बालकविता लेखनमा बालसङ्गतको प्रभाव - रचना चौतारी

Breaking

Powered By Blogger

March 27, 2021

बालकविता लेखनमा बालसङ्गतको प्रभाव

 अनुभव      

बालकविता लेखनमा बालसङ्गतको प्रभाव 

रमेशचन्द्र घिमिरे

(अनुभव)      बालकविता लेखनमा बालसङ्गतको प्रभाव     

रमेशचन्द्र घिमिरे


बालसाहित्यका विभिन्न विधाहरूमध्ये बालकविता वा बालगीत एउटा महत्त्वपूर्ण विधा हो । बालकविता लेखनलाई ‘टेबुल वर्क’ का रूपमा भन्दा पनि ‘फिल्ड वर्क’ का रूपमा प्रयोग गर्न सकियो भने त्यो अझ बढी रोचक, प्रभावकारी, मनोवैज्ञानिक र सशक्त हुन सक्छ । कतिपय बालकविता  लेखकले बालबालिकासँग घुलमिल भएर भन्दा पनि अर्ती उपदेश दिने अभिभावकका रूपमा र नैतिक सन्देश दिने गुरुका रूपमा आफूलाई उभ्याएको पाइन्छ । वास्तविक बालकविता लेख्न त उनीहरूसँग सामीप्यता गाँस्न, उनीहरूको आँत छाम्न, उनीहरूसँगै रमाउन, उनीहरूका कुरा बुझ्न तथा समग्रमा भन्दा उनीहरूसँग सङ्गत गर्न सक्नुपर्दछ । बालबालिकाको सङ्गतले उनीहरूका कुराहरू खोजेर, उनीहरूसँग सोधेर, उनीहरूसँगै भिजेर र उनीहरूलाई नै भित्रैदेखि बुझेर बालकविता लेखनमा सफलता हासिल गर्न सकिन्छ । बालकविता लेख्दा आफू पनि बालकै जस्तो बनेर कविता लेख्ने प्रेरणा प्राप्त गर्न पनि बालबालिकाको सङ्गत हुनु जरुरी छ । बालसाहित्यका सर्जकहरूसँग सिर्जनात्मक खुवी भएर मात्र हुँदैन, विषयवस्तुको ज्ञानको पनि आवश्यकता पर्दछ । कुनै पनि मानिस आफू एक्लै पूर्ण हुन सक्दैन । तसर्थ प्रौढ साहित्यकारले बालकविता लेखनमा आफ्नो विगतको अनुभवबाट प्राप्त हुने खुराकका साथै वर्तमानका बालबालिकाहरूसँग सोधेर, खोजेर, बुझेर र भिजेर पनि थप मसला प्राप्त गर्न सक्छन् भने अन्य साहित्यिक स्रष्टाका रचनाहरुको अध्ययन गरेर पनि बालकविता यसरी लेख्दा प्रभावकारी हुँदो रहेछ भनेर बुझ्ने अवसर प्राप्त गर्दछन् । बालकविता लेख्दा प्रयोग गरिने बालपात्र सकभर आफू नै भएको राम्रो हुन्छ अभिभावकले सम्बोधन गर्ने गरी चयन गरिएको बालपात्रलाई बालकविताको पात्र बनाउँदा बालबालिका स्वयम्ले पढ्न रमाइलो मान्दैनन् ।  बालबालिका स्वयम्लाई पात्र बनाइएको बालकविता पढ्दा उनीहरु बल्ल रमाएर वाचन गर्न सक्छन । सम्बोधित बालपात्रको प्रयोग गर्नुपर्ने अवस्थामा सम्बोधक वाचक वा पाठक केही बढी उमेरको दाजु वा दिदी भयो भने त्यस्तो बालकविता प्रभावकारी हुन सक्छ र त्यस्तो बालकवितामा पनि बालबालिका आफै समाहित भएको अनुभूत गर्न सक्छन् । बालबालिकाले बालकविता वाचन गर्दा उनीहरु अभिभावक वा गुरुगुरुआमा भएको सुहाउँदैन । त्यस्तै गरेर बालबोलीको प्रयोग गर्नुपर्ने कुरामा पनि स्रष्टाले ध्यान पु¥याउनु आवश्यक पर्दछ । बालबालिकामा हुने कल्पनाशीलता, उनीहरुले मन पराउने विषयवस्तु (जस्तैः फूल, पुतली, खेल, विद्यालय, घर आदि), उनीहरुले गर्न सक्ने अनुभव, बालोपयोगी सन्दर्भ, बालसुलभ चेतना, बालमनोविज्ञान, बालोचित कोमल भावना आादिको यथास्थानिक, स्वाभाविक र सुहाउँदा प्रसङ्ग नै बालकविताका लागि ग्राह्य हुन्छन् । बालकविता लेखनमा ध्यान पु¥याउनै पर्ने अर्को महत्त्वपूर्ण कुरा त के हो भने बालकविता लयात्मक हुनु जरुरी छ । बालकवितामा लय छनोट गर्दा लेखकलाई लेख्न सजिलो र बालबालिकालाई गाउन सजिलो लोकलयको प्रयोग गर्नु धेरै राम्रो हुन्छ । लोकलयअन्तर्गत १२, १४ वा १६ अक्षरे सबाई,  १२ अक्षरे भजन, १६ अक्षरे असारे झ्याउरे, १६ अक्षरे सेलो लगायतका लोकछन्दहरु बढी प्रयोगमा आएका छन् र ती लयहरु बालबालिकाका लागि रुचिकर पनि बन्न सकेका छन् । लघुगुरुको गणसूत्रमा मिहिनेत गर्नुपर्ने हुनाले लेखकलाई लेख्न केही असजिलो भए पनि बालबालिकाले गाउन रमाइलो मान्ने उपजाति, अनुष्टुप्, वसन्ततिलका, भुजङ्गप्रयात् जस्ता शास्त्रीय छन्दको प्रयोग गरेर लेख्न सकियो भने त्यस्ता शास्त्रीय छन्दको प्रयोग झन् सशक्त र प्रभावकारी हुन सक्छ । आखिर जे सुकै भए पनि समग्रमा भन्नुपर्दा बालबालिकाको सङ्गत गर्न जानियो भने मात्र एउटा बालसाहित्यकारले सफल बालसाहित्यकारका रुपमा आफूलाई उभ्याउन सक्छ । बालकविता लेख्दा मानक, व्याकरणिक र शुद्ध भाषाको प्रयोगमा ध्यान दिन नसक्दा र भाषिक विचलन हुँदा बालबालिका पर्ने नकारात्मक प्रभावका बारेमा बालसाहित्यका सर्जक उत्तिकै सचेत हुनुपर्ने कुरा त झन् बिर्सनै हुँदैन । माधवप्रसाद घिमिरे, दैवज्ञराज न्यौपाने, कृष्णप्रसाद पराजुली, रामबाबु सुवेदी, बुँद राना लगायतका थुप्रै बालसाहित्यकारहरुका कविता पढेर, बालसाहित्यानुरागी स्रष्टा तथा पाठकबाट प्राप्त प्रत्यक्ष र परोक्ष प्रेरणाबाट अनि बालबालिकासँग विभिन्न सन्दर्भमा भएका सरसङ्गतबाट प्राप्त मेरा अनुभवले मैले पनि केही बालकविता लेख्ने प्रयासचाहिँ गरेको छु । मेरो बालकविता लेखन प्रारम्भिक चरणमै रहेकाले म आफू सिकाइकै क्रममा छु । कमीकमजोरीहरु धेरै छन् र पनि विज्ञ पाठकबाट सुझावको अपेक्षा राख्दै यसै सन्दर्भमा मेरा अनुभवहरु यस आलेखमा समेट्न् प्रयास गरेको छ् ।

 

१) बालबालिकाका कुराहरू खोजेर

यति यति पानी गङ्गे रानीबाल समुदायमा प्रचलित अत्यन्त लोकप्रिय बाल खेलगीत हो । आफू केटाकेटी छँदा मैले पनि खासै नबुझी-नबुझी यस खेलमा सहभागी भएको थिएँ । तर मलाई यसका बारेमा राम्ररी बुझ्नै थियो । कक्षा १० मा पढ्दै गरेका छात्राहरूलाई यति यति पानीका बारेमा कसलाई थाहा छ ? भनेर सोधेँ । सबिना अधिकारी नामकी छात्राले यस खेलको खेल्ने तरिका र यसमा हुने शृङ्खलालाई राम्ररी अर्थ्याइन् अनि मैले यति यति पानीकविताको. पुनर्सिजन यसरी गरेँ -

 

यति यति पानी

 

निहुरी पर्दा साह्रै देखिँदैछ्यौ सानी

भिज्यो पैतालामा कठै बरा नानी !

यति यति पानी खेलौँ गङ्गे रानी !!

 

साथी साथी भई हात समाएको
हेरून् दुनियाले हामी रमाएको
मिलिजुली खेल्ने साह्रै राम्रो बानी
भिज्यो घुँडासम्म कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

 

बिचमा तिमी हुन्छ्यौ छेउमा हामी हुन्छौँ
सुस्तै बोले हुन्छ हामी यसै सुन्छौँ
लाज मानी किन गर्छ्यौ आनाकानी ?
भिज्यो कम्मर लौ न कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

 

भाग्न नखोज भो गोलो घेरा तोडी
जान पाउन्नौ तिमी हामीलाई छोडी
दाउ रैछ तिम्रो फुत्किएर जानी
भिज्यो छाती पूरै कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

 

मुखमै आउला पानी बोल्न नसकौली
आत्तिएर साङ्लो खोल्न नसकौली
हात पार्छौँ खुकुलो निस्क बाटो छानी
भिज्यो काँधै समेत कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

 

खेल्यौँ हाँसी खुसी साथी भाइ माझ
जुट्नु पर्छ भोलि बिदा होऔँ आज
अझै किन हेछ्र्यौ आँखा तानी तानी
भिज्यो घाँटी चिउँडो कठै बरा नानी !
यति यति पानी खेलौँ गङ्गे रानी !!

२) बालबालिकाहरूसँग सोधेर

मलाई आँगनशीर्षकमा कविता लेख्नु थियो । कक्षा ९ को नेपाली पाठ्यपुस्तकको सिर्जनात्मक कार्यअन्तर्गत कविता लेखनमा अभ्यास गराउनलाई निर्देशन पनि दिइएको थियो । मलाई त एउटा बहाना चाहिएको थियो । त्यही निहुँमा मैले उनीहरूलाई  तिमीहरूलाई आँगनका बारेमा केके थाहा छ ? ल भन त !भनेर उत्तर खोजेँ । उनीहरूले दिएका उत्तरको निचोड यस्तो थियो

 आँगनमा नाचगान गरिन्छ । आँगनमा भारी बिसाइन्छ । आँगनमा कोही गुच्चा खेल्छन् कोही तास खेल्छन् । आँगनमा चुम्मी खेलिन्छ, खोपी पनि खेलिन्छ । केटाकेटीले आँगनमा कपर्दी, डन्डीबियो र अरु खेल पनि खेल्छन् । जाडामा आँगनमा गुन्द्री ओच्छ्याएर घाम ताप्न पाइन्छ । बिस्कुन वा धान सुकाउनका लागि आँगनकै प्रयोग गरिन्छ । तिहारका बेलामा भैली खेल्न, रङ्गोली बनाउन र उस्तै परे भाइटीका लगाउन पनि आँगनलाई नै उपयोगमा ल्याउन सकिन्छ । आँगनमा दसैँमा खसी काटिन्छ । सानोसानो दाइँ हाल्न पनि आँगनमा नै मिल्छ । आँगनमा धान झाँट्न र भट्ट, मास ठटाउन पनि मिल्छ । गुन्द्री ओच्छ्याएर आँगनमा बसी निबुवा साँधेर खान पाउँदा कम्ती रमाइलो त हुँदैन । पुसको पहार ताप्दै आमा र हजुरआमाहरूले आँगनमा तान लगाएर गुन्द्री पनि बनाउँछन् । दसैँको बेला आँगनमै त हो नि घुर्रे पिङ र लट्ठ् पिङ हाल्ने ! आदिआदि । मैले यसअघि पनि जाँतो, ठेकी, छपनी, लोहोरो जस्ता शीर्षकमा पनि यसरी नै उनीहरूका विचार बटुलेर कविता लेखेको थिएँ । यसै क्रममा लेखिएको चस्मा शीर्षकको बालकविता यस्तो छ

चस्मा

 

नाकलाई च्याप्छ दुख्ने गरी कानलाई साह्रो डस्छ

आफू भने गजधम्म मक्ख पर्छ बस्छ

 

रामायण पढ्नु पर्दा हजुर बाले खोज्ने
राम्री हुन स्यान्दिदीले यही चस्मा रोज्ने
धुलो उड्दा आँखाभित्र पस्छ भन्ने डर
त्यही निहुँमा ठूल्दाजैलाई चस्मा लाउने रहर !
 
मोटर साइकल चढ्दा खेरि हान्छ हावाले
त्यही भएर चस्मा लाउँछन् सानो बाबाले
लौरी टेकी हिँड्ने गाउँका बुढापाकाले
चस्मा लार हिँड्ने गर्छन् मामा, काकाले
 
कैले काहीँ आँखा पोल्छ, दुख्छ, बिझाउँछ
घामले आँखा टिप्दा कालो चस्मा काम लाउँछ
हैरान पार्छ बाटो हिँड्दा पिरो धुवाँले
आस्कोटबाट चस्मा झिक्छन् ठूलो बुवाले

 

चामल खन्याई नाङ्लामा बियाँ केलाउँदा
फुर्सद हुँदा खुसुखुसु मोबाइल खेलाउँदा
मैले यस्सो हेर्देको त मानिन् साह्रै लाज
फुपूले नि चस्मा लाको देख्न पाइयो आज
 
झिल्का पार्दै फलाम जोड्ने झिल्के मिस्त्री दाइ
टिभी हेरी आँखा बिगार् गर्ने सानो भाइ
ठूलाले त यसै लाउँछन् स्यास्यानाले लाउने
कोहीले रहर कसैले चाहिँ बाध्यताले लाउने
 
खोजी गर्दा बाको थोत्रो चस्मा पाइएर त
मलाई पनि चस्मा लाउने निहुँ चाहिएर त
लाउने रहर भयो अनि चस्मा लाको छु
भन्देऊ साथी चस्मा लाउँदा कस्तो भाको छु ?

३) बालबालिकालाई बुझेर

खेलछुट्टीको समय थियो । कोही भलिबल खेल्दै थिए, कोही चुङ्गीमा रमाउँदै थिए, कोहीचाहिँ फुटबलमा व्यस्त थिए तर सात कक्षा पढ्ने नानीहरू भने कक्षाकोठाभित्रै बसेर रमाइलोसँग गट्टा खेल्दै थिए । मैले उनीहरूले गट्टा खेलेको राम्ररी हेरेँ । उनीहरू पालैपालो खेल्दै थिए । तिनीहरूमध्येकी एउटी छात्रा सुकमाया वि.क.को गट्टा खेलाइबाट म प्रभावित भएँ र उनीहरूको अनुमति पाएर भिडियो खिचेँ । बेलुकी घरमा आएपछि त्यो भिडियो नियालेँ । गट्टा खेल्ने तरिका र चरणका बारेमा बुझ्दै गएँ र थप स्पष्ट हुनका लागि भोलिपल्ट सोधेँ । अनि उनीहरूको मनोभावना बुझेर फुर्सदमा यस्तो कविता तयार पारेँ

 

गट्टा खेल्ने साथी
 
किन घुर्की लगाउँछ्यौ
मर्काएर घाँटी
खोजी आऊ अनिता
गट्टा खेल्ने साथी

 

गट्टा फिँजाई भुईंमा
टाउको कर्काई
खेलिन् साथी निताले
ओर्काई फर्काई

 

एक् टिप्पे र दुई टिप्पे
अनि अचारचाटी
खेल्दैछु म हेर्दै जाऊ
गट्टा खेल्ने साथी

 

खेल्दाखेल्दै थाकेँ म
तिम्लाई पालो दिम् कि ?
एक् छिनपछि खेल्ने हो
मैले इम्कीछिम्की
 
आँखा छली सुनिता
नबन है बाठी
झेल् नगरी खेल्न आऊ
गट्टा खेल्ने साथी

 

घोडे गुफा खेलौँ है
खेलौँ गट्टाच्यापी
ढ्यापु, च्यापु, घर् लिपी
दुल्के, पन्जाछापी

 

गीता अनि बिनिता
मनिता छिन् जाती
भोलि फेरि जुटौँ है
गट्टा खेल्ने साथी !

४) बालबालिकाहरूसँग भिजेर

आइतबारको दिन थियो । कक्षा ९ मा पढाउनका लागि घन्टी बज्नासाथ कक्षाकोठाभित्र पसेँ । आज पढ्नुपर्ने विषयको शीर्षक बोर्डमा लेखेर विद्यार्थीहरूलाई किताब पल्टाउन निर्देशन दिँदै थिए, एक जना छात्रा उठेर मलाई एउटा चोकोफन र दुइटा मिठाई दिइन् । उनले आज मेरो जन्मदिन हो भनेर भन्न नपाउँदै मैले कुरा बुझिहालेँ किनभने कसैको जन्मदिन छ भने यसरी नै मिठाई दिने चलन छ । मैले उनलाई जन्मदिनको शुभकामना दिएँ । जन्मदिन कसरी मनाउने भन्ने बारेमा जिज्ञासा राख्दा उनले जे बताइन् मैलै त्यसलाई कवितामा उतारेर भोलि सुनाउने वाचा गरेपछि उक्त दिनको पाठ पढाएँ । उनको जन्मदिन मनाउने तरिका मलाई साह्रै  चित्त बुझ्यो । उक्त कविता मैले अर्को दिन कक्षामा सुनाएँ र सोही कविता कान्तिपुर कोपिलामा प्रकाशनका लागि पनि पठाएँ । अर्को आइतबार सो कविता कोपिलामा प्रकाशित पनि भयो । कविता यस्तो थियो

 

जन्मदिनको रमाइलो

 

यति साह्रो रमाइलो भाको किन हो
आज हाम्री साथीको जन्म दिन हो

 

मिठाई बोकी ल्याकी छन् झोला भोरेर
यतै राख क्यै हुन्न खान्नौँ चोरेर
 
अबिर लाइदिइन् गालामा हाम्री वर्षाले
दङ्ग परिन्, रमाइन् उफ्रिन् हर्षले
 
गीत गाइन् रूपाले भाका हालेर
साथीभाइ नाच्दैछन् खुट्टा फालेर
 
हृदयको खोकिलामा माया अटाउँदै
ताली पिटिन् पुष्पाले हात ठटाउँदै
 
हामीसित पैसा छैन केक काट्नलाई
कल्ले छेक्न सक्छ र खुसी साट्नलाई ?
 
मनको पीर अँधेरो दुःख भगाउँछौँ
निभाउन्नौँ मैन बत्ती दियो जगाउँछौँ
 
किताबकापी उपहार दिनु जाती हो
जन्मदिनको खुसीमा नाचौँ साथी हो !

निष्कर्ष

     बालबालिकालाई नबुझी कविता लेख्दा त्यस्तो कविता केवल कोरा नारा, खोक्रो भाषण र उपदेशले लादिएको भारी जस्तो हुन्छ भन्ने बुझेर म प्रायः बालबालिकाकै सङ्गत गरेर कविता लेख्न रमाउँछु । तर यसरी कविता लेखे पनि मैले उनीहरूको मनोभावना बुझ्ने खालको कविता रचना गर्न सकेको छैन । बालबालिकाले मेरा बालकविता पढेर अग्रज साहित्यकारका कविता पढ्दा जुन किसिमको आनन्द प्राप्त गर्न सक्छन् त्यस्तो आनन्द पाउन सकेका छैनन् भन्ने मेरो ठहर छ । अग्रज बालसाहित्यकारकै जस्तो कलात्मक, कल्पनाशील र रमाइला कविता लेख्ने प्रयासमा छु । मेरो बालकविता लेखन प्रारम्भिक चरणमै रहेकाले म आफू सिकाइकै क्रममा छु । कमीकमजोरीहरु धेरै छन् । त्यसैले विज्ञ पाठकबाट सुझावको अपेक्षा राख्दै मेरा अनुभवहरु सँगालिएको यस संस्मरणात्मक आलेखलाई बिट मार्न चाहन्छु ।

     भोर्लेटार, लमजुङ

 


No comments:

Post a Comment