स्वादिला बालकविता शृङ्खला-३ रमेशचन्द्र घिमिरे - रचना चौतारी

Breaking

Powered By Blogger

April 24, 2022

स्वादिला बालकविता शृङ्खला-३ रमेशचन्द्र घिमिरे


स्वादिला बालकविता शृङ्खला-३                          रमेशचन्द्र घिमिरे

१. आमा                                                                                    -   कृष्णप्रसाद पराजुली

आमा ! म तिम्रै प्रिय काखमा छु

यै देशको सुन्दर बासमा छु

माया मलाई जुन रूख दिन्छ

छाया पियारो उसकै त हुन्छ !

 

आमा ! म तिम्रै दिलमा फुलेको

हुँ कोपिलो वागतिरै झुलेको

तिम्रो दुखेसो अब बुझ्न सक्छु

आँधी-हुरीमा पनि कुद्न सक्छु

 

धर्ती छ हेरूँ- रमणीय मेरो

नाच्दै लगाऊँ, यसकै म फेरो

मेची र काली हिउँको म छाया

आमा ! म तिम्रो ममता र माया

 

ती हात मेरा शिरमाथि राख

आमा ! उज्यालो घरभित्र डाक

चढूँ चुलीमा, नगरूँ बियाँलो

उठी हटाऊँ, जगको तुवाँलो ।

      ('सुनकल्छे हिमाल' बाट)

---------------------

[कृष्णप्रसाद पराजुली (१९९२-२०७०) नेपाली बालसाहित्यका फाँटमा ‘नानीका कवि’ भनेर विशेष चिनिएका छन् । नेपाली बालसाहित्यतर्फ बालकविता, बालगीत, बालगीतिकाव्य र बालकथा विधामा उनका दर्जनौँ कृतिहरू प्रकाशित भइसकेका छन् । पराजुलीका ‘रमाइला नानी’ भाग–१, भाग–२, भाग-, ‘चरी आयो’, ‘सिर्जनाका मुना’, 'सुनकल्छे हिमाल' लगायतका बालकवितासङ्ग्रहरू प्रकाशित छन् । नेपाली बालसाहित्यको उत्थान र समुन्नयनमा उनको उल्लेखनीय योगदान रहेको छ । उनका बालकवितामा बालबालिकाहरूलाई चरित्रवान्, साहसी, कर्मठ र अनुशासित बनाउनका लागि प्रेरणा दिइएको पाइन्छ । उनी बालबालिकालाई रमाइलो खुराक प्रदान गर्ने खालको भाव र विषयवस्तुको चयन गर्ने कुशल शिल्पी हुन् । बाल–अनुभूतिलाई सरल भाषा, रोचक ढङ्ग एवं गेयात्मक शैलीमा प्रस्तुत गरी बाल–मनोविज्ञान बुझ्नु र उनीहरूको मानसिकता खोतल्नु यिनको बालकवितात्मक वैशिष्ट्य हो । प्रस्तुत 'आमा' बालकवितामा आफूलाई जन्म दिने आमाप्रति विशेष सद्भाव दर्साई कविले आमालाई नेपाल आमाको प्रतीक ठान्दै माया र छाया दिने रुखका रूपमा सम्मान गरेका छन् साथै आमाको आशीर्वाद पाएर नै उन्नतिको शिखर चढ्ने र अन्धकार हटाउने इच्छा व्यक्त गरेका छन् ।]

*************************************************

२. साइकल                            

                                           - कृष्ण बाउसे

आलोपालो लात दिँदा खुरुखुरु हिँड्छ

माया गरी छोडिदिँदा दायाँबायाँ लड्छ

उभिन नै पनि उसलाई टेको दिनुपर्छ

 तरै पनि दुई पाङ्ग्रेले निक्कै फुर्ती गर्छ   

 

समतलमा यसलाई घोडाजस्तै चढ्छन्

नजान्ने त आफैं पनि त्यसैसँग लड्छन्

पाङ्ग्राभित्र सधैंभरि टन्न हावा भर्छन्

मान्छेहरू त्यसैलाई साइकल भन्ने गर्छन्

 

साइकलले गर्छ सधैं मानिसको सेवा

छिटो पुग्नुपर्दाखेरि पुऱ्याउँछ टेवा

त्यसै कहाँ पाएको हो उस्ले मीठो हावा !

जस्ले काम गर्छ उस्ले पाउँछ है मेवा ।

                                ('अक्षरका पुतली' बाट)
------------------------------------

[तेह्रथुममा जन्म भई हाल काठमाडौँमा बसोबास गर्दै आएका कवि कृष्ण बाउसे  (२०१३) नेपाली बालसाहित्यको बालकविता विधामा सुन्दर सिर्जना गरिरहने अनवरत साधक हुन् । उनका नानीको रहर, माथि माथि चढ्ने हो,  पढ्नै रमाइलो, कलम र कापी, अक्षरका पुतली, हाम्रो चिनारी, अँध्यारोमै हराउने बत्ती नहुनू लगायतका बालकविताका सङ्ग्रहहरू प्रकाशित छन् । उनी बालबालिकाको भाषामा कविता लेख्न खप्पिस छन् । जनस्वास्थ्यप्रतिको चासो, बालस्वभाव, कल्पनाशीलता, प्राकृतिक सन्दर्भको प्रयोग, बालरुचिअनुकूलका विषयवस्तुको सरल, सहज र स्वाभाविक प्रस्तुति, मानवीय अङ्गको महत्त्व र बखान  आदि उनका बालकवितामा पाइने काव्यात्मक वैशिष्ट्य हुन् । उनको प्रस्तुत 'साइकल' बालकवितामा कविले अमानवीय पात्रको मानवीकरण गर्दै दुई पाङ्ग्रे सवारी साधन साइकलको परिचय चित्रजस्तै छर्लङ्ग बनाएर प्रस्तुत गरेका छन् अनि यसलाई मानिसले कसरी उपयोग गर्छ र यसले मानिसलाई कसरी सेवा पुर्‍याइरहेको हुन्छ भन्ने जानकारी रोचक र लयात्मक पारामा गराएका छन् । कवितामा परिश्रमी बन्न सक्यो भने मिठो फल प्राप्त हुन सक्ने कुरा झल्काउँदै कर्मशील हुनका लागि परोक्ष रूपमा प्रेरित समेत गरिएको छ ।]

**************************************

 

३. मह कति मिठो     

                                                           - गौरी न्यौपाने

भुनभुन गर्दै माहुरी फूलबारीमा  डुल्छ

फूलको रस  चुस्नलाई फूलसँगै भुल्छ

 टाढा टाढा पुगेर रस ल्याउँछ छिटो

माहुरीले बनाएको मह कति मिठो

 

फूलैफूलमा डुलेर घारमा रस भर्छ

थोरै आफू खाएर धेरै वचत गर्छ 

फूलको रस लिएर फर्किहाल्छ छिटो

माहुरीले बनाएको मह कति मिठो

 

फुल पार्छ  रानीले घारैभरि भर्छ

कर्मी माहुरी जाँगरिलो काम धेरै गर्छ

कोसौँ पर पुगेर फर्किहाल्छ छिटो

माहुरीले बनाएको मह कति मिठो

 

मिलिजुली काम गर्छन् पर्दैन झगडा 

यति मिठो मह पार्ने माहुरी कति तगडा

दुःख पर्दा गोलबन्द भइहाल्छन् छिटो

माहुरीले बनाएको मह कति मिठो ।

-----------------

[मध्यनेपाल नगरपालिका-२ सोतीपसल, लमजुङ घर भई शिक्षण पेशामा आबद्ध कवयित्री गौरी न्यौपाने (२०३३) को लेखनको मुख्य क्षेत्र कविता विधा हो । विभिन्न कविता प्रतियोगितामा उनी पुरस्कृत समेत हुँदै आइरहेकी छन् । कवयित्री न्यौपानेका कविता, लघुकथा, गजल, मुक्तक एवम् बालकविताहरू पत्रपत्रिका तथा अनलाइन मिडियामा प्रकाशित हुँदै आएका छन् । बालसुलभ कोमल भाषाको प्रयोग गरेर बालकविता सिर्जना गर्न सक्ने खुबी उनमा देखिन्छ । कवयित्री न्यौपानेको प्रस्तुत 'मह कति मिठो' बालकवितामा मौरीमा हुने एकता, मित्रता, लगनशीलता र मिहिनेतको खुलेर प्रशंसा गरिएको छ । परिश्रमको फल मिठो हुन्छ भन्ने सन्देश दिँदै बालबालिकालाई मौरी जस्तै जाँगरिलो भएर प्रगति गर्नुपर्ने अप्रत्यक्ष सल्लाहसमेत कवितामा दिइएको छ ।]


No comments:

Post a Comment