स्वादिला बालकविता शृङ्खला-४ रमेशचन्द्र घिमिरे


 

स्वादिला बालकविता शृङ्खला-४               रमेशचन्द्र घिमिरे

 

१. पासाङ ल्हामु सेर्पा

                                - क्षेत्रप्रताप अधिकारी

वीराङ्गना पासाङ ल्हामु

हिमचुलीमा खुल्यौ तिमी

फर्किएर आइनौ फेरि

सगरमै भुल्यौ तिमी ।

 

सगरमाथा माथि-माथि

हिमानीमा डुल्यौ तिमी

आँखाभरि पाखाभरि

सुनाखरी फुल्यौ तिमी ।

 

को फुल्छ  र झरेपछि

फुल्ने गरी झर्‍यौ तिमी

को बाँच्छ र मरेपछि

बाँच्ने गरी मर्‍यौ तिमी ।

 

नेपालभन्दा माथि हिमाल

हिमालभन्दा माथि तिमी

भाइ–बहिनीका लागि तिमी

हौसला र साथी तिमी

 

तिम्रोजस्तो बहादुरी

लेख्दै पढ्दै गएपछि

चुलीमाथि चुली थप्छौँ

हामी ठुला भएपछि ।

--------------------------------------

[गीतकारका रूपमा प्रसिद्धि कमाएका क्षेत्रप्रताप अधिकारी (१९९९-२०७०) का रहर लागेर’, ‘गामबेसीका गीत’ लगायतका थुप्रै कविता सङ्ग्रहहरू प्रकाशित छन् । बालसाहित्यतर्फ 'नानी बाबुहरू र अरू कविताहरू'  तथा 'पासाङ ल्हामु सेर्पा र अरू कविताहरू' उनका प्रकाशित बालकवितात्मक कृति हुन् । अधिकारीका काव्य रचनाहरूमा राष्ट्रियता, प्रकृति प्रेम, ग्रामीण समाज र संस्कृतिप्रतिको आकर्षण, देशका लागि योगदान दिने विभूतिहरूप्रतिको सम्मान, सामाजिक विकृति तथा विसङ्गतिमाथिको आलोचनात्मक अभिव्यक्ति पाइन्छ । नेपाली गीतिकविता लेखनका क्षेत्रमा उनको योगदान अविस्मरणीय छ ।  उनको प्रस्तुत ' पासाङ ल्हामु सेर्पा' बालकवितामा नेपालकी राष्ट्रिय विभूति वीराङ्गना पासाङ ल्हामुले सगरमाथा आरोहण गरेको प्रसङ्गलाई अघि सार्दै उनले गरेको साहसिक कार्यको प्रशंसा र उच्च सम्मान गरेका छन् र असमयमै मृत्युवरण गर्न पुगेकी पासाङ मरेर पनि नेपाली मनमुटुमा बाँचिरहेको कुरालाई कलात्मक र सुन्दर ढङ्गले लयात्मक शैलीमा अभिव्यक्त गरेका छन् साथै आफू बालपात्र बनेर उनको सिको गर्दै भविष्यमा गएर साहसिक कार्य गर्ने प्रणसमेत कविले प्रस्तुत बालकवितामा अभिव्यक्त गरेका छन् । कवितामा अन्त्यानुप्रासको सफल प्रयोग र विषयवस्तुको शृङ्खलाबद्ध एवम् मनोहारी वर्णन पाइन्छ ।]

***************************************

२. आँगनी

                                                  - मधुसूदनप्रसाद घिमिरे

आँगनीमा पानी जम्यो

वर्षा भयो कति

यति धेरै पानी आयो

रुझेँ कति कति

 

खेल्न पाइनँ आँगनीमा

दगुर्न नि पाइनँ

यौटा साइकल थियो तर

गुडाउन नि पाइनँ

 

मोबाइल हेरी दिन काट्छु

हिँड्डुल गर्नु छैन

कोठामा नै कोचिएर

स्वस्थ बन्ने हैन

 

यो वर्षाले गर्दा भयो

जताततै हिलो

हामी जस्ता भुरालाई

कोठाभित्रै किलो ।

-------------------------------------------

[मधुसूदन प्रसाद घिमिरे (२००८)  बालसाहित्यका क्षेत्रमा बालकथा तथा बालकविता लेखनमा निरन्तर साधनारत कवि हुन् । उनका 'पुतलीको रङ',  'माटाको माया'. 'को खाई को खाई',  'बिहानी' लगायतका बालकविताका सङ्ग्रह प्रकाशित छन् भने बालकथाका पनि थुप्रै पुस्तक प्रकाशित छन् । उनी आफ्ना बालकवितामा बालमनोभावना र बालरुचिअनुकूलका विषयवस्तुको चयन गर्न रमाउँछन् । उनको प्रस्तुत 'आँगनी' बालकवितामा वर्षाको समयमा बालकले भोग्नुपरेको अप्ठेरोलाई कविताको विषयवस्तु बनाइएको छ । पानी परेको समयमा कोठामा नै थन्किएर बस्नुपरेको हुँदा खेल्न र रमाइलो गर्न नपाएको अनि शारीरिक हिसाबले स्वस्थ बन्न नसकेको प्रसङ्ग अघि सार्दै कथयिता बालपात्रका रूपमा आएका कविले बालसुलभ स्वतन्त्रताको अपेक्षा गरेका छन् ।] *************************

३. रिबन
                       -
राधा आचार्य
कति धेरै फुस्की राख्यो मेरो शिरको रिबन
कपालसँगै बस्नु पर्ने हेर यसको जीवन

फूलजस्तै बनाउँछु यसलाई गाँठो पारी
फोक्का पार्छु मिलाउँछु यताउति सारी

रातो, पहेँलो, हरियो र सेतो रिबन मेरो
फेरी-फेरी लाउँछु म त टाउको सेरोफेरो

पुतलीले फूलबारीको शोभा दिएसरि
सिँगार्दछ रिबनले शिरलाई त्यसै गरी


हेर-हेर मेरो माथ सिउरेकी छु रिबन
यसैसँग बितिजान्छ मेरो बाल जीवन ।

-------------------------

[अन्नपूर्ण मा.वि. बुटवल, रुपन्देहीकी शिक्षिका राधा आचार्य (२०३३) सुमधुर स्वरमा कविता वाचन गर्न सक्ने कला भएकी प्रतिभा हुन् । उनले अग्रज र समकालीन सर्जकका शास्त्रीय तथा लोकछन्दका कविता एवम् बालकविताहरूमा मिठो स्वर दिएकी छन् । उनका फुटकर बालकविताहरू विभिन्न अनलाइन मिडियाहरूमा प्रकाशन पनि हुँदै आएका छन् । उनको प्रस्तुत 'रिबन'  बालकवितामा सुन्दर नारीलाई अझ सुन्दर बनाउने गहनाका रूपमा रिबनलाई हेरिएको छ । जसरी पुतलीले फूलबारीमा शोभा दिएको छ त्यसरी नै नारीशिरको शोभा बनेर रिबनले फूलले झैँ सिँगारेको छ भन्ने भाव कवितामा अभिव्यक्त भएको छ । कवितामा कवयित्रीले आफूलाई बालपात्रका रूपमा उभ्याउँदै रङ्गीचङ्गी रिबनले सजाएर आफ्नो बाल्यजीवन बिताउन पाएकामा रमाइलो मानेकी छन् ।]

********************************

Post a Comment

0 Comments