New
लघुकथाः भ्रम
- रमेशचन्द्र घिमिरे
अङ्ग्रेजी माध्यममा पढाइ हुने निजी विद्यालयमा नेपाली पढाउने
शिक्षकका रूपमा जागिर पाउनासाथ किशोर खुसी भए । आफ्ना गुरुहरूले आफूलाई पढाउँदाको
शैलीको सिको गर्दै सकेसम्म अब्बल शिक्षकका रूपमा स्थापित हुने जमर्को उनले गरे ।
विद्यार्थीहरू उनीसँग निकै झ्याम्मिन्थे । पढाउँदा चुट्किला,
कविता, कथा कहाँनेर, कुन प्रसङ्गमा र कसरी भन्नुपर्छ उनलाई थाहा थियो । खाली
पिरियडमा, छोटो ब्रेकमा वा हाफ छुट्टीको समयमा पनि विद्यार्थीहरू उनीसँग गफ गर्न
रमाइलो मान्थे ।
'सर, हामीलाई भलिबल दिनुस् न !' हुँदा हुँदा विद्यार्थीहरू
भलिबल, फुटबल, चेस, क्यारेम बोर्ड माग्न पनि किशोर सरलाई नै सम्झन्थे । किशोर सर
मक्ख थिए । उनलाई लाग्यो, 'मेरो पढाउने शैली र व्यवहारबाट विद्यार्थीहरू मसँग निकै
प्रभावित छन् ।'
किशोर सरले स्टाफ मिटिङमा समेत सहभागी हुने पहिलो अनुभव प्राप्त
गरे । महिनाको अन्तिम दिनमा हुने उक्त स्टाफ मिटिङमा प्रिन्सिपल सर बडो सान दिँदै
र खुट्टा हल्लाउँदै बोल्दै थिए, 'जे होस् हाम्रो विद्यालयमा विद्यार्थीहरू इङ्लिस
मिडियममा बोल्ने प्राक्टिस गर्दैछन् । हामीसँग विद्यार्थीहरू झ्यास्स इङ्लिस बोल्न
डराउँछन् । अचेल मैले देखिरहेको छु - नेपाली बोल्नै पर्यो भने कि पाले दाइलाई
झिँज्याउँछन् कि नेपाली सरसँग लुट्पुटिन्छन् ।'
----------------------------
भोर्लेटार लमजुङ (२०८०/०८/१०)
No comments:
Post a Comment