पूर्णचन्द्र घिमिरे |
आमालाई पत्र
(छन्द : मन्दाक्रान्ता)
आमा तिम्रो सरल मुटुको स्नेह छोडेर आएँसाहूजीको ऋण तिरिदिने लक्ष्य राखेर आएँ
घोच्दै होला कटु वचनले साहुले नित्य आमा
नार्यो होला हल पनि कठै ! साग छर्ने गरामा ।।१।।
रोई रोई मलिन विचरी नित्य तिम्री बुहारी
भन्दै होली अब त पतिले ल्याउला भारी तारी
पापा नाना भनिकन सदा बाल-बच्चा रुँदा हुन्
आमा तिम्रा नयन दुइमा आँसु झर्ने व्यथा छन् ।।२।।
आँसी नाम्लो सँगिहरु तथा देश छोडेर आएँ
चौतारीका वर पिपलको वायु चीसो गुमाएँ
मीठो पानी चपल छहरा पन्छिको गीतलाई
ठाडो भाखा मधुर पिपिरी सम्झिएँ हाइहाई ।।३।।
छोडी जन्मस्थल पर गई धन् कमाएर ल्याऊँ
च्यातूँ सारा तमसुकहरु स्वच्छ भै खाऊँ लाऊँ
यस्तो राम्रो सरल सपना छातिमा राखि आएँ
के धन् जोर्थें जिउ पनि गल्यो काल व्यर्थै गुमाएँ ।।४।।
यस्तो लाग्यो अब त घरमा आज नै फर्कि जाऊँ
पोखूँ सारा रगत पसिना देशमा नै रमाऊँ
मेरै खोले अमृतसरिको साग सिस्नो मिठो छ
झुत्रो भोटो प्रियतम छ है देश मेरै ठुलो छ ।।५।।
https://lamjungmanang.com/?p=166
https://youtu.be/dZji722wIJ8
No comments:
Post a Comment