नानी बिवुको उपन्यास : अनुक्रोशको पुस्तक समीक्षा - रचना चौतारी

Breaking

Powered By Blogger

June 18, 2020

नानी बिवुको उपन्यास : अनुक्रोशको पुस्तक समीक्षा

राजेन्द्र पौडेल  

  अनुक्रोश उपन्यासको समीक्षा

अनुक्रोश एउटा सामाजिक उपन्यास हो । यसले समाजमा रहेका सकारात्मक तथा नकारात्मक दुवै पाटोलाई राम्रोसँग केलाएको छ । अशिक्षा गरीवी र अभावले घेरेको हाम्रो समाजमा अझै पनि कतिपय त्यस्ता परिवार छन् जो सडकमा जिन्दगी बिताउन बिवश छन् । 
बुबा बाबुराम अधिकारी र आमा पार्वतीदेवी पौडेलको कोखबाट बि.सं. २०५३ कार्तिकमा लमजुङको दुराडाँडा जलुकेनीमा जन्म भई हाल गैंडाकोट नवलपुरमा बसोवास गर्दै आउनुभएकी साहित्यकार नानी बिवु शारीरिक रूपमा केही कमजोर भए पनि सिर्जनात्मक क्षमतामा कति बलियो हुनुहुन्छ भन्ने कुरा हामी उहाँको साहित्य पढेर बुझ्न सक्छौँ ।
अल्पदृष्टि क्षमता भएकी नानीलाई कमजोर आँखाका कारण पढ्न लेख्न निकै कठिन हुन्छ । कुनै पनि पुस्तक पढ्दा पुस्तकका पानालाई मोबाइलमा फोटो खिचेर फोटो जुम गरेर पढ्ने गरेको र लेख्न पनि कापीमा लेख्न भन्दा मोबाइलमा  केही हदसम्म सजिलो  हुने कुरा उहाँ बताउनुहुन्छ ।
औपचारिक पठाइमा नानीले स्नातक पूरा गर्नुभएको छ । संस्कृततर्फ पनि उहाँको विशेष रुचि छ । हाल उहाँ संस्कृततर्फ शास्त्री तहमा अध्ययनरत हुनुहुन्छ ।
नेपाली साहित्यमा गजल, मुक्तक, हाइकु, कविता, कथा, लघुकथाहरू पनि लेख्दै आउनुभएकी नव साहित्यकार नानी बिवुद्वारा रचित उहाँको पहिलो पुस्तकाकार कृति उपन्यास ’अनुक्रोश ’ वि.सं. २०७६ असोज ४ मा नवलपुरको गैँडाकोटबाट लोकार्पण भएको हो ।
एउटा लेखकले गर्न सक्ने,दिन सक्ने भनेको शब्दको प्रहार मात्र हो जुन प्रहारले पाठको मन छुन सकोस् । यस उपन्यास मार्फत पनि उपन्यासकारले  समाजको बिकृति, बिसङ्गति , ब्यथिति मानिसको सङ्कीर्ण सोच  तिनले निम्त्याएको बिकराल परिस्थितिमाथि आफ्नो कलमद्वारा तिखो वाण प्रहार गर्नुभएको छ ।
साहित्यकार नानी बिवु
आफ्नो कमजोर शारीरिक अवस्थाको बाबजुद पनि सानै उमेरमा नेपाली साहित्यलाई यति सुन्दर कृति दिन सफल हुनुभएकोमा सर्वप्रथम उहाँलाई धेरै–धेरै बधाई साथै उहाँका यस्तै कृति अझै परिमार्जित र परिस्कृत रूपमा समाजले पाइरहोस् मेरो शुभकामना !
लगभग ३३ हजार शब्द रहेको उपन्यास ‘अनुक्रोश’  न्यूनदृष्टि भएकी नानीलाई मोबाइलमा नै लेखन पुनर्लेखन र सम्पादन गर्न कति कठिन भयो होला त्यो म कल्पना गर्न सक्दिनँ ।
भनिन्छ नि परिश्रमको फल मिठो हुन्छ । हो नानीको त्यो परिश्रमले पनि मिठो फल फलाएको छ ।  बालकदेखि बृद्धसम्म सबै उमेरसमुहका मानिसहरूको मन छुन सक्ने । जति कठोर हृदय भएकाहरूको पनि आँखा रसाउन सक्ने क्षमता उहाँको यस कृतिमा छ । जस्तै लैनो भैँसीको धेरै दुधबाट थोरै मात्र घिउ निस्कन्छ भने  त्यही भैँसी बकेर्नो भएपछि  थोरै दुधबाट पनि धेरै घिउ निस्के झैँ नानीको यस कृति ’अनुक्रोश’ ले पनि छोटो कथानकबाट गहिरो सन्देश दिएको पाइन्छ । पृष्ठ सङ्ख्याको आधारमा हेर्ने हो भने अनुक्रोश जम्मा १९२ पृष्ठको सानो पुस्तक हो तर यही सानो पुस्तकमा धेरै कुराहरू अटाएका छन्।
“अनुक्रोश“
अनुक्रोश उपन्यास
क्रुश् शब्दमा अनु उपसर्ग र घञ् प्रत्यय लागेर बनेको संस्कृत शब्द हो जसको अर्थ माया, दया, करुणा आदि हुन्छ ।
अनुक्रोश एउटा सामाजिक उपन्यास हो । यसले समाजमा रहेका सकारात्मक तथा नकारात्मक दुवै पाटोलाई राम्रोसँग केलाएको छ । अशिक्षा गरीवी र अभावले घेरेको हाम्रो समाजमा अझै पनि कतिपय त्यस्ता परिवार छन् जो सडकमा जिन्दगी बिताउन बिवश छन् । सडकको जिन्दगी, काम नपाउनु , कता न काम पाए पनि कमाएको पैसा भोलिका लागि जोगाउनु पर्छ भन्ने विवेक छैन, पिडा र थकान मेट्न भन्दै नशालु पदार्थ सेवन गरी नाच्ने गाउने गर्ने एक वर्ग अनि उनीहरूलाई नै उक्साएर मनोरञ्जन लिने र दुःख पर्दा नदेखेझैँ गरेर हिड्ने, आफूलाई शिक्षित ठान्ने उपल्लावर्ग, श्रीमान् को मृत्यु पछि सन्तानको बिचल्ली पारेर हिड्ने नारी, एउटा अबोध बालकलाई बेसाहारा बनाएर स्वास्नी बटुल्ने पुरुष, अनाथ बनेपछि समाजले गरेको घृणा अपमान र तिरस्कार सहन नसकी एउटा अबोध बालकले गर्ने गलत निर्णय, मृत्युसंँग लडिरहेको मानव जीवनलाई बचाउन भन्दा पनि लाग्ने खर्च र जिम्मेवारीको बारेमा बहस र त्यहाँबाट पन्छिन खोज्ने केही मान्छेको नियत, उसलाई हस्पिटलसम्म पुर्याएर उसको ज्यान बचाएर अभिभावकत्व दिने भद्र आदि सबै खाले पात्रलाई मिलाएर कथाबस्तु अगाडि बढेको  छ ।
पुरुष प्रधान देशमा छोरा चाहिन्छ भन्ने सोच,  महिलामाथि हुने घरेलु हिँसा, गलत आरोप लगाउने पापी लोग्ने,  अवला नारीलाई झन एक्ल्याउने र घरगाउँ छोड्न बाध्य बनाउने समाज । कुलङ्घार छोरो,  बाबुआमाको खराब चरित्रका कारण छोराछोरीले गाउँ समाज र स्कुलमा भोग्नु परेको अपमान, जन्मदिने बाबुआमाको मायाँबाट बन्चित केटाकेटीले आफ्नै घर हजुरआमाको मायाँ नपाउनु ।
उपन्यास पढिसकेपछि परेको अमिट छाप मेरो मानसपटलमा परिक्रमा गरिरहेका केही वाक्यांशहरू उधृत गर्न चाहन्छु ।
(((“यो तीनतीन ओटा के घाँडो आइलागेको हो यो बुढेसकालमा पनि । बुढेसकालमा पाल्लान् भनेर छोरा हुर्काएँ, अहिले यो बुढेसकालमा  नाति नातिना सियारेर बस्नु पर्ने। बाउ आमासँगै पछि लागेर गएका भएनी अहिले मलाई आनन्द त हुन्थ्यो ।“आमा फलाक्दै जानुभयो । ..... पृष्ठ १५ )

(((“दिदीका आँखा अझसम्म पनि ओभाएका रहेनछन् । म केही नबोली दिदीको नजिक गएर बसेँ ।
दिदीले आँखा पुछ्दै म तिर हेरीन् ।
“अझै दुखिराछ घाउ ?“ मैले बिस्तारै सोधेँ ।
’यो औँलामा  लागेको घाउ भन्दा मनमा लागेको घाउ बढी  दुख्याछ नानी आज । हेर त त्यो चौरमा.... यदि आज हाम्रो ममी हामीसंँग भएको भए....
“ दिदीका आँखाबाट चार पाँच ओटा आँसुका डल्लासंँगसंँगै गुडुल्किए । दिदी त गर्लम्म अँगालो हालेर रुन थालिन् ।  दिदीलाई  नरोऊ दिदी भन्दै म आफैँ रोइरहेको थिएँ । “....पृष्ठ १८ र १९ )

मामाघरमा  पनि माइजुका तिता वचन र व्यबहार,
(((  “आमाले छोडेर गई  भन्दैमा मामाले पाल्न सकिँदैन । मजै अर्काले पालिदिने भए हामी पनि हिड्थेम् नि तेसका जसरी पाउँदै छोड्दै गरेर ।  हाम्रो घर अनाथ आश्रम हो र आर्काले पाएर छोडेका छोराछोरी बटुलेर ल्याएर पाल्न ? आफ्नै बाउ आमालाई त मायाँ छैन भने हामीलाई के को मायाँ हो ति जाबाहरूको । आफ्नै तीन ओटा छन् । फेरी अर्काका तीन ओटा  कसरी पाल्नी हो ? खान पनि कती खान सकेका हुन्? छोराछोरीको भन्दा आधै बढी खान्छन् तपाँइका भान्जा भान्जीले । गर्न भने केही गर्ने होइनन् । म त सक्दिन खुरुक्क भोलि नै डाँडो कटाएर आउनी।“ ....पृष्ठ ४८ )

प्राकृतिक प्रकोपमा परी परिवार र आफन्तबाट छिन्नभिन्न भएर अपरिचित नयाँ परिवारमा पुग्नु, त्यहाँसम्म पुग्दा म पात्र एउटी बच्चीको मनोभावना र मनोविज्ञान
(((...‘ बियोगले मलाई रुवाइरह्यो ।  आफ्ना भनेका आफन्तीको मायाँको स्वाद त  चाखियो। अब यी बाटोमा भेटिएका, को हुन् को हुन् । बिल्कुल अपरिचित यिनीहरूको मायाँ कस्तो होला ?   आफ्नै बाआमा , मामा, माइजुले नगरेको मायाँ के यिनीहरूले गर्लान् त ?  के मैले यहाँ बसेर सुख पाउँछु होला त ? यी पराइको मायाँ पाउँछु होला त ?  यिनीहरूले मलाई आफ्नै सन्तानलाई जस्तो मायाँ गर्लान् त ? “ बेला बेला मेरो मनमा यस्तै भावहरू जन्मिन्थे ।  ...पृष्ठ ६५ )
नयाँ परिवार, नयाँ परिवेशमा उसले पाउने मायाँ र घृणा त्यहाँ उसले गर्नुपर्ने काम र त्यस गाउँ र समाजमा र नयाँ परिवारका नयाँ सदस्यहरूले उसलाई गर्ने व्यवहार,  उसले त्यस घर छोड्नुपर्ने बाध्यात्मक अवस्था, मुखले जति नै आदर्शका कुरा गरे पनि ब्यवहारमा महिला नै महिलाका लागि भित्र भित्रै कति क्रुर हुन्छन् भन्ने समाजको एउटा तितो यथार्थ । समाजमा रहेको अन्धविश्वासलाई खोतलेर त्यस बिषयमा सही शिक्षा दिन प्रयास ।
((( मेडमले भनेका कुरा ममीलाई भन्दा  “चुप् लाग् तँ बर्ता जान्ने  न हो । खुरुक्क भनेको मान् “ भन्दै डाँकोले खानुभयो । हाम्रो कुरा सुन्दै नसुन्ने  अनि कसरी सम्झाउने हो ? कसरी बुझाउने हो ? कसरी हुन्छ परिबर्तन ? ....पृष्ठ ८६)

बालबालिकाहरू अनाथ हुनु र सडकमा आइपुग्नुका विविध कारणहरू यसमा उनीहरूका बाबुआमाको भूमिका, अनाथलाई समाजले हेर्ने दृष्टिकोण,
सडकको जिन्दगी बिताउँदै गरेका आम सडक बालबालिकाको दैनिकी त्यहाँ उनीहरूले भोग्नु परेको दुस्ख,
बालबालिका अपहरण तथा बेचबिखन, 
(( (बालबालिका  अपहरणमा परेको र बेचिएको समाचारहरू बेलाबेला नसुनेको पनि होइन । झन यस्तो सपना देख्दा त अझ डर लाग्यो ।  यी पराइले  बाटोमा भेटिएका बच्चालाई यति धेरै मायाँ गर्दा कतै यो मायाँमा स्वार्थ लुकेको त छैन ?
कतै मेरो सपना बिपनामा परिणत हुने त होइन ?   कहिले सोच्थेँ भाइलाई बेच्न पो लगे कि ? 
नयाँ बुबा ममीले जति मायाँ गरे पनि म खुसी हुन सकिन । उहाँहरूको मायाँमाथि झन् शङ्का लाग्थ्यो । ’....पृष्ठ ६९)
घर परिवार बिहीन भएर आश्रयको खोजिमा भौँतारिँदै गर्दा अनाथ आश्रममा पुगेका बालबालिकाहरूको त्यहाँको अवस्था  त्यहाँ उनीहरूलाई गरिने ब्यवहार बाल आश्रम भित्रका गतिविधिहरू, 
यी अवस्थाहरूसंँग गुज्रिँदै गर्दा ती कलिला मनहरूमा उब्जने मनोभावना  अति नै कारुणिक छ ।
(((हामी रहरले होइन बाध्यताले  खाते बनेका हौँ । समय र परिस्थितिले चोर्न सिकायो । हाम्रा आवश्यकता पनि तपाईंका छोराछोरीका जसरी नै पुरा हुन्थे भने, मागेर पाएको भए चोर्नु पर्ने थिएन । हामी अबोध बालकको त के दोष छ र ? गल्ति त हामीले होइन हाम्रा बाबुआमाले गरेका हुन् । अपराधी त तिनीहरू हुन् जसले हामीलाई जन्माए तर हुर्काएनन् । उनीहरूलाई नै खोजेर सजाय देऊ। खाते चोर बदमास जे जे भन्नु छ उनीहरूलाई नै भन । हामी निर्दोष अनाथलाई होइन उनीहरूलाई नै दुर्व्यवहार गर ।उनीहरूलाई सजाय र दुर्व्यवहार यतिसम्म गर कि, कसैलाई गरेको दुर्व्यवहार र सजाय  देखेर  कोही पनि आमाबाबुले आफ्ना सन्तानलाई व्यवारिसे नछोडून् । कोही पनि बालबालिकाले हामीले जस्तो अभिभावक गुमाएर बेसाहारा बन्न नपरोस् । खाते बन्न नपरोस् । चोर बन्न नपरोस् । “ ..... पृष्ठ १३४ )
यो पढिरहँदा कसका आँखा नरसाउलान् र ? 
जति नै कठोर हृदय हुनेहरू पनि पग्लने नै छन् ।
गास बासको ठेगान छैन  सकि नसकि गाडीमा सामान लोड अनलोड गर्नुपर्ने अवस्था के यो बालश्रम शोषण होइन ??
(((  मैले आफ्नो पिडा सुनाएँ र ’बरु अरु केही काम भए खोजिदिनुहोस् न दाई ’ भन्दै बिन्ति गरेँ।
मैले त्यसो भनेपछि हामी प्रति माया देखाउँदै उनले भने ’गाडीमा सामान लोड अनलोड गर्ने काम गर्न सक्छौ  त ?’
हामी त्यहि काम पनि गर्न तयार भयौँ । त्यो ट्याक्टरले कहिले गिटी , कहिले ढुङ्गा, कहिले माटो ओसार्ने काम गर्थ्यो हामी तिनैको पछि लागेर जहिले जे काम पर्छ त्यहि काम गर्यौँ ।
त्यो काम गर्न हामी केटाकेटीलाई गाह्रो पनि थियो ।  हामी जति मरिमेटेर काम गर्दा पनि  काम राम्रो गर्न सकिएन ।
एक दिन साहुले हामी सबैलाई  बोलाएर भने  ’केटाकेटी हो तिमीहरूले राम्रोसँग काम गर्न सकेनौ त्यसैले अब मैले अरुलाई नै राख्छु  भन्न बोलाएको मैले त ।’
हुन त  हामीलाई काम गर्न गाह्रै थियो । साना सानाले धेरै उचाल्न पनि सक्दैनथ्यौँ । तर पनि यो काम पनि छोडेर अब कहाँ के गर्ने ?  
मैले सबैको अनुहारमा हेरेँ । सबैको अनुहार बेग्लै थियो । गाह्रै भए पनि यो काम छोड्न कसैलाई मन थिएन । यो काम पनि छोडियो भने झन दुस्ख पाइन्छ भन्ने डर थियो ।
सन्ध्या दिदी पनि निकै आत्तिएकि थिइन् । हामी सबै अवाक भएर मुखामुख गर्यौँ।
’हँ के गर्छौ ?’ साहुले फेरि अर्को प्रश्न तेर्स्याए ।.....पृष्ठ १४२)

( )ती साहुले काम र दाम त दिएका थिए तर माम र बस्ने ठाम भने दिएका थिएनन् । ....पृष्ठ १४३
)
होटलभित्र गरिने बालश्रम शोषण, मानसिक तनाब र दुर्ब्यबहार ( ’होटलमा आएपछि त धेरै सजिलो भयो है काम गर्न । “मैले भन्दा होटलमा पनि सन्तुष्ट नभए जस्तो अनुहार पार्दै  उ भन्न थाली ’आफ्नो पिडा आँफैसँग छ दिदी के भनौँ होटलका काम र कुराहरू बाहिरबाट देखिएजस्तो भित्र कहाँ हुन्छ र ? बाहिरबाट हेर्दा काम त के छ र ? भाँडा माझ्ने  टेबल पुछ्ने , भुइँ पुछ्ने  त्यत्ति त हो नि । तर त्यहि काम दिनकै बीस पल्ट भन्दा बढी दोहोर्याउनु पर्छ। छिटो भएन , राम्रो भएन भनेर अर्को कच् कच् र गाली खानु पर्छ।बिहान पाँच बजेदेखि बेलुका दश बजेसम्म पुरै खट्नु पर्छ।  देख्नेहरूले भनेका ’काम गर्न नसकेर अरु त एक हप्ता पनि टिक्दैनथे अरे ।’ सुरु सुरुमा टेबल पुछ्ने, भुईँ पुछ्ने भाडा माज्ने काम मात्र गरिन्थ्यो । अचेल चिया बनाउने खाजा बनाउने , चिया, खाना खाजा, मागेको ठाउँमा पुर्याइदिने काम गर्नु पर्छ । होटलमा खान जस्ता मान्छे पनि आउँछन् जे पनि खान्छन् अनि के के  भन्दै जिस्काउँछन् । कहिलेकाहीँ त सुन्नै नसक्ने छाडा कुराहरू पनि बोल्छन् ।  ग्राहक भड्किन्छन् भनेर हामी केही बोल्न पाइँदैन। जे जे भनेर जिस्काए पनि  चुपचाप सहनु पर्छ। उल्टै जिस्किदिनु पर्छ । ’शृङ्गार गरेर राम्री भएर बस् अलि छोटाछोटा र आकर्षक कपडा लगाएर बस् कसैले जिस्काए भने गाली गर्ने होइन जिस्किन पर्छ अनि पो ग्राहक धेरै आउँछन्।“ भन्छन् साहु । भनेको मान्नै पर्यो ।यस्तै छ होटलको जिन्दगी ।...... पृष्ठ १४६)
यी त भए समाजका नकारात्मक पक्ष  र उपन्यासको दुस्खको पाटो ।
के उपन्यासमा पुरै  समाजका नराम्रो पक्षलाई मात्र देखाएर पाठकलाई रुवाउन मात्र खोजिएको हो त ?
बिल्कुल होइन ।  यसमा मायाँ, प्रेम, हाँसो, खुसी र सुखको कथा पनि छ ।  हाम्रो समाजमा सबै नराम्रा मात्र होइन कोही कोमल हृदय भएका, अरुको दुस्ख बुझ्ने, निश्वार्थ सेवाको भावना राख्ने असल व्यक्तिहरू पनि छन् । मृत्युसंँग लडिरहेको अनाथ केटालाई बचाउने बिषयमा लाग्ने खर्च र पछिका कुरा सोचेर पन्छिन खोजिरहेका मान्छेहरूको भिडमा कोही पुग्छ । जसले उसलाई हस्पिटलसम्म पुर्याएर उसको ज्यान बचाएर मायाँ र प्रेमले अभिभावकत्व प्रदान गरी बाँच्न तर्फ अभिप्रेरित गरेको,
बाबु आमाले अलपत्र पारेर हिँडेपछि हजुरबाले गर्नुपर्ने मायाँ र भुमिका पनि हजुरबाको तर्फबाट निभाएको,  आमाले छोडेपछि बच्चा जब मामा सम्झेर जान्छन् । मामाले आफ्नो तर्फबाट गर्नुपर्ने र सकेको मायाँ गरेको, खोलामा बग्दै गरेका अनाथहरूलाई देख्नेहरूले उद्दार गरेर आफ्नो घरमा आश्रय दिएको, अनाथ बच्चालाई अनाथ आश्रमसम्म पुर्याउन मद्दत गरेको ,  कामको खोजिमा हिडेका सडक बालबालिकालाई उनीहरूको क्षमताले सक्ने काम खोजिदिएर बास र गासको ब्यवस्था मिलाइदिएको, अनाथ बच्चीलाई आफ्नो घरमा धर्मपुत्री पालेर  पिता समान मायाँ दिएर धर्म पिताले गर्नुपर्ने सबै काम गरेर धर्मपुत्रीलाई अत्यन्तै खुसी बनाएको , पनि उपन्यासको ठाउँ ठाउँमा देख्न सकिन्छ । 
मायाँ प्रेमको बिषयमा के छ त ? युवालाई रुचिकर कहाँ छ त ? तपाइँलाई जिज्ञासा हुन सक्छ । यस उपन्यासमा प्रेमको पाटोलाई पनि अति मिठासपूर्ण तरिकाले प्रस्तुत गरिएकोछ ।
उपन्यासकी म पात्र मामाघर जाँदा मामाघर नजिकैको एकजना केटासंँग बालप्रेम प्रगाढ हुन्छ । लामो समयको मामाघरको बसाइमा अरुको आँखा छलेर गर्ने उनीहरूको भेटघाट गफगाफ  घुमघाम अति नै रोचक छ।  उनीहरू दुईको प्रेम केटीको मामाघर र केटाको घर दुबै पक्षलाई मात्र होइन गाउँलेहरूलाई पनि राम्रोसँग थाहा हुन्छ । रोपाईँमा जाँदा खेतालाहरूले उनीहरूलाई जिस्काएर अत्याउँछन्। त्यसपछि उनीहरू अरुको आँखा छलेर त्यहाँबाट भागेर एकान्तमा जान्छन् र दुई जना मात्रै एकान्तमा गएर आनन्द लिएका हुन्छन् । समय बितेको पत्तै हुन्न, म पात्र घर फर्कने बेला हुन्छ
घर फर्कने बेला उनीहरू दुबैलाई छुट्न धेरै  गाह्रो हुन्छ । मधुमालतीको कथामा मधु र मालतीको जस्तै प्रेम उनीहरूमा देख्न सकिन्छ ।  नियतिको खेलले उनीहरूलाई कहाँ कहाँ पुर्याइदिन्छ ।  उनीहरूको भेट हुँदैन । छुट्टिनेबेला एकअर्काले दिएको उपहार दुबैले बढो जतन गरेर राखेका हुन्छन् र त्यही हेरेर  दुबै जनाले अति नै सम्झिरहेका हुन्छन् ।
केटीको जीवनमा धेरै दुस्ख र सङ्घर्षहरू आइपर्छ ।  ती सङ्घर्ष हरूसंँग जुध्दै  केटीले सफलता हाँसिल गरेकी हुन्छे । कालान्तरमा उनीहरू दुईको भेट हुन्छ तर एक अर्कालाई नचिनेरै लामो समय बित्छ । केटाले आफूले दिएको उपहार देख्छ र केटीको बारेमा केटाले लेखेको भावुक डायरी केटीले पढ्छे ।  अनि एकअर्कालाई चिनेपछि उनीहरूको युवा अवस्थाको प्रेमयात्रा  सुरु हुन्छ ।
यहाँ फेरी समाज उनीहरूको प्रेममा तगारो बन्छ ।  समाजले आफ्नो प्रेमको बदनाम  गरेको रिस या बाध्यता भनौँ विविध कारणले उनीहरू एउटै कोठा र एउटै बिस्तारामा सँगै हुन पुग्छन् ।
(((एकान्तमा हामीले भेटेको अभियोगमा समाजले हामीलाई कोठाबाट निकालेको रिसको झोकमा हामीले  समाजको पर्खाललाई देखेनौँ । सामाजिक मान्यतालाई टेरेनौँ।
किनकि हामी एक अर्कालाई साँच्चै प्रेम गर्थ्यौँ , चाहन्थ्यौँ ।
उसको मायाँले मलाई पगालेको थियो अनि उसले जता बगाउन चाहन्छ उतै बगिदिएँ ।
मैले सम्पूर्ण रुपमा आफूलाई उसैको हातमा सुम्पिएकी थिएँ । यो शरीर उसैको थियो । यो शरीरको उपभोग गर्ने हक पनि उसैको थियो । जुनसुकै तरिकाले उपभोग गरोस् यसमा मलाई केही गुनासो थिएन । ... पृष्ठ १७४ )
उही उही व्यक्तिबिच पनि उमेर अनुसार गरिने प्रेम र प्रेमका कुराको भिन्नता 
उनीहरूले बचपनमा कसरी मायाँ गरेका थिए र युवावस्थामा कसरी मायाँ गरे पनि देख्न सकिन्छ । एकातिरको समाजसँग लड्दै गर्दा उनीहरूका दुबै तर्फका परिवारले उनीहरूको प्रेमलाई सहर्ष  स्वीकार्नु खुसीको पल हो ।
एक ब्यक्ति सबै पक्षबाट कमजोर हुँदा उसलाई हेर्ने दृष्टिकोण र  धेरै सङ्घर्ष गरेर कालान्तरमा ऊ सफल भइसकेपछि  ऊप्रति पहिला नकारात्मक हुनेहरूको पनि हेराइ र सोचाइ कसरि परिवर्तन हुँदो रहेछ भन्ने कुरा,  गुमाइसकेको वस्तु आश मारिसकेको चिज पाउँदा कति खुसी हुन्छ मान्छे त्यस्तै उपन्यासको अन्त्यमा पनि  अकल्पनीय कुरा हुन जान्छ  जिन्दगीको सुरुवाती अवस्थादेखि नै छिन्न भिन्न भएका आफन्त परिवारहरूसंँग भेट भई  पहिला अति नै दुस्ख पाए पनि कठिन परिस्थितिसंँग जुध्दै जुध्दै पछि सुखी सम्पन्न र खुसी भएको अवस्थामा कथा अन्त्य भएको छ ।
एउटा लेखकले गर्न सक्ने,दिन सक्ने भनेको शब्दको प्रहार मात्र हो जुन प्रहारले पाठको मन छुन सकोस् । यस उपन्यास मार्फत पनि उपन्यासकारले  समाजको बिकृति, बिसङ्गति , ब्यथिति मानिसको सङ्कीर्ण सोच  तिनले निम्त्याएको बिकराल परिस्थितिमाथि आफ्नो कलमद्वारा तिखो वाण प्रहार गर्नुभएको छ । यो उपन्यास पढिसकेपछि पाठकलाई अनाथ बालबालिकाप्रति केही सकरात्मक सोच ,व्यवहार र भावनाको विकास गराएको पक्कै हुनुपर्छ जसरि मलाई पनि गराएको छ । पुस्तक मार्फत पाठकको मनमा सकारात्मक सोचको विकास गराउन सक्नु नै लेखकको ठूलो उपलब्धि हो ।
सबैले बुझ्ने सरल र मिठो भाषा, बिषय उठान र प्रस्तुतिकरण सलल्ल बगेको अत्यन्तै राम्रो १९२ पृष्ठको सानो पुस्तकमा पनि यति धेरै कुराहरूलाई अटाउन सक्नु लेखकको अद्भुत कला हो ।  कतै दुस्खी र भावुक बनाउने, रुवाउने, कतै हँसाउने, कतै मनोरञ्जन दिने , कतै खुसी दिने, समाजका  राम्रो तथा नराम्रो पक्षहरूलाई एक एक केलाएर सकारात्मक सन्देश दिने उपन्यास अनुक्रोश सबैका लागि पठनीय छ । लेखक नानी बिवुको लेखनशैली प्रशंसनीय छ । 
अस्तु ।

भरतपुर म.न.पा.–७ कृष्णपुर,   
सदस्य,  नेपाल  रेडक्रस  सोसाइटी कृष्णपुर उपशाखा 


4 comments:

  1. सफलताकाे शुभकामना !

    ReplyDelete
    Replies
    1. हार्दिक धन्यवाद।

      Delete
  2. विशिष्ट क्षमताकी धनी श्रष्टा नानी बिवुलाई कृति अनुक्रोशका लागि हार्दिक बधाई एवं शुभकामना ।

    ReplyDelete