बालकविताः तिहारको खुसी

तिहारको खुसी (बालकविता)

 - रमेशचन्द्र घिमिरे

दसैँ गयो थोरै खुसी दसैँसँगै गयो 
थोरै-थोरै रमाइलो तिहारलाई रह्यो

कागलाई भात खुवाएपछि कुकुर डाक्नुपर्छ
भोलिदेखि हाम्रो घरमा रोटी पाक्नुपर्छ
आमा अर्सा पकाउनुहोस्, दिदी फिनी बेल्नोस्
बहिनी जान्छे भैलीतिर दाजु देउसी खेल्नोस्

बिहान गाईको पूजा गरे राति लक्ष्मी झर्छिन्
हाम्रो घरको ढुकुटीमा टन्न पैसा भर्छिन्
धनको चाड भन्छन् यसलाई हामी पनि रमाऔँ
तर जुवा खेल्नुहुन्न खेल्नेलाई समाऔँ

गोरुलाई ढाब लगाऊँ खुवाऊँ मीठो कुँडो
भाइटीकालाई दिदी पनि आउँछिन् पर्सि पुँडो
सुख होओस् मनमा सधैँ दुःख नहोस् कत्ति
औँसी पनि उज्यालो होस् बालौँ धेरै बत्ती

ओखर फोर्नुस् दिदी हाम्रो दुःख भगाइदिनोस्
निधारमा सप्तरङ्गी टीका लगाइदिनोस्
माला लगाऔँ, टोपी लगाऔँ, रोटी-मिठाई खाऔँ
हाँसी-खुसी दिदीलाई भोलि घर पठाऔँ ।

                         -भोर्लेटार, लमजुङ 

Post a Comment

0 Comments