दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ? - रचना चौतारी

Breaking

Powered By Blogger

January 16, 2022

दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ?

     दीपक समीप: स्रष्टा परिचय कि यार चर्चा ?

●     तिम्रा बारेमा यसरी औपचारिक कार्यक्रममा
लेखकः ईश्वरमणि अधिकारी
नबोलेको
नि धेरै भएछ- दीपक ।  सायद १६/१७ वर्षअघि तिम्रो गजल संग्रह भूगोलभित्र नकोरिएको देशलाई साक्षी राखेर बोलेको थिएँ, त्यसपछि तिम्रो एकल गजल वाचनमा बोलेको याद छ ।  बिचबिचमा एकाध पटक तिम्ले पुरस्कार या सम्मान ग्रहण गर्दा बोलें कि ।  तर जतिपल्ट बोले पनि तिम्रा बारेमा बोल्ने, लेख्ने या पढ्ने प्यास मेटिन्न ।  तिम्रा बारेमा नत्र परिचय नै भनेर  खासैबोल्नु पर्ने त के छ र ? यहां जो हुनुहुन्छ, वहाँहरू तिम्रा बारेमा मैलेभन्दा धेरै जानकार हुनुहुन्छ भन्ने मैले ठानेको छु र पनि आयोजक संस्थाको जिम्मा र आफ्नो प्यास मेट्ने कोसिस गर्ने छु । 
●     चालीसको दशकको अन्त्यतिर हुनुपर्छ,  युवामञ्च पनि पढिन्थ्यो ।  राशिफल, चुटकिला र पत्रमित्र स्तम्भ हेरिसकेपछि, मुक्तकको पालो आउँथ्यो।  त्यहाँ  लमजुङ ठेगाना उल्लेख गरेर दीपक समीप, रमेशचन्द्र घिमिरे, सरस्वती श्रेष्ठ सरूका मुक्तकहरू भेटिन्थे, ए लमजुङकै  रैछन् भनेर दोहोर्‍याएर पढिन्थ्यो । 
मुक्तककार दीपक समीप

●    साथीहरू धेरैले दीपकलाई दीपक दाइ भन्छन् ।  गजल/ मुक्तक  लेखन र प्रकाशनका हिसाबले मैले पनि दीपकलाई  दाइ नै भन्दा हुन्छ।  पहिले उसको लेखनलाई चिनेर र पछि यतै पोखरामा चिनेको हो मैले दीपकलाई ।  हुन त ठेगानामा हामी प्रायः लमजुङ्ग झुण्डाउछौ, त्यसो त २/४ पल्ट लमजुङका साहित्यिक कार्यक्रमहरूमा जान नभ्याएकोले मैले जस्तै उसले पनि ठेगानामा लम्जुङ नलेख है,  भन्ने प्रेमिल धम्की खाएका छौं, खासमा  लमजुङका साथीहरूको ।
●    दीपक मुक्तक लेख्छ, दीपक गजल लेख्छ, ऊ कथा लेख्छ, कविता लेख्छ। बेला बेला, समीक्षा र समालोचना पनि लेख्छ ।   मुक्तक उसको लेखनको जेठो विधा हो, तर ऊ जे लेख्छ, अत्यन्त जिम्मेवार भएर भएर लेख्छ, उसको लेखकीय स्पर्श सामर्थ्यको प्रशंसा गर्दा साथीको प्रशंसा गरेको आरोप झेल्नु पर्दैन भन्ने मेरो विश्वास छ।  मेरो जस्तै यहाँहरूको पनि त्यस्तै विश्वास छ र त सबैको उत्तिकै समिपमा छ दीपक ।  यसैले त उसलाई छिमल र अनुज पुस्ताहरूको माझ दीपक समिपबाट दीपक दाइ बनाएको छ । कहिले काहीं त म पनि झुक्किएर दीपक दाइ भन्छु, मज्जाले हाँस्छ ऊ !  हो यार हाँस्दा पनि दिल खोलेर हाँस्छ-दीपक । 
●     हाँस्नु, साथीहरू बीच रम्नु-रमाउनु उसको जीवनको सुन्दर पक्ष हो। दीपक, प्रकाश, जीवन र म अलिक बाक्लै भेटिन्थ्यौ, कुनैबेला।  समकालीन, अग्रज र अनुज पुस्ताका साथीहरूले रचनात्मक इर्श्या गर्ने खालको भेटघाट र बस उठ 'थ्यो र छ पनि।  भलै, अहिले समयले त्यो बसाइ अलिक पातलिएको छ ।  यिनीहरू भेटिएपछि, मलाई पक्कै त्यही कुरा सोध्छन् , अरू जे जे भने नि त्यो  कुरा त ज्यान जाला भन्दिन भनेर निस्किन्थ्यो रे, ऊ घरबाट ।  गफ गर्दै जाँदा दुइचार घण्टा नबित्दै, आफै मच्चिमच्ची भनि भ्याउथ्यो ऊ त्यही कुरा |  अनि बल्ल भन्थ्यो,ला यार  जे जे भन्दिन भनेको त्यो त भनिसकेछु |  यस्तै सहज र भरोसा योग्य मित्रताको माखेसाङ्ग्लोले बाँधिएका छौं हामी एक आपसमा । सायद त्यसैले यो स्रस्टा परिचय कम र यार चर्चा बढि हुनसक्छ, म सकभर सन्तुलित हुने कोसिसमा छु।
●     समता काव्य सन्ध्याका सुरुवाती दिनहरूमा पनि दीपक प्राय गजल- मुक्तक नै सुनाउथ्यो ।  पछि, ऊ गजल सन्ध्याको अध्यक्ष पनि भयो ।  दीपक नै अध्यक्ष भए पछि त गजल सन्ध्या पनि हाम्रै भयो नि है, एकदिन चिया पसलमा ऊ बेला पोखरेली युवा सांस्कृतिक परिवारका तत्कालिन अध्यक्ष गौतम बिजुक्छे ले भनेको सम्झें ।  सायद त्यही हाम्रो पनले बिस्तारै गजल सन्ध्याका कार्यक्रमहरूमा तानिएँ म पनि ।  भेटघाट र कार्यक्रमहरूको चापसंगै गजलका केही सैद्धान्तिक  कृतिहरू नि पढियो, गजल कै बारे नि बोलियो, लेखियो।  बिस्तारै, गजल पनि लेखिएछ, यौटा किताबलाई पुग्ने ।  साथीहरूले केही गजल गाए पनि, रिकर्ड पनि भए, किताबले थुप्रै चर्चा र पुरस्कार  पनि पायो ।  मान्छेहरूले कार्यक्रम हरूमा दीपकलाई जस्तै मेरै नामका अगाडि नि गजलकार भन्दिन्थे, म झुक्किन्थे।  अहिले पनि कसैले गजलकारको फुर्को झुण्ड्याउदा झस्किन्छु म।  मेरो यो गजलायात्राको खास सहयात्री हो गजलकार दीपक समिप ।  सायद उसले त अर्को किताबलाई पुग्ने गजल लेखेको होला, मलाई दीपक कवि या मुक्तककार भन्दा गजलकार नै बढ्ता लाग्छ । र संगै, यौटा सन्देह नि छ मनमा, ३० वर्ष अघिदेखि लेख्न थालेको मुक्तक को त बल्ल पहिलो किताब निकाल्दै छ, त्यै नि अघिल्लो किताब निस्केको झन्डै १८/२० वर्षपछि, यही ट्रेण्ड समात्यो भने अब यसको अर्को किताब  खै कहिले निस्केला ? हामी मध्ये कतिले  देख्न भ्याउछौं होला त्यो किताब ?  शंकै छ यार । 
 
●    बाबुः छोरा ! बाबालाई नमस्ते गर ल।  दुइ बर्षे छोराले बालसुलभ लजाउँदै दुइहात जोड्ने क्रममा उसको अनुहार पुर्लुक्क हेर्छु म।  म उनको छोरोभन्दा बढी लाजले रातो हुन्छु।  यो बाक्लो ज्याकेट नहुँदो हो त मुटुको हलचल सायद बाहिरसम्म प्रष्ट देखिदो हो … 
        बाबु तिम्रो नाम के हो ?     समिप प्रधान हो यसको नाम ।  
      यता, बिहे गरेको वर्ष दिनमै छोरो जन्मियो।  पण्डित बाजेले राशीको नाम राखे।  मैले    पनि राखेँ समिर।  तर उनलाई त्यो नाम चित्त बुझेन।  प्रशान्त राख्नु पर्छ छोराको नाम।  म नराम्रोसंग झस्कें । 

●    त्रासदी नाम दिएर फुटकर रूपमा प्रकाशित उनको लामो मनोवैज्ञानिक कथाको  फरक फरक अंश बोलेँ मैले ।  त्यसो त उनी लामा कथाहरूमा भन्दा नि छोटा छोटा लघु कथाहरूमा बढी सशक्त र प्रभावकारी देखिन्छन् ।  केही महिनाअघि, नयाँ किताबको पाण्डुलिपीमा काम गर्दै छु भन्थ्यो, मैले सोचें कथा संग्रह निकाल्दै रहेछ कि क्या हो । आखिर मुक्तक संग्रह निकालेर हाजिर जनायो । हामीसंगै हल्काफुल्का गीत/गजल लेखेर साहित्यको मेलो पसेका साथीहरू आख्यानकार भएर निस्किसके, मलाई तिम्रो लामो आख्यान पढ्ने धोको छ, दीपक ।
●    ऊ सानोमा पौडी खेलेको कुरा सुनाउँछ।  माछा मारेको कुरा पनि सुनाउँछ ।  अझ कहिले काहीं त अगेनामा ताप्के बसालेर खेतमा माछा छोप्न हिडेको कुरा पनि सुनाउँछ । ऊसँगै अक्षर यात्राहरूमा, संरक्षण कविता आन्दोलनहरूमा र अन्य थुप्रै कार्यक्रम तथा गतिविधिहरूमा लामो संगत गरेको म र म जस्ता अरू थुप्रै साथीभाइ भेटिंदा स्कुलको होस्टेल  बस्दाको चकचकदेखि पोखरा झरेर गरेका संघर्षका कुराहरू, कतिपय साथी-संगीसंग परेका मनमुटाव र  प्रेमिल लगावदेखि  हवाई पत्रिका निकाल्दा ताकाका रमाइला किस्साहरू पनि  सुनाउँछ।  संगै, यौटा टेलिफिल्ममा खलनायक भएर खेल्दा नायकलाई ख्यालख्याल कुट्नु पर्ने दृश्यको सुटिङ्गमा साञ्चै कुटेर घाइते बनाएको कुरा पनि सुनाउँछ ।  तर, झण्डा बोकेर झण्डा पछि पछि दौडेको, गुट उप गुटमा विभक्त भएको कुरा कहिल्यै सुनाउँदैन, भए पो सुनाओस् | तर मलाई ऊ,  विचार प्रजातान्त्रिक, लेखनले प्रगतिशील र स्वभावले समाजवादी लाग्छ ।  त्यसैले त प्रिय छ ऊ, तपाईहरुलाई पनि मलाई जस्तै ।  र समिपमा छ ऊ सबैको ।
 ●    कुनै बेला पोखरेली युवा सांस्कृतिक परिवार, गजल सन्ध्या पोखरा जस्ता संस्थाहरूमा   नेतृत्वदायी भूमिका रहेको दीपक अहिले पोखराका थुप्रै संघसंस्थाहरूमा विभिन्न भूमिकामा  छ ।  सोतीपसल लमजुङमा जन्मे हुर्केर, दुइ छोरा, आमा र श्रीमती संगै पोखरा मै बस्दै आएको ऊ, पोखरा औद्योगिक क्षेत्र भित्रै रहेको प्रतिष्ठित व्यापारिक घरानामा व्यवस्थापकीय भूमिकामा छ ।  दुइ दिदी मद्देकी एक दिदी,  सरस्वति श्रेष्ठ सरू उसकी जत्तिकै हाम्री पनि दिदी बनेकी छिन्, पोखरेली साहित्यिक वृत्तमा। दीपकका केही गीत/गजल रेकर्ड भएका छन् | धेरै ठाउँमा गजलका एकल तथा सामुहिक वाचन भैसकेका छन् | गजल वाचन मा राम्रै जम्ने गजलकारमा पर्छ ऊ |  दीपकले थुप्रै पुरस्कार र अभिनन्दन ग्रहण गरिसकेको छ। तर त्यसका पछि कहिल्यै दौडेको छैन ऊ। बोरु भन्छ, के गर्ने यार, ५  हजारको पुरस्कार थाप्न जाँदा उस्तै परे बीस हजार सकिन्छ । पद, पुरस्कार र नचाहिँदो प्रचार बाजीबाट टाढै छ, त्यो त मलाई नि ठिकै लाग्छ |
●    तर उसलाई सम्मान गर्नै पर्ने अर्को रोचक पक्ष छुटेको छ भन्ठान्छु म | त्यो हो, लेख्न र छाप्नप्रतिको उसको अल्छिपन | बोरू, सोसियल मिडियामा झुण्डेर बसिराख्छ, अन्तिम नपरी लेख्दैन । कतिपय अनूजहरूका किताब उसकै भूमिका समयमा नपाएर थन्किएका हुन् सक्छन् ।  उसको आफ्नै मुक्तक संग्रहमा पनि आमुखमा  मुक्तक सम्बन्धि यौटा लामो लेख राख्ने भनेको थिएँ मैले, जसले अनुज पुस्तालाई केही मार्ग निर्देश गरोस् | हुन्छ नि भन्थ्यो | सायद त्यसैले उसकै किताब आउन नि ढिला भयो  होला |  भन्न त  प्रकाशकले लामो नलेख भन्यो यार भन्छ होला, मैले सोद्दा । सोधेको त छैन | तर मलाई लाग्छ, पक्कै पनि लेख्न  झ्याउ लागेर यस्सो एक पेज लेखेको होला, भन्ठान्छु म ।  हुन त अरूलाई भन्न सजिलो छ,  किताब निकाल्न सारै सुस्ती उसको बानी मलाई मेरै बानी जस्तो पनि लाग्छ बेला बेला ।  जे होस्, ढिलै भए पनि राम्रो  किताब निस्क्यो |  नेपाली मुक्तकको  गौरवपूर्ण इतिहास बोकेको  सहर पोखरामा आज मुक्तकको अर्को यौटा सुन्दर र संग्रहणीय किताब निस्कंदै छ । सायद पोखरा नै नेपालको यौटा त्यस्तो सहर हो, जहाँ  किताब निस्कँदा किताबको स्रस्टाभन्दा पनि  साथीहरू बढ्ता खुसी हुन्छन् ।  आज दीपकभन्दा बढ्ता खुसी हुनेहरूको लामो लिष्ट छ |  म ठान्छु, उक्त लिस्टमा सबैभन्दा अगाडि म छु । तपाई पनि हुनहुन्छ ।  तपाइको, मेरो र हामी सबैको तर्फबाट  अनन्त बधाई तथा शुभकामना छ दीपक ।  अब अर्को किताब निकाल्न चाहिँ यति सारै अबेर नगर यार !

(२०७८-१०-०१  गतेका दिन मुक्तककार दीपक समीपको अक्षर अक्षरमा देश नामक मुक्तक सङ्ग्रहको विमोचनका अवसरमा स्रष्टा परिचय दिने क्रममा लेखक ईश्वरमणि अधिकारीद्वारा प्रस्तुत गरिएको  लिखित मन्तव्य)

 
 
 

No comments:

Post a Comment