पुसको पाके माघमा खाके (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 21, 2020

पुसको पाके माघमा खाके (बालकविता)

पुसको पाके माघमा खाके 
- रमेशचन्द्र घिमिरे 
     
१.
अनिता र निताले 
सुनितालाई डाके
तिल्को लड्डु, पिँडालु,
शखरखण्ड चाखे
आज पुसको रातिमा 
सुत्न जाने रे !
भोलि माघ लागेसी 
टन्न खाने रे !

भन्नुभयो आमाले -
`पुसको पाके माघमा खाके´

२.
`पकाएर अदुवा 
तातो खुदो राखे
डालामा छ सेल् रोटी 
नाङ्लाले ढाके
बिरालाले जुठो हाल्ला 
क्वाप्प खाएर
थन्क्याऊ बाबु भँडारमा 
ताल्चा लाएर´

भन्नुभयो बाबाले -
`पुसको पाके माघमा खाके´

३.
तरुल खन्न गएका 
ठुल्दाइ साह्रै थाके
`अलिकति उसिन्दिनुस् 
चाख्छु´ भन्न लागे
ऐले थोरै राख्दिउँला 
तिम्रो भागमा
रुचिन्जेल टन्न खाउला, 
भोलि माघमा

भन्नुभयो बज्यैले -
पुसको पाके माघमा खाके ।
        - भोर्लेटार, लमजुङ 
    (२०७६/०९/२९)

No comments:

Post a Comment