लघुकथाः नयाँ अभियान
- रमेशचन्द्र घिमिरे'यता जाने कि त्यता ?'
'के यता र त्यता भनिरा ? दुःख गरिएकै छ । सधैँ भोकभोकै मर्ने हो र ? खान त राम्रै खाने हो । राम्रै ठाउँमा जाने हो ?'
'ल त नि, त्यसो भए त्यतै जाम् ।'
चोकमा अल्मलिएका दुई-तीन जना युवाहरू कतै लागे । सायद खाना खाने राम्रो होटेलको खोजीमा थिए, ती ! सम्भवतः आफू सुरक्षित हुन पनि खोज्दै थिए ।
××× ××× ×××
'सरहरूसँग समसामयिक विषयमा केही गफगाफ गर्नु छ । आजको समय हामीलाई दिनुहोस् ।' भन्दै दिउसो हाफटाइमको समय पारेर केही युवाहरू स्कुल छिरे । सरहरूले खाजा खाने समय कटौती गरेर उनीहरूका कुरा सुन्न चाहे ।
'पुरानो राज्यसत्ताले हामीलाई के दियो ? नेपाली जनताले के सुख पाए ? के सधैँ पुरानो विचारलाई नै साथ दिइरहने त हामीले ?'
प्रश्नको ओइरो आइरह्यो । उत्तर हामीसँग थिएन । उत्तर भनूँ भने पनि मिल्दैन कि भन्ने डर थियो ।
'यसको समाधान हामीसँग छ । हामीलाई सहयोग गर्नुहोस् । हामी पुरानो राज्य व्यवस्था मिल्काउन नयाँ क्रान्ति गर्दैछौँ ।' अर्काले बोल्यो ।
कुरा ठिकै थियो । हामीले चित्त बुझायौँ र नयाँ क्रान्तिको अभियानमा लागेका अभियन्तालाई धन्यवाद दिएर उनीहरूलाई पन्छाउन खोज्यौँ किनभने अर्को पिरियड पढाउन जानु नै थियो ।
'तपाईंहरूको धन्यवादले मात्र पुग्दैन सर ! हामीले केही गर्दैछौँ । खाई–नखाई दौडिरहेकै छौँ । हामीलाई तपाईंहरूको अन्य सहयोग पनि चाहिन्छ ।' तिनीहरूमध्येको नेता जस्तो मान्छेले बोल्यो ।
'कस्तो सहयोग ?' मनमनै थाहा भएर पनि थाहा नभएको पारामा सोधिएको हाम्रो प्रश्न थियो ।
'चन्दा अर्थात् आर्थिक सहयोग । देश बनाउन हिँडेकाहरूलाई यत्ति माया पनि गर्नुहुन्न त ?'
'खाली चन्दा चन्दा ! कति ठाउँमा दिने हो र ? अरू नै सहयोग गरौँला बरु । अहिलेलाई सकिएन, सरी !' हामीहरूमध्येकै एउटा सरले आँट गरेरै बोले ।
'हामीलाई केही थाहा छैन । हामी एक हप्तापछि आउँछौँ । सबै सरहरूले एक-एक दिनको तलब ठिक्क पारेर राख्नू ! नत्र अप्ठेरो पर्ला ।' 'इमोस्नल बार्गेनिङ'को भाषा प्रयोगका साथ यति भन्दै केही रिसाए जस्तो गरेर टोली निस्क्यो ।
××× ××× ×××
तिनीहरूको अनुहार बिहान चोकमा गफ गर्नेसँग ठ्याक्कै मिल्थ्यो ।
२०८०/०५/१९
No comments:
Post a Comment