स्वादिला बालकविता शृङ्खला-१ रमेशचन्द्र घिमिरे

 

स्वादिला बालकविता शृङ्खला-१   रमेशचन्द्र घिमिरे

१. ढिकी र जाँताको सवाइ

                        – माधवप्रसाद घिमिरे

सुन सुन भाइ हो म केही भन्छु

        ढिकी र जाँताको सवाइ कहन्छु

जाँतो थियो पिँढीमा ढिकरीमा ढिकी

दुबैजना कल गर्थे निहुँ झिकी झिकी

एका बिहान रिसले जाँतो रिँग्यो र्‍वाइँ र्‍वाइँ

ढिकीलाई गाली गर्‍यो 'ढिकी बुढी घ्वाइँ घ्वाइँ'

काम गर्ने बेला भयो बह लाग्यो भन्छेस्

उचालिँदै पछारिँदै सय फेरा कन्छेस्

दुई पाथी धान दियो एक पाथी लुकाउँछेस्

मुसलदाँते ओथारे तँ फुका चामल बुकाउँछेस्

ओखलको मुख तेरो भरिँदैन खाएर

दिनभरि पल्टिराख्छेस् उपरखुट्टी लाएर

मच्चिएर उफ्री उफ्री भक्र्याङच्याङ भक्र्याङच्याङ

ढिकी बुढी गाली गर्छ 'नगर् धेरै च्याङच्याङ'

भुँडी तेरो घ्याम्पा जत्रो मुख तेरो खुँडे

पाहुना झैँ पिँढीमा बस्छस् बडो भुँडे

काम गर्ने बेला भयो बसी बसी ठग्छस्

एक माना कोदो खाई दुई माना हग्छस्

दाँत तेरो राक्षसको दाह्रा जस्तो मानी

खाई कैल्यै अघाउँदैनस् अहारिसे बानी

चामल खाने हामीलाई पिठो खाने जात

बडो धाक लगाउँछस् दिउँला दुई लात

जाँताको र ढिकीको कल हुन लाग्यो

कल छिन्न फलामको कल त्यहीँ आयो

जाँतो बोकी हिमालमा कमिलाले लग्यो

ढिकी गई वाग्लेको घर पल्टिरह्यो ।

----------

नेपाली साहित्यको कविता विधाका अनवरत साधक राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं.१९७६–२०७७) बालकविताका क्षेत्रमा समेत उत्तिकै सफल, सशक्त र दरा स्तम्भ हुन् । आधुनिक नेपाली साहित्यको परिष्कारवादी भावधारा र स्वच्छन्दतावादी शैलीशिल्पका अविच्छिन्न सर्जक कवि घिमिरे  बालकविता विधातर्फ प्रखर र ओजस्वी व्यक्तित्वका रूपमा देखा पर्दछन् । नेपाली बालकविताका क्षेत्रमा उनको योगदान अतुलनीय, उल्लेखनीय  र सराहनीय छ । जीवनको उत्तरार्धमा आइपुग्दासमेत बाल्यजीवनलाई सम्झने र बालमनोविज्ञानलाई बुझ्ने सामर्थ्य बोकेका घिमिरे बालबालिकाको मन जित्न निकै सक्षम देखिन्छन् । उनका बालकवितामा शाब्दिक क्लिष्टता, भावगत दुर्बोध्यता र भाषिक दुरुहताको अभाव छ । बालोचित सन्दर्भ, बालमनोवैज्ञानिक अभिव्यक्ति, कोमल र सुललित बालभाषाको प्रयोग, मनोरञ्जनात्मकता र कवितामा पनि आख्यानको स्वाद भेटिनु उनको बालकवितात्मक प्रवृत्ति हो ।

प्रस्तुत ढिकी र जाँताको सवाइ’ बालकविता उनको ‘घामपानी’ बालकवितासङ्ग्रहमा सङ्गृहीत रोचक र सन्देशमूलक बालकविता हो । सबाई लोकछन्दमा रचित यस बालकवितामा नेपाली लोकजीवनको छाप र प्रभाव रहेको भेटिन्छ । ढिकी र जाँतोजस्ता परम्परागत घरायसी यन्त्रको मानवीकरण गर्दै कविले सुललित र बालसुलभ भाषाशैलीको प्रयोग यसमा गरेका छन् ।भाइ फुटे गँवार लुटे’ भनेझैँ झगडाको फाइदा उठाएर आधुनिक मेसिनले नेपाली समाजमा प्रवेश पाएको र यस्ता घरेलु उद्योगका साधनहरू क्रमशः विस्थापित हुँदै गएको सन्दर्भ यसमा गाँसिएको छ ।

 

२.  खाजा खाने बेलामा

            - रमेश प्रभात

मेरी साथी सरिता,

पढ्यौ नयाँ कविता ?

खाजा खाने बेलामा,

नगर भो रमिता

 

खाजा ल्याइन् आमाले,

बनाएको धामाले

खानुपर्छ खुरुक्क,

रुनुहुन्न धुरुक्क

 

नुनिलो र गुलियो,

पिरो अनि अमिलो,

मिठो मानी खाने हो,

खाई खेल्न जाने हो

 

म त हल्ला गर्दिनँ,

पछि पनि सर्दिनँ,

रमाइलो मेलामा,

खाजा खाने बेलामा ‌।

----------

साविक पुर्कोट गाविस तनहुँमा जन्मेर हाल भरतपुर महानगरपालिका-१५, मङ्गलपुर चितवनमा स्थायी बसोबास गर्दै आएका रमेश प्रभात (२०२९) पेशाले प्राध्यापक हुन् । विशेष गरी नेपाली समालोचनाको क्षेत्रमा कलम चलाउँदै आएका प्रभातले बालसाहित्यतर्फ फुटकर बालकविताका अतिरिक्त पुस्तकाकार कृतिका रूपमा 'प्रायश्चित्त' नामक बालकथा सङ्ग्रहको पनि प्रकाशन गरिसकेका छन् । बालबालिकाको मनोविज्ञानलाई खोतल्दै बालसुलभ कोमल भावनाको प्रयोग गरेर बालरुचिअनुकूलको विषयवस्तुको चयन गरी बालकविता सिर्जना गर्नु उनको बालकवितात्मक वैशिष्ट्य हो । उनको प्रस्तुत 'खाजा खाने बेलामा' बालकवितामा कवि प्रभातले बालबालिकालाई एकातिर मनोरञ्जन प्रदान गर्दै अर्कातिर नैतिक सन्देशको अप्रत्यक्ष र नाटकीय सम्प्रेषणसमेत गरेका छन् । अन्त्यानुप्रासको सफल प्रयोग, बालभाषाको सरल र स्वाभाविक प्रस्तुति, कथयिता पात्रका रूपमा बालपात्रको उपस्थिति, झिनो आख्यानात्मकता र प्रवाहमयता जस्ता प्रवृत्ति प्रस्तुत बालकवितामा देख्न सकिन्छ ।

*************************************

३.  तुवाँलो

                     - शान्ता बास्तोला

हेर हेर साथी हो तिमीभन्दा माथि

चिन्न गाह्रो भ'को छ दिउँसो हो कि राति

आँखा पोल्छ भनेर निस्कन्नँ म डरले

हावा दूषित भ'को हो भन्नुहुन्छ सरले

 

घरै घर मात्रै देख्छु छैनन् रुख धेरै
वातावरण बिग्रनलाई लाग्दैन है बेरै

सास फेर्न गाह्रो भयो भन्छ भाइ डल्ले

माटो पनि बिग्रेको रे रासायनिक मलले

 

रुख रोपौँ जतासुकै बनाऊँ हरियाली

कोरोना र प्रदूषण छायो यसैपालि

तुवाँलो रे लागेको हेर्नुहुन्न माथि

स्वास्थ्य नै हो ठूलो कुरा ख्याल गरौँ साथी ।

-----------------------------------

तनहुँ, दमौलीमा शिक्षिकाका रूपमा कार्यरत शान्ता बास्तोला (२०४०) छन्द कविता लेखनमा रुचि राख्ने प्रतिभा हुन् । सुमधुर स्वरमा लयवाचन गर्न सक्ने कला भएकी कवयित्री बास्तोला छन्दकविता लेखेर विभिन्न प्रतियोगितामा पुरस्कृत हुँदै आएकी छन् । उनले फुटकर रूपमा बालकविता पनि लेखेकी छन् । समसामयिक विषयवस्तुको प्रयोग गरेर बालकविता लेख्ने बास्तोलाका बालकवितामा जनस्वास्थ्यप्रतिको चासो र चिन्ता, शैक्षिक जागरण एवम् परम्परागत सांस्कृतिक चाडपर्वमा गरिने रमाइलोलाई सन्दर्भ बनाइएको पाइन्छ । प्रस्तुत 'तुवाँलो' बालकवितामा कवयित्री शान्ता बास्तोलाले आफूलाई बालपात्रका रूपमा उभ्याउँदै पर्यावरणीय प्रदूषणका बारेमा चिन्ता प्रकट गरेकी छन् । वृक्षरोपण गरेर वातावरण हरियाली बनाउनुपर्छ भन्ने सन्देश दिँदै यस बालकवितामा कवयित्री बास्तोलाले सरर्र बग्ने खालको भाषा प्रयोग गरी कवितालाई कलात्मक र लयात्मक बनाएकी छन् ।

************************

Post a Comment

0 Comments