दाइँ हाल्ने मेसिन (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 21, 2020

दाइँ हाल्ने मेसिन (बालकविता)

- रमेशचन्द्र घिमिरे 
दाइँ हाल्ने मेसिन 

माल्दाम्लो नि चाहिएन गोरु खोज्न परेन
गोबर माटो भिजाई खलो पोत्न परेन
केलाई टन्टो बिसाउनु हाइसन्चो भा´को छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आ´को छ

खलो तास्न लाइएन मिय‍ो ल्याउन परेन
दयेँरालाई खट्टे भट्ट खाजा ख्वाउन परेन
जति खानु मेसिनले आफू एक्लै खा´को छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आ´को छ

सफा पारी सर्लक्क धान उँधो बुरुरु
ढुटी माटी पारेर पराल उँभो फुरुरु
सानो भाइलाई यो देखी अचम्म पो ला´को छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आ´को छ

आज दाइँ हो भनेर राति उठ्न नपर्ने
थेचारेर ढुङ्गामा धान चुट्न नपर्ने 
बत्ताउने नाङ्लाको पालो अब गा´को छ
दाइँ हाल्न भनेर खेतमै मिसिन आ´को छ
                   भोर्लेटार, लमजुङ 
                  (२०७६/०७/२३)

No comments:

Post a Comment