बालकविताः बाल अधिकार - रचना चौतारी

Breaking

Powered By Blogger

September 15, 2023

बालकविताः बाल अधिकार

 

बाल–अधिकार (बालकविता)
     रमेशचन्द्र घिमिरे



हामी हाँस्छौँहामी गाउँछौँहामी अब नाच्छौँ
मान्छे नै हौँ मान्छेजस्तै रमाएर बाँच्छौँ

हामी बाँच्न हामीलाई चाहिन्छ माया–प्यार
यही माया–प्यार पाउनु हाम्रो अधिकार
                            बाल–अधिकार !
यी कलिला हातले साह्रो गिटी फोर्ने होइन
सुकिला यी हत्केलाले नाली सोर्ने होइन
यी हातले चिटिक्कको झोला समाउने हो
हत्केलालाई कापी–कलम–किताब थमाउने हो
किताब बोक्ने झोलामा हेरौँ प्यारो संसार
यही प्यारो संसार पाउनु हाम्रो अधिकार
                            बाल–अधिकार !
हामी पढ्छौँ पढेर नै अघि–अघि बढ्छौँ
अन्यायको विरुद्धमा लड्नु परे लड्छौँ
हाँस्न–खेल्न पाउनु पर्छ बोल्न पाउनु पर्छ
हामीले पनि सङ्गठन खोल्न पाउनु पर्छ
हामी उठ्न नसक्नेलाई चाहिन्छ दरो आधार
यही दरो आधार पाउनु हाम्रो अधिकार
                            बाल–अधिकार !

 

No comments:

Post a Comment