कविता म कवि हुन सकिनँ - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

कविता म कवि हुन सकिनँ


कविता     कवि हुन सकिनँ                   -रमेशचन्द्र घिमिरे

मैले काँधमा भाटा बोकेर
सकी नसकी हिँड्दै गरेको
मुस्किलले अडिएर मलाई
नमस्ते गर्दै गरेको चेलालाई भेटेँ
मेरो गुरुत्वले उसलाई
एक हातले अभिवादन फर्कायो
मैले उसको श्रमले पछ्याएको
गुरुभक्तिको आदर्शलाई बेवास्ता गरेँ
मलाई लाग्यो -
गुरुभक्तिको कष्टकर सम्मान बुझ्न नसक्ने मान्छे
कसरी कवि हुन सक्छु ?

मैले भिरको धरापमा अडिएर
एक हातले हाँगो समात्दै
अर्को हातले स्याउला काट्दै गरेको
किसानलाई भेटेँ
मुसुक्क हाँस्यो
उसको हाँसोमा मिसिएको आत्मीयतालाई मैले
खिल्ली सम्झिएर  उपहास गरेँ
मलाई लाग्यो -
परिश्रमको मूल्य चिन्न नसक्ने मान्छे
कसरी कवि हुन सक्छु ?

मैले मृत्युशैयामा परेर
निख्लो हाँसोसँगै छट्पटाइरहेको
बिरामी भेटेँ
मैले नबोलाए पनि उसले मलाई
चिरञ्जीवी भएस् भनेर आशीर्वाद दियो
निरुत्तर भएँ
आफ्नो मृत्यु पर्खेर अरुको जीवनको
कामना गर्ने रोगीलाई मैले
सन्चो-बिसन्चो सोधिनँ
स्नेहले सुम्सुम्याउने मलम दिइनँ
मलाई लाग्यो -
जीवनको अर्थ खोज्न नसक्ने मान्छे
कसरी कवि हुन सक्छु ?

मैले आफू दिनभरि काममा जोतिएर पनि
पतिलाई
एक थाल डाइना मकैले स्वागत गर्ने
श्रीमतीलाई भेटेँ
निरुद्देश्य समय खेर फाल्ने पति
मैले भोक नलागेको बहानामा
मकैको थाललाई पन्छाएँ
मलाई डाइना मकैसँगै गाँसिएको
निस्वार्थ पतिभक्ति मन परेन
मलाई लाग्यो -
नारीको आदर्श पतिभक्ति स्वीकार्न नसक्ने मान्छे
कसरी कवि हुन सक्छु ?

चेलाको सम्मान बुझ्न नसक्ने गुरु बन्न सकिनँ
किसानको आत्मीयता चिन्न नसक्ने श्रमपूजक बन्न सकिनँ
बिरामीको आँसु पुछ्न नसक्ने पीडाबोधक बन्न सकिनँ
पत्नीको आदर्श छाम्न नसक्ने योग्य पति बन्न सकिनँ
त्यसैले
कवि हुन सकिनँ

-       भोर्लेटार, लमजुङ
 





No comments:

Post a Comment