अत्यन्त रोचक बन्न पुगेको छ । कविताको भावार्थ यस्तो छः

    झिनो आख्यान रहेको यस बालकवितामा राजु र सुजिता दाजुबहिनी पात्रको संवादबाट कथानक अगाडि बढेको छ । दाजुले बहिनीलाई झोलामा के छ भनेर जिज्ञासा राख्दा बहिनीले झोलाभित्र चनाचटपटे छ भनेर उत्तर दिएकी छे । चना चटपटेको नाम सुनेपछि राजुले अत्तालिएको स्वरमा चटपटेमा मसलाको धूलो हालिन्छपिरो भएर ठूलो पीर पार्छ त्यसैले चना चटपटेको सट्टा पचाउन सजिलो खानेकुरा खानेकुरा खानुपर्छ भन्दै बहिनीले झोलामा ल्याएको चना चटपटेलाई झट्ट फालिहाल्न आदेश दिन्छ । दाजुले कुरै नबुझी एकोहोरो बोलेपछि बहिनीले झोलाबाट एउटा किताब निकालेर देखाउँछे । आखिर चना चटपटे त किताबको नाम पो रहेछ भन्ने कुरा दाजुलाई थाहा हुन्छ र हत्त न पत्त लाजले मोटर साइकल चढेर कुलेलम ठोक्छ ।

    रहस्यको आकस्मिक समापन गरिएको प्रस्त्त बालकविता यस्तो छः

नानु तिम्रो झोलामा
भनभन के छ
दाजु मेरो झोलामा
चनाचटपटे छ  
 

चनाचटपटेको
सुनेपछि नाम
भन्न थाले राजुले
हरे रामराम !

चटपटेमा हालिन्छ
मसलाको धूलो
मसलाको धूलाले
पीर पार्छ ठूलो

पचाउन सजिलो
खाजा खानुपर्छ
झट्टै फालिहाल त्यो
त्यल्ले हानि गर्छ
 

सुजिताले झोलामा
झट्ट हात हालिन्
झोलाबाट झिकेको
देखाउन थालिन् 

यौटा नयाँ किताप
थियो तिनका हात
राजुलाई खसेझैँ
भयो छाँगाबाट

चनाचटपटे त कितापको नाम
रहेछ र राजुले ठोके कुलेलम
धोध्रो स्वर सुनियो त्यहाँ भटभटेको
चर्चा धेरै चलेछ चनाचटपटेको । 

    कवि बुँद रानाको प्रस्तुत बालकवितामा चना चटपटे’ शब्दले दोहोरो अर्थ बुझाएको हुँदा श्लेष अलङ्कारको प्रयोग भएको पाइन्छ । दोहोरो अर्थ बुझाएकै कारणले पनि कविता थप रोचक बन्न पुगेको हो । अन्य बालकवितामा झैँ उनको यस बालकवितामा पनि अन्त्यानुप्रासको सफल प्रयोग भएको पाउन सकिन्छ । बालपात्र राजुको बुझाइमा बजारिया खानेकुराले स्वास्थ्यलाई प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा मानिस स्वास्थ्यप्रति अत्यन्तै सजग हुनुपर्छ भन्ने नैतिक सन्देश समेत कविताले दिएको छ भने बालपात्र सुजाताले गरेको रहस्योद्घाटन अनुसार कुनै पनि कुरालाई आफ्नो सुरले मात्र अर्थ लगाउनुहुँदैनबुझेर बोल्नु पर्छ र हतारिनु हुँँदैन भन्ने सल्लाह पनि कविताले दिएको छ ।

निष्कर्षः

    बालबालिकाले पढ्ने बालकविता श्रुतिमधुर र रमाइलो हुनुपर्छ भन्ने बुझेका बालसाहित्यकार बुँद रानाका माथिका विवेच्य कविताहरुमा आख्यानसंवादकुतूहलताहास्यपरकताआनुप्रासिक छटा आदिको संयुक्त र रोचक प्रयोग पाइन्छ । उपर्युल्लिखित कविताहरुमध्ये पोखरा र चरा’ बालकवितामा प्रकृतिको मानवीकरण गर्दै सुन्दर नगरी पोखराको स्थान परिचय गराइएको छ र गुजी पाएँ’ बालकवितामा अन्धविश्वासी सोचको विरोध गर्दै बालपात्रमा हुने साहसी भावनाको कदर गरिएको छ भने चना चटपटे’ बालकवितामा बजारिया पत्रु खाने कुरामा जोड दिनुभन्दा नयाँनयाँ पुस्तकको अध्ययनमा जोड दिनुपर्छ र बोल्दा विचार पु¥याउनु पर्छ भन्ने अप्रत्यक्ष सन्देश पनि दिन खोजिएको छ ।

 


No comments:

Post a Comment