![]() |
| कवि शाश्वत पराजुली |
कवि शाश्वत पराजुलीका प्रतिनिधि बालकविताको विश्लेषण
![]() |
| समीक्षक रमेशचन्द्र घिमिरे |
कवि शाश्वत पराजुली छोटो आकारमा गहिरो भाव बोकेका बालकविता लेख्ने कवि हुन् । थोरै शब्दमा धेरै कुरा अटाउन उनी खप्पिस छन् । उनी बालपात्रलाई केन्द्रमा राख्दै उनीहरूका अनुभूतिलाई मसिन्याएर र उनीहरूका विचारलाई कदर गरेर लेख्न रमाउँछन् । बालबालिकालाई उनीहरूको नामले नबोलाएर भुराभुरी भनेकामा बालपात्र बनेका शाश्वत आफ्ना बालकवितामा चित्त दुखाउँछन् । उनका बालकवितामा बालबालिकामा हुने उच्च महत्त्वाकाङ्क्षी भाव देख्न सकिन्छ । सहरी परिवेशप्रतिको असन्तुष्टि र ग्रामीण जीवनप्रतिको मोहभाव समेत उनका कतिपय बालकवितामा पाइने प्रवृत्ति हुन् । बालचाहना र बालजिज्ञासालाई कल्पनाको लेप लगाएर बालककै बोलीमा कविता प्रस्तुत गर्नु उनको खुबी हो । शब्दचयनका कुशल शिल्पी शाश्वतका बालकवितालाई चिटिक्कसँग मिलेर आएको अन्त्यानुप्रासले लयगत आनन्द र साङ्गीतिक झङ्कार दिएको भान हुन्छ । बालअधिकारको सम्मान, बालश्रमको विरोध र बालभावनाको कदर उनका बालकवितामा कतै न कतै छिपेका पाइन्छन् । बालबालिकाले पढ्न नपाएकामा उनको हुनसम्मको चित्त दुखाइ भेटिन्छ । उनी अरुको अधीनमा रहेर बालबालिकाप्रति हुने बालश्रमको विरोध गर्छन् तर बालबालिका स्वयम् रमाएर सिर्जनशील बन्न कर्ममा होमिए भने त्यसको खुलेर समर्थन र प्रशंसा गर्छन् । मौका पाए भने बालबालिकाले पनि काम गर्न सक्छन् भन्दै बालबालिकामा हुने आत्मविश्वासको सबल प्रस्तुति उनका बालकवितामा पाइन्छ । नेपाली संस्कृति, रीतिरिवाज, धर्म–संस्कृति, चाडपर्व, परम्परा आदिलाई विषयवस्तु बनाएर लेखिने उनका कवितामा स्वदेशको गुनगान भएको पाइन्छ । बालमनोविज्ञानलाई राम्ररी बुझेका कवि पराजुलीले आफ्नो बाल्यकाललाई सम्झँदै कतै बेलुन उडाउँदा ह्ुने रमाइलाको स्मरण गरेका छन् भने कतै झमझम पानी परेका बेलामा हुने खुसी र दुःख दुवैको अनुभूति पनि गर्न भ्याएका छन् । उनका बालकवितामा कर्म गरे मात्र फल पाइन्छ भन्ने सन्देश दिँदै साना बालबालिकालाई जाँगरिलो बन्नुपर्ने र अल्छी हुन नहुने अप्रत्यक्ष सल्लाह पनि दिइएको पाइन्छ । वातावरण प्रदूषित हुँदै गएकामा दुखेसो गर्दै वातावरण संरक्षण गरी प्राकृतिक सौन्दर्यलाई जीवन्त राख्नुपर्ने कुरामा उनका कतिपय बालकविताहरूले सचेत गराएको देखिन्छ । पढ्नु लेख्नु बालबालिकाको कर्तव्य त हो तर कहिलेकाहीँ छुट्टीका बेला पढ्न–लेख्न नपर्दा पनि रमाइलै हुने खालको स्वतन्त्रताको अनुभूतिमा समेत उनका कविताका बालपात्रहरूले आनन्द मानेको देख्न सकिन्छ । समग्रमा भन्दा कल्पनाशीलता, सिर्जनशीलता, बालभावनाको कदर, बालचाहना र जिज्ञासाको स्वाभाविक प्रस्तुति, जन्मभूमिप्रतिको ममता, आञ्चलिकता, कर्मप्रतिको विश्वास, नैतिक चेतना, स्वदेशी संस्कृति र कलाको सम्मान, बालमनोविज्ञानको सफल र स्वाभाविक प्रस्तुति, प्रकृतिप्रेम, वातावरणीय संरक्षणप्रतिको चासो, बालबालिकाको खेलप्रतिको रुचि, बाल्यजीवनप्रतिको सुखद् अनुभूति, सौन्दर्यप्रेम, बालबालिकाले गर्ने स्वतन्त्रताको अनुभव आदि उनका बालकवितात्मक वैशिष्ट्य हुन् । यहाँ यिनै कवि शाश्वत पराजुलीका ‘लालमोहन रसभरी’ बालकविता सङ्ग्रहभित्रका ‘अनुहारको चित्र’, ‘आँप पाक्ने बेला’, ‘पानी प¥यो झमझम’ र ‘घुम्न जाऊँ गाउँघर’ गरी चारवटा बालकविताको समीक्षा र विश्लेषण गर्ने प्रयास गरिएको छः
१. अनुहारको चित्र
कवि
शाश्वत पराजुलीको ‘अनुहारको चित्र’ बालकविता
उनको ‘लालमोहन र रसभरी’ बालकविता
सङ्ग्रहमा सङ्कलित बाल मनोभावनामा आधारित बालकविता हो । यस बालकविताले बालबालिकामा
हुने सिर्जनात्मक प्रतिभालाई विषयवस्तु बनाएको छ । बालबालिकामा रहेको कलात्मक
खुबीको उजागर गर्नुपर्छ भन्ने सन्देश दिइएको यस बालकवितामा बालबालिकामा हुने चाहना
र जिज्ञासाको उद्बोधन गरिएको छ । नयाँ कुरा सिर्जनासँगै आत्मसन्तुष्टि हुन्छ भन्ने
कुराको सङ्केत र बालसुलभ कोमल भावनाको अभिव्यक्ति पनि कवितामा भेटिन्छ । कविताको
भावार्थ यस्तो छ:
चित्रकलामा
अभ्यास गर्दै गरेका एक बालपात्रले कागजमा खरायोको चित्र बनाएको छ । उसलाई आफूले
सिर्जना गरेको उक्त कलाप्रति अत्यन्तै गौरव छ । आँगनमा राखेर देखाउने कि खोरभित्र
राख्ने भन्ने द्विविधामा बालक परेको छ । आफ्नो सिर्जनामा मक्ख परेको बालकलाई उसले
बनाएको चित्र हेरेपछि बाबा खुसी होलान् भन्ने लागेको छ र त्यही खुसीमा बाबाले कलम
र रङ्ग पनि देलान् भनेर आशा गरेको छ । आज खरायोको चित्र बनाएको बालकलाई भोलि
बिरालाको चित्र बनाउने रहर छ र त्यो चित्र छानामा राख्ने कि कोठाभित्रै राख्ने
भन्नेमा बालक अलमल्ल परेको छ । उसले बनाएको चित्र देखेर भाइ लोभिएको छ र उसले दाजुसँग
चित्र बनाइदिन अनुरोध गरेको छ । चित्र कोर्न सिक्दै गरेको भाइको खासै ढङ्ग छैन; उसले
गाईको चित्र बनाउन खोज्दा घोडाको जस्तो चित्र बन्न पुग्छ भनेर बालपात्र बनेका
लेखकले यसमा रमरम हास्यको स्वाद पनि मिसाएका छन् । भाइले अनुहारको चित्र समेत
बनाइदिन बालपात्रका रूपमा कवितामा उपस्थित दाजुलार्ई आग्रह गरेको छ । भाइको इच्छा
पूरा गर्नका लागि कविले एक्लै कोठाभित्र रिसाएको अनुहारको चित्र बनाइदिऊँ कि भनेर
आफैलाई प्रश्न पनि गरेका छन् ।
यस बालकवितामा खरायो खोरमा र बिरालो छानामा
बस्ने कुराको जानकारी समेत कविले गराएका छन् भने बालबालिकाको मनमा नयाँ कुराको
सिर्जना गर्ने रहर हुन्छ पनि भनिएको छ । कविता यस्तो छः
कागजमा
कोरेको छु खरायोको चित्र
आँगनीमा देखाऊँ कि राखूँ खोरभित्र !
मेरो
चित्र हेरी–हेरी बाबा खुसी होलान्
कलमसँगै नयाँ–नयाँ रङ्ग किनी देलान्
भोलि पनि बनाउनेछु बिरालाको चित्र
छानामाथि चढाऊँ कि देखाऊँ कोठाभित्र
चित्र कोर्न सिकाइदेऊ भन्छ मेरो भाइ
उसले बनाउँदा हुन्छ घोडाजस्तो गाई
भन्छ फेरि कोरिदेऊ अनुहारको चित्र
बनाइदिऊँ कि रिसाएको एक्लै कोठाभित्र !
२. आँप पाक्ने बेला
कवि
शाश्वत पराजुलीको ‘आँप पाक्ने बेला’ बालकविता
उनको ‘लालमोहन र रसभरी’ बालकविता
सङ्ग्रहमा सङ्कलित परिश्रमको महत्त्वबोध गराइएको उत्कृष्ट बालकविता हो । यस
बालकवितामा बालबालिकालाई जाँगरिलो बन्न प्रेरणा दिइएको छ । जसले कर्म गर्छ त्यसको
फल पनि उसैले चाख्न पाउँछ भन्ने कुराको सङ्केत कवितामा गरिएको छ । मौसमअनुसारको फल
फल्ने जानकारी दिइएको यो बालकविता अत्यन्तै छोटो आकारको छ । कविताको भावार्थ यस्तो
छः
असारको
महिना आँप पाक्ने बेला हो । आँपको ठूलो रुखमुनि बालपात्र बनेका कवि र उनको समूह
एकै ठाउँमा भेला भएका छन् । उनीहरूमध्ये एक जना पात्र रुख चढेको छ, उसले
आँपको स्वादिलो गुदी खान पाएको छ । जो अल्छी छ उसले माथिबाट
फालेको बोक्रा मात्रै भेट्टाएको छ । रुख चढ्न नसके पनि भुइँमा बसेर झरेका आँप
बटुल्नेले कोयो चुस्न पाएको छ भने हात बाँधेर बस्ने महाअल्छी चाहिँ धुरुधुरु रोएको
छ । यसरी दुःख गर्न जान्यो भने परिश्रमको मीठो फल चाख्न पाइन्छ भन्ने सन्देशमूलक
आशयका साथ कविताको समापन गरिएको छ । कविता यस्तो छः
असारको
दिन
आँप पाक्ने बेला
ठूलै रुखमुनि
भयौँ सबै भेला
रुख चढ्ने को हो ?
त्यसले गुदी खायो
अल्छी गर्ने मुर्खले
बोक्रै मात्र पायो ।
भुइँको आँप बटुल्नेले
चुस्न पायो कोयो
हात बाँधी बस्ने त
धुरुधुरु रोयो ।
३. पानी पर्यो झमझम
‘पानी पर्यो झमझम’ बालकविता उनको ‘लालमोहन र रसभरी’ बालकविता सङ्ग्रहमा सङ्कलित बालमनोभावनामा आधारित प्रकृतिपरक बालकविता हो । वर्षायाममा पानी पर्दा रुझिने र भिजिने अनुभवसँगै त्यसले बालबालिकाको खेलमा समेत अवरोध पु¥याउने कुरा यसमा अभिव्यक्त भएको छ । कवितामा प्रकृति र मानव जीवनबिचको सम्बन्ध देखाइएको छ । मौसमी परिवर्तनले जसरी प्रकृतिलाई प्रभावित बनाएको छ मानिसलाई पनि उत्तिकै असर पु¥याएको सन्दर्भ कवितामा आएको छ । कविताको भावार्थ यस्तो छः
जब वर्षात् लाग्छ, पानी झमझम पर्न सुरु गर्छ । पानी परेपछि घरको छाना मात्र भिजेको छैन ‘म’ पात्रका रुपमा उपस्थित बालकको टोपी र नानासमेत भिजेको छ । पानी परेपछि रुख र पात भिजेका छन् अनि बालकका हात–खुट्टा र ज्यान पनि भिजेको छ । झमझम पानी परेपछि पानीका ससाना तलाउ पनि बन्छन् जसले गर्दा बालबालिकाले रमाएर खेल खेल्ने ठाउँलाई पनि प्रभावित पार्दछ । पानीमा रुझ्न भिज्न त एकछिन रमाइलै हुन्छ तर कहिले काहीँ बालबालिकाले खेल्ने ठाउँमा नै दह जमेपछि खेल पनि बन्द हुन्छ भन्दै प्रकृतिले निम्त्याउने जस्तोसुकै कुराको सहन गर्न सक्नुपर्दछ भन्ने कुराको सङ्केत कवितामा भएको देखिन्छ । बालबालिकाको खेलप्रतिको रुचि र खेल्न नपाउँदा हुने पीडाको सूक्ष्म अनुभूति गराइएको कविता यस्तो छः
पानी
पर्यो झमझम
भिज्यो
घरको छाना
हेर्दाहेर्दै
टोपी भिज्यो
भिज्यो
मेरो नाना
पानी
पर्यो झमझम
भिज्यो
रुख–पात
हेर्दाहेर्दै
जीउ भिज्यो
भिज्यो
खुट्टा–हात
पानी
पर्यो झमझम
बग्न
थाल्यो भेल
खेल्ने
ठाउँ दह जम्यो
बन्द
भयो खेल !
४. घुम्न जाऊँ गाउँघर
‘घुम्न जाऊँ गाउँघर’ बालकविता
उनको ‘लालमोहन र रसभरी’ बालकविता
सङ्ग्रहमा सङ्कलित ग्रामीण जीवन, संस्कृति, परिवेश
र प्रकृतिसँग सम्बद्ध लोकोन्मुख बालकविता हो । यस बालकवितामार्फत उनले यान्त्रिक
सभ्यतामा हराइरहेको वर्तमान सहरी परिवेशप्रति असन्तुष्टि जनाउन पुगेका छन् । यस
बालकवितामार्फत कवि प्रकृतितिर फर्कन, ग्रामीण
संस्कृतिमा रम्न–रमाउन तथा गाउँले बनेर त्यहाँका खोलानाला, वनजङ्गल
र पहरामा खेलेर आनन्द लिन चाहेका देखिन्छन् । कविताको भावार्थ यस्तो छः
सहरिया
परिवेशमा हुर्केकोे बालपात्रलाई गाउँको परिवेश बुझ्न मन लागेको छ । नाम सुनेका तर
देख्न नपाएका हलो जुवाको बारेमा बालकलाई चासो छ । हलो, जुवा
कस्तो हुन्छ अनि पानी भर्ने पधेँरा र कुवा कस्तो हुन्छ होला भन्ने उसलाई लागेको छ
। यिनै, यस्तै र अरु धेरै कुरा बुझ्न जिज्ञासु
बालपात्रलाई रहर छ । गाउँघरका खेतबारी र हराभरा फाँट हेर्ने धोको पनि बालपात्रका
मनमा रहेको छ । बालकलाई गाउँले संस्कृति, त्यहाँका
परम्परागत औजार मात्र होइन प्राकृतिक परिवेशमा स्वच्छन्द भएर खहरेको गीत सुन्न, झरनामा
भिज्न अनि रम्न– रमाउन पनि मन छ । कविता यस्तो छः




nice
ReplyDelete