गाउँको कोसेली (बालकथा) - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

गाउँको कोसेली (बालकथा)

गाउँको कोसेली

रमेशचन्द्र घिमिरे

“टिनिन्न ....... ” घन्टी बज्छ ।
आफ्नै सुरमा कोठामा गृहकार्य गरिरहेकी शिवानी घन्टीको आवाज सुनेर झसङ्ग हुन्छे अनि किताब–कापी त्यहीँ छोडी टाठ्ठिएर बाहिर निस्कन्छे ।
बाहिर गाउँबाट आएका उसका मामा रहेछन् । “ए, मामा पो आउनुभएको रहेछ ! नमस्ते मामा, बाबा–ममी बाहिर निस्कनु त ! हेर्नुस् न मामा आउनुभएको रहेछ ।” उसले खुसीले उफ्रँदै सबै कुरा भन्न भ्याई । शिवानीको आवाज सुनेर बैठक कोठामा टि.भी. हेर्दै बसेका उसका बाबा र किचनमा भात पकाउने सुरसार गर्न लागेकी उसकी ममी एकैचोटि बाहिर निस्के । “ए, दाजु पो आउनुभएको रहेछ । अनि घरमा बाआमा भाइ–बहिनी सबै सन्चै छन् ?” शिवानीकी ममीले सोधिन् । यति बेलासम्मा शिवानीले मामालाई हातले तानेर भित्रै ल्याइसकेकी थिई । शिवानीका बाबाले पनि ‘नमस्ते’ भन्दै सोफामा बस्न अनुरोध गरे ।
भलाकुसारीसँगै मामाले शिवानीकी ममीको गोडामा ढोगिदिए । “खै, ज्वाइँ साहेब दर्शन गरुँ !” भनेर शिवानीका बाबाको गोडा ताने । “भो, भो दाइ हातैले नमस्ते गरे भइहाल्छ नि !” भन्दाभन्दै पनि जबर्जस्ती ढोगिदिए र  भने, “यो हाम्रो संस्कृति हो छोड्नु हुन्न ।” अनि भान्जी शिवानीलाई पनि ढोगिदिएर हातमा पचास रुपैयाँ राखिदिए ।
मामा आएपछि शिवानी साह्रै खुसी थिई । बाँकी रहेको गृहकार्य भरे गर्नुपर्ला भन्ने सोचेर कापी–किताब झोलामा थन्क्याई । आज उसलाई टि.भी.को कार्टुन हेर्न मन लागेन, न त बजारको चाउचाउ खान नै मन लाग्यो । मामाकै काखमा आएर थुपुक्क बसी । मामाले झोला खोलेर खानदानको डिब्बा भान्जीलाई थमाए । घरबाट ल्याएको घिरौँला, बोडी, भिँडी, करेला सहितको ठूलो प्लास्टिक अनि एक सिसा घिउ टेबुलमा राखेर थन्क्याउन लगाए ।   
“हाम्री आमाले पनि किन दुःख गर्नुभएको हो, कुन्नि ! बोकेर ल्याउन दाजुलाई उस्तै गाह्रो ...” शिवानीकी ममी आफैसँग बोलिरहेकी थिइन् । शिवानीका मामाले भने, “यस्तो कुरा नगर, मैले झन् तिमीहरूलाई कति दुःख दिन्छु ।”
शिवानी अल्लि सानै छँदा मामासँग मिठाई भनेर पिरोल्थी । चाउचाउ किन्न कर लगाउँथी । मामाले “गीत गाइदेऊ न, भान्जी !” भन्दा कत्ति पनि शर्म नमानी गीत गाउँथी —
“मामा आउनु भो,
मामा आउनु भो
स्यानो–स्यानो गोलो–गोलो
पापा ल्याउनु भो”
आजभोलि शिवानीलाई गीत गाउन लाज लाग्छ । अलि ठूली भएकीले कुरो बुझ्छे र जिज्ञासा पनि राख्छे । हुन त अहिले ऊ गाउँको स्थानीय विद्यालयमा दुई कक्षामा पढ्छे । कुरो बुझ्ने भएरै होला, खानादानको डिब्बाभित्र रहेको कुराउनी ममीलाई राख्न दिई “ममी, यो पनि राख्नुस् ! सबैले बाँडेर खानुपर्छ । अनि त्यो सिसीको के हो नि मामा ?” उसले जिज्ञासा राखी ।
शिवानीकी ममीले हकारिन्, “छुच्ची केटी, तँलाई सबै कुराको खोजीनिधी चाहिन्छ ? थुपुक्क चुप्प लागेर नबसेर ...” “त्यसो होइन, बालबालिकाको स्वभाव जिज्ञासु हुन्छ । सोधेको कुरा बुझ्ने गरी बताइदिनुपर्छ । ल सुन, भान्जी ! त्यो सिसामा मैले घिउ ल्याएको हुँ ।” मामाले कुरा खोले ।
शिवानीले राम्रैसँग जान्न चाही, “मामा, कुराउनी त दूध पकाएर बन्छ । घिउ के पकाएर बन्छ नि ?” एकै वाक्य र एकै शब्दमा उत्तर नआउने खालको प्रश्न सोधेपछि शिवानीका मामाले भन्दै गए, “भान्जी, जसका  घरमा गाईभैँसीको दूध हुन्छ उसैकहाँ घिउ बन्छ । यसको तरिका अलि लामै हुन्छ । सुन्ने हो ?”
“हस् मामा, छिटो भन्नु न ! मलाई कस्तो जान्ने इच्छा लागिरहेको छ ।” शिवानी उत्तर सुन्न हतारिई । भान्जीको जिज्ञासा मेटाउन मामाले भन्न थाले, “घरमा खाएर बाँकी रहेको दूधलाई ठेकी वा अन्य भाँडामा राखिन्छ ... ” “ठेकी भनेको के नि ?” मामा सरासर उत्तर भन्दै जाने सुरमा थिए तर बिचैमा भान्जीले रोकेपछि उनले भने, “माटाको घैँटो, तामाको गाग्री भनेजस्तै काठबाट बनाइएको भाँडो ठेकी हो । कटहर वा दारको काठबाट ठेकी बनायो भने राम्रो हुन्छ भन्छन् । सुन है, ठेकीमा राखेको दूध एकै रातमा दही बनिसक्छ र बिहान वा बेलुकी दूध खन्याएर बनेको प्रत्येक साँझको दहीलाई एउटै ठेकीमा राखेर छिल्बिल्याइन्छ र त्यसमा मदानीको पोरा डुब्ने गरी पानी थप्नुपर्छ ।”
“मलाई त मदानी भनेकै थाहा छैन, मामा ! अनि पोरा डुबाउने भनेको के हो नि ? मैले त कुरा बुझ्दिनँ कि क्या हो, मामा !” शिवानीले जिज्ञासा राख्दा “बुझिन्छ, भान्जी !” भन्दै मामाले भन्दै गए, “मदानी भनेको ठेकीमा राखिएको दही मथ्ने साधन हो । सर्लक्क परेको केही लामो सुरिलो लठ्ठीजस्तो हुन्छ । यसमा एक छेउमा काठबाट बनेको पखेटाजस्तो साधन हुन्छ । त्यो भाग ठेकीभित्र पिँधमा पर्ने गरी राखिन्छ । ठेकीमा दही राखेपछि त्यसैलाई हेरेर पोरा डुबे–नडुबेको विचार गरिन्छ । त्यो पखेटा डुब्नु भनेकै पोरा डुब्नु हो । तर पोरा ठिक्क डुब्ने गरी मात्र डुबाउनु पर्छ । मदानीमा दस–बाह्र फन्का बेरेको डोरी वा नेतीको दुवैतिरको टुप्पो दुवै हातमा राखी घार्रघुर्र पारेर तान्दै गएपछि नौनी घिउ तैरिएर बस्छ । नौनी घिउ बन्यो कि बनेन भनेर हेर्न बेलाबेलामा मदानी थोरै उचालेर घुमाउनु पर्छ । वरिपरिको नौनी पोेरामा रिङ्गै घुमेर एकैै ठाउँमा थुप्रियोे भने नौनी तयार भएको भन्ने बुझ्नुपर्छ । अनि यही नौनी निकालेर तताएपछि मात्रैै घिउ बन्छ ।”
“ए, कुरा त्यसो पो रहेछ ! अझ देख्नै पाएको भए झन् राम्रोसँग छर्लङ्ग बुझिन्थ्यो होला, है मामा ? मामाको बेलिबिस्तार सुनेपछि शिवानीको चित्त त बुझ्यो तर उसलाई गाउँमै गएर प्रत्यक्ष हेर्ने रहर पनि लाग्यो । “ठिक भन्यौ भान्जी सुनेको भन्दा देखेको र देखेको भन्दा आफैले प्रयोग गरेको सिकाइबाट मानिसले छर्लङ्ग बुझ्न सक्छ ।” मामाले आफ्नो कुरा सक्न नपाउँदै उता भान्छा पनि तयार भइसकेको थियो । शिवानीकी ममीले भान्छाकोठाबाटै कराएको सुुनियो, “मामा–भान्जीको गफ अझै सकिएको छैन कि कसो ?” शिवानीका बाबाले भित्रै आएर भने, “जाऊँ त नि, हजुर ! भान्सा तयार भएजस्तो छ ।”
भान्सामा घरायसी कुराकानी चल्यो । जति कर लगाए पनि मामाले पर्सि जसरी पनि जानै पर्ने कुरा गरे । खाना खाइसकेर सुत्ने तरखर भयो । भोलिपल्ट बिहान शिवानी आफ्ना बाबा–ममीसँग भन्दै थिई, “मामाघरमा माइजू र भाइबहिनीलाई के कोसेली पठाइदिने नि ? हाम्रो घरमा त त्यस्तो केही बन्दैन क्यारे !”
“हाम्रो सल्लाह भइसकेको छ, तँ नकरा ।”
 शिवानीकी ममीले भनिन् । नभन्दैै बाबाले बेलुका एउटा पोको लिएर आए । शिवानीले बाबासँग सुटुक्क सोधी र मामाको हातमा  राखिदिँदै  भनिन्, “मामा दुई–चार दिन बसौँ  भनेको मान्नुुभएन । भोलि  जानेबित्तिकै माइजूू  र  भाइ–बहिनीलाई दिनुस्, है !”
मामाले यसोे पोेको खोलेर हेरे, गुँँदपाक रहेछ ।
     -भोर्लेटार, लमजुङ

No comments:

Post a Comment