रञ्जुश्री पराजुलीको बालकविता नयाँ सङ्कल्प - रचना चौतारी

Breaking

Powered By Blogger

April 12, 2020

रञ्जुश्री पराजुलीको बालकविता नयाँ सङ्कल्प

बालकविता नयाँ  सङ्कल्प 

          -  रञ्जुश्री पराजुली


घुम्दै फिर्दै आज फेरि नयाँ वर्ष  आयो
राम्रो गर्दै ठूलो हुन्छु भन्दै मन रमायो
दिनै पिच्छे सिक्दै गर्छु असल राम्रो काम
खोज्दै बुझ्छु अघि बढ्छु असल राम्रो काम


घरमा मेरी आमा गुरु बाबा पनि त्यस्तै
ज्ञान बुद्धि पाउँछु म साँझ बिहान सधैँ
ठूलो दाइ म सिकाउँछु भाइलाई पाठ
सधैँ हेर्छु उसको पाठ राखी आफ्नो साथ

दिन बित्छ बुद्धि बढ्छ ज्ञान मलाई हुन्छ
जाँगर गरी पुस्तक पढे फाइदा मलाई पुग्छ
सिकारु छु सिक्दछु म ज्ञान बुद्धि बढाई
नयाँ काम सिक्छु म बस्दिन धाक लगाई

बाबाआमा पनि पैले मजस्तै थिए अरे
मिहिनत गरे बुद्धि  बढाई कर्मवादी बने 
सिको गर्छु घर भित्र पछ्याई तिन्को धर्म
स्कुलमा ध्यान दिई सिक्छु आफ्नो कर्म

पाइलै पिच्छे नयाँ कार्य सधैँ टिप्दै जान्छु
नजानेको नबुझेको कुरा सधै सबै सिक्छु 
परिश्रमी बन्छु म त ज्ञानीगुनी बन्छु
जन्मभूमि प्यारो नेपाल शिरमाथि बोक्छु ।

२०७६.१२.३०
 काठमाडौ