समीक्षाः कवि सिद्धिचरण श्रेष्ठका प्रतिनिधि बालकविताको विश्लेषण - रचना चौतारी

Breaking

Powered By Blogger

May 26, 2021

समीक्षाः कवि सिद्धिचरण श्रेष्ठका प्रतिनिधि बालकविताको विश्लेषण

 कवि सिद्धिचरण श्रेष्ठका प्रतिनिधि बालकविताको विश्लेषण

कवि सिद्धिचरण श्रेष्ठ

नेपाली साहित्यमा युगकविका रूपमा सुपरिचित तथा प्रकृतिवादी एवं प्रगतिवादी कविका रूपमा प्रतिष्ठित सिद्धिचरण श्रेष्ठ (वि.सं. १९६९–२०४९) नेपाली कविताको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका सह–प्रवर्तक हुन् । बालकवितातर्फ उनको ‘तिरमिर तारा’ बालकविता सङ्ग्रह प्रकाशित छ भने ‘कोपिला’ र ‘मेरो प्रतिबिम्ब’ कवितासङ्ग्रहमा पनि केही बालकविताहरु सङ्कलित छन् ।

उनका बालकवितामा राष्ट्रप्रेम तथा विश्वबन्धुत्वको भाव समेटिएको पाइन्छ; उनी आफ्ना बालकवितामा बालबालिकालाई मायालु बोलीमा नीति–चेतना र जागरणको सन्देश दिन्छन् अनि प्रकृतिलाई उपजीव्य बनाएर लेख्न पनि उत्तिकै रमाउँछन् । उनका बालकवितामा अनुकरणात्मक शब्दको रमाइलो प्रयोग भेटिन्छ भने शास्त्रीय वर्णमात्रिक र मात्रिक तथा नेपाली लोकलयको साङ्गीतिक स्वाद समेत पाइन्छ । यहाँ यिनै कवि श्रेष्ठका ‘तिरमिर तारा’ बालकविता सङ्ग्रहमा सङ्गृहीत ‘आमा’, ‘भँगेरा र कमिलाको कथा’ र ‘छात्रगीत’ गरी तीनवटा बालकविताको विश्लेषण गर्ने प्रयास गरिएको छ ।

समीक्षक रमेशचन्द्र घिमिरे
१. आमा–

‘आमा’ बालकविता ‘तिरमिर तारा’ बालकविता सङ्ग्रहभित्र सङ्गृहीत र पाठ्यपुस्तकमा समेत समेटिएको अत्यन्त उत्कृष्ट र लोकप्रिय बालकविता हो । शास्त्रीय वर्णमात्रिक छन्दअन्तर्गतको उपजाति छन्दमा रचित यस कवितामा जम्मा चार श्लोक र १६ पङ्क्ति रहेका छन् । मातृको ममतासिक्त भाव र ममतामयी आमाले आफ्ना सन्तानप्रति गर्ने स्नेह यसको केन्द्रीय कथ्य हो । यस बालकवितामा कवि श्रेष्ठले आफू बालकै बनेर कविताको सिर्जना गरेका छन् । यसको भावार्थ यस्तो छः

आमाले मलाई जन्म र प्राण दुवै दिएकी हुन्छिन् । आमाबाट नै म जन्माइएको र हुर्काइएको हुँ । आमा बोट हुन् भने म त्यसको फल हुँ । म र मैले  पाएका जे–जति पनि कुरा छन्; ती सबै आमाबाट नै प्राप्त दान हुन् । जति गाए पनि नसिद्धिने आमाको महिमा अपार छ । आमाले मलाई एकातिर प्रेमको धारा र अर्कातिर सहारा दुवै दिएकी हुन्छिन् । आमाले मेरा लागि जे–जति कर्तव्य, स्नेह र गुण खन्याएकी छन्; त्यसको पैँचो तिर्न सक्ने सामथ्र्य ममा छैन । आमाको प्रेरणा पाएर नै बिग्रेकालार्ई बनाउन र रोएकालाई हँसाउन सक्ने खुबी ममा प्राप्त होस् । म ज्ञानी भई नाम कमाएर आमाको सुयोग्य पुत्र हुन सकूँ र आमाको सपूतका रुपमा चिनिएर संसारलाई सजाउन सकूँ । 

आमालाई सिर्जनाको मुहान ठानिएको यस कवितामा वत्सल रसको प्रयोग भएको पाइन्छ । ममताकी खानी त्यस्ती आमाको सपूत भई संसार सजाउन सकेको खण्डमा आफ्नो कर्तव्य पूरा हुृने विचार पनि यसमा सँगेटिएको हुँदा सन्तानको कर्तव्यबोधी चेतना पनि यसमा अभिव्यञ्जित भएको छ र सुयोग्य पुत्र हुने उच्चाकाङ्क्षासमेत यसमा गरिएको छ । आमालाई बोट र ‘म’ पात्र (छोरा)लाई फलका रुपमा आरोपित गरिएको हुँदा यसमा रुपक अलङ्कारको प्रयोग भएको देखिन्छः

आमा ! तिमी बोट म फूल त्यसको
हो दान तिम्रै जति जे छ मेरो ।

यस कवितामा कविले अन्त्यानुप्रासको सफल संयोजन गरेका छन् भने तत्सम शब्दको प्रयोग पनि धेरथोर प्रयोग गरेका छन् । हिन्दी शब्दको प्रभावमा ‘कहलाउने छु’ जस्तो शब्दको प्रयोग भए पनि समग्रमा भन्दा यस कवितामा बालोपयोगी सन्दर्भ र बालोचित भाषाशैलीको नै प्रयोग भएको छ भन्न सकिन्छ । शास्त्रीय वर्णमात्रिक छन्दमा लेखिए पनि उपजाति छन्दलाई बालकको जिब्राले सहजै पचाउन सक्ने हुँदा छन्दचयनमा पनि कविले विचार पु¥याएको. देखिन्छ ।  

२. भँगेरा र कमिलाको कथा–

‘तिरमिर तारा’ बालकविता सङ्ग्रहमै सङ्कलित ‘भँगेरा र कमिलाको कथा’ बालकवितामा नेपाली समाजमा प्रचलित  लोकाख्यानलाई कवितात्मक पुनर्कथन गराइएको छ । १६ अक्षरे नेपाली झ्याउरे लोकछन्द (३+२, ३+२, ३+३) मा आधारित यस कविताको प्रत्येक पाउको पाँचौँ अक्षरमा अल्पविश्राम, दसौँमा मध्यविश्राम र सोह्रौँ अक्षरमा पूर्णविश्राम भएको पाइन्छ । ‘गुनको बदला गुन, खुनको बदला खुन’ भन्ने हिन्दी प्रभावित नेपाली लोक–आहानलाई यसमा सार्थक पार्न खोजिएको छ । कथा यसप्रकार रहेको छः 

भँगेरा र कमिलाले मित लगाएका थिए । दुवै प्रायः सँगसँगै हिँड्ने गर्दथे । एक दिन भँगेराले दुवै मिलेर भोज खाने निधो गरी कमिलालाई भोजमा बोलायो । भँगेराले कमिलालाई मित्रतास्वरुप भोजमा बोलाएको  तर खासै गतिलो भोजन खुवाउन नसकेको दुखेसो नम्र हुँदै पोख्यो । भँगेराको मित्रवत् व्यवहारप्रति नतमस्तक हुँदै कमिलाले आफूमाथि भँगेराले दर्साएको सद्भावको सराहना ग¥यो । आफूप्रति भँगेराको यत्रो मानसम्मान देखेर कमिलाले मनमनै गुनको बदला तिर्ने मौका सोच्यो । पछि कमिलाले महिना दिनसम्म अनेक भोजन खोजेर ल्याई भँगेरालाई भोजको निम्तो पठायो । खुसी हुँदै भँगेरो निम्तो स्वीकार्न उहाँ पुग्यो र कमिलाको रमाइलो भोजमा सहभागी बन्यो । गुनको बदला तिर्न सकेकोमा कमिला निकै खुसी भयो । पछि भँगेराले झैँ रगत दिएर मितको ऋण तिर्न खोज्यो । रगत दिँदा त्यस कमिलाको ज्यानै गयो । 

गुनको बदला गुन त तिर्न सकिएला तर रगत भने तिर्न नसकिने रहेछ भन्ने भाव कविताले बोकेको छ । यसमा औकात हेरी गुनको बदला तिर्न सक्नुपर्दछ भन्ने नैतिक सन्देश छिपेको पाइन्छ भने चरा र कमिलाझैँ एकापसमा मैत्रीभाव राख्नुपर्दछ भन्ने मित्रताको पाठ पनि यसमा पढाइएको छ । हरेकले आ–आफ्नो सामथ्र्य र गच्छेअनुसारको काम गर्नुपर्दछ । हाड निल्नुअघि घाँटीको आकार विचार गर्न सकिएन भने धोका पाइन्छ तथा अरुको नक्कल गर्नु आत्महत्या गर्नु हो भन्ने भाव यसमा अझ स्पष्ट भएको छ । आंशिक अन्त्यानुप्रासको बाहुल्य रहेको यस कविताको तुकबन्दी योजना अमिल्दो र अस्वाभाविक छ । जस्तैः

एकदिन त्यसै भँगेरालाई रहर चलेछ
पठाई निम्तो कमिलालाई भोजमा डाकेछ ।

माथि उल्लेखित श्लोकांशमा कविले ‘चलेछ’ को सट्टा ‘लागेछ’ भन्ने क्रियापदको प्रयोग गर्न सकेको भए अझ कर्णप्रिय र श्रुतिमधुर हुन सक्थ्यो । जे भए पनि बालबालिकाले नै रमाई–रमाई र भाका फेरी–फेरी गाउन सक्ने झ्याउरे भाकामा यो कविता रचिएको हुँदा यसलाई पनि बालोपयोगी कविताकै दर्जामा राख्न सकिन्छ ।

३. छात्रगीत–

कवि सिद्धिचरण श्रेष्ठको ‘तिरमिर तारा’ बालकविता सङ्ग्रहमै सङ्गृहीत ‘छात्रगीत’ मा ४ श्लोक र ८ पङ्क्ति रहेका छन् । शास्त्रीय वर्णमात्रिकअन्तर्गत पञ्चचामर छन्दमा यो कविता रचिएको छ । जागरण र कर्तव्यबोधी चेतनाको प्राबल्य रहेको यो कविता कविले नितान्त बालक अझ स्कुले विद्यार्थी नै बनेर लेखेका छन्; जसको भाावार्थ यस्तो छः

विश्वमा शान्ति फिँजाउन तथा समृद्धि र शक्ति भर्नका लागि हामी अगाडि बढ्दछौँ । हामी आफ्नो मनमा निराशा, शोक र खिन्नतालाई टिक्न नदिई संसारलाई उज्यालो ज्योतिद्वारा झलल्ल पार्दछौँ । हामी विद्यार्थीवर्ग हौँ, हामीले नै नयाँ जगत्को निर्माण गर्दछौँ । हामीमा टाढा र नजिकको भेदभाव छैन । हामी सबै एक हौँँ र एक छौँ । आपसमा भेदभावले भन्दा पनि मेलले नै हामी अगाडि बढ्दछौँ र अपूर्णलाई पूर्ण पार्ने प्रयास गर्दछौँ । 

यस कवितामा क्रान्तिकारी र जागरण भाव अभिव्यञ्जित भएको छ । साथै मित्रवत्, सहिष्णु र ऐक्यबद्ध हुनका लागि पनि यस कविताले प्रेरित गरेकाो छ । वीर रसको प्रयोग भएको यस कवितामा समग्र रुपमा विद्यार्थी वर्गको कर्तव्यबोधी भावना जागृत भएको छ । अन्त्यानुप्रासको सफल योजना हुन नसक्नु र छन्द विचलनको अवस्था भेटिनु यस कविताका दुर्बल पक्ष हुन् । निम्नलिखित कवितांशमा यो स्थिति देखिन्छ । जस्तैः

निराश, शोक,खिन्नता टिक्न नदी कतै पनि
प्रबुद्ध आस–ज्योतिले संसार झल्ल पार्दछौँ ।


निष्कर्ष–

नेपाली साहित्यमा कवि, बालकवि तथा खण्डकाव्यकारका रुपमा परिचित युगकवि सिद्धिचरण श्रेष्ठ नेपाली कविताको स्वच्छन्दतावादी–प्रगतिवादी धाराका एक सशक्त प्रतिभा हुन् । स्वच्छन्दतावादी प्रवृत्ति अन्तर्गतका प्रकृतिचित्रण, लोकोन्मुखता, अतीततर्फको चासो, हार्दिकता, कल्पनाशीलता, सौन्दर्यप्रेम तथा प्रगतिवादी प्रवृत्ति अन्तर्गतका जागरण, क्रान्तिचेत, विद्रोह जस्ता विशेषता उनका बालकवितामा पाइन्छन् । विवेच्य कविताहरुमध्ये उनको ‘आमा’ कवितामा मातृभक्तिको भाव पोखिएको छ; ‘भँगेरा र कमिलाको कथा’ मा लोक आख्यानको पुनर्कथन र मित्रताको सन्देशको भाव अभिव्यञ्जित भएको छ अनि ‘छात्रगीत’ मा जागरण, चेतना र एकताको भाव अभिव्यक्त भएको छ ।

- क्याम्पस प्रमुख 
ईशानेश्वर क्याम्पस, भोर्लेटार लमजुङ 

No comments:

Post a Comment