कवि गोविन्दराज विनोदी र उनका प्रतिनिधि बालकविताहरूको विश्लेषण - समीक्षा - रचना चौतारी

Breaking

Powered By Blogger

July 24, 2021

कवि गोविन्दराज विनोदी र उनका प्रतिनिधि बालकविताहरूको विश्लेषण - समीक्षा

 कवि गोविन्दराज विनोदीका प्रतिनिधि बालकविताको विश्लेषण

कवि गोविन्दराज विनोदी

                                – समीक्षक रमेशचन्द्र घिमिरे

कास्की जिल्लाको रमणीय गाउँ रूपाकोटमा वि.सं. २०१० श्रावण २८ मा जन्मिएका र हाल गैँडाकोट, नवलपरासीलाई कर्मक्षेत्र बनाएर अघि बढिरहेका कवि गोविन्दराज विनोदी नेपाली साहित्यका विभिन्न विधाहरूमध्ये कविता विधाका अनवरत साधक हुन् । प्रौढसाहित्यतर्फ सशक्त छन्दकविका रूपमा स्थापित कवि गोविन्द विनोदीले कविता, गीत, गजल, खण्डकाव्यका अतिरिक्त बालसाहित्यतर्फ बालकविता वा बालगीतका क्षेत्रमा समेत कलम चलाएका छन् । बालमनोविज्ञान र बालमनोभावनाको मर्म बुझेर उनले कलात्मक र सुन्दर बालकवितात्मक कृतिहरू नेपाली साहित्यका फाँटमा सुम्पिएका छन् । उनी नेपाली साहित्यमा विनोदी, भृगु र गोरावि जस्ता नामबाट सुपरिचित छन् । कतिपयले त उनलाई सन्तकविको समेत उपाधि दिएका छन् । विभिन्न पुस्तक, पत्रपत्रिका, स्मारिका, स्मृतिग्रन्थ आदिको सम्पादन अनुभव बटुलेका कवि विनोदी दर्जनौँ सम्मान र पुरस्कारद्वारा सम्मानित भएका छन् । भाषा–साहित्य, सामाजिक सेवा, शिक्षण, पत्रकारिता, तालिम आदि मार्फत आफ्नो ज्ञान र कार्यक्षमता प्रदर्शन गर्ने विनोदीको बालसाहित्यिक लेखनतर्फको पाटो अझ महत्त्वपूर्ण छ । नेपाल बालसाहित्य समाजको आयोजनामा भएका विभिन्न कार्यक्रममा राष्ट्रियस्तरका बालसाहित्यसम्बन्धी कार्यपत्र पनि उनले प्रस्तुत गरिसकेका छन् । 

बालसाहित्यतर्फ ‘आँखाको नानी’ (बालकवितासङ्ग्रह), ‘नानीका गीत’ (बालगीतिकविता सङ्ग्रह) र ‘वनभोज’ (बालचित्रकविता) उनका उल्लेख्य प्रकाशित कृति हुन् भने ‘नानीका कविता’ (बालकवितासङ्ग्रह) र ‘नानीका गजल’ (बाल गजलसङ्ग्रह) प्रकाशनको पर्खाइमा छन् । उनका कतिपय बालकविताहरु आधारभूत तहका पाठ्यपुस्तकमा प्रकाशित पनि भएका छन् । प्रकृतिको सुकोमल वर्णन गर्दै कल्पनाको जलप लगाएर बालहृदय छाम्ने गरी स्वयम् बालक नै बनेर बालकविताको रचना गर्न सक्ने खुबी उनमा छ । बालपात्रलाई मन पर्ने बालोपयोगी सामग्री झोला, पुस्तक, कलम जस्ता विषय उनका बालकवितामा प्रयोग भएका पाइन्छन् । आफ्ना बालकवितामा बहिनी र भाइका दाजु बनेर उनले सम्बोधित पात्र बालकलाई बनाएका छन् र सम्बोधक पात्र पनि बालकै बनेर आफूलाई उभ्याएका छन् । उनका बालकवितामा कतै कतै नैतिक सन्देशको प्रस्तुति र अप्रत्यक्ष निर्देशन पनि पाइन्छ । प्रकृति, सौन्दर्य र कल्पनाको त्रिवेणी उनका कवितामा पाइने हुँदा उनी स्वच्छन्दतावादी भावधारामा आधारित बालकविताका सर्जक पनि बनेका छन् । 

उनी आफ्ना बालकवितामा कतै फूलको सौन्दर्यमा मक्ख परेका ह्ुन्छन् भने कतै प्राकृतिक जीवजन्तु र चराचुरुङ्गीको वर्णनमा पनि रमेका देखिन्छन् । उनी आफ्ना बालकविता मार्फत बालबालिकालाई सिर्जनशील हुन हौस्याउँछन् । प्रकृतिमा हुने आकाशगङ्गा, घामपानीको मनोरम दृश्यावली, हिमालचुली, जूनकिरी, कोइली चरी, पुतली, आकाश, तारा, बादलका ताँती, सयपत्री फूल, वसन्त ऋतुको मनोहारी वर्णन आदिको महिमागान गाइएको उनका बालकवितामा देख्न सकिन्छ । राष्ट्रप्रतिको वफादारी, अग्रज गुरुप्रतिको सम्मान, सत्यनिष्ठता, शैक्षिक चेतना, शान्तिको कामना जस्ता विषयले उनका बालकवितामा प्रवेश पाएका छन् । उनका बालकवितामा बालबोलीको प्रयोग गर्दै अग्रज प्रतिभाको सम्मान गरिएको पाइन्छ । उनी कतै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई साहिँला बाजेको नाम लिन्छन् त कतै कविशिरोमणि लेखनाथ पौड्याललाई दारीवाल कवि भनेर सम्झन भ्याउँछन् र ती कविहरूले गरेका साहित्यिक योगदानलाई रसिलो भाषामा उतार्छन् । पूर्ण अन्त्यानुप्रासको सफल प्रयोग हुनु, गति–यति–लयमा अनुशासन हुनु र भाका मिलाई–मिलाई गाउन सकिने नेपाली लोकलयको कर्णप्रिय प्रयोग गरिनु उनका बालकवितामा पाइने शैलीगत विशेषता हुन् । यहाँ यिनै कवि गोविन्दराज विनोदीका ‘इन्द्रिनी दिदी’, ‘सयपत्री रानी’ र ‘जूनको कचौरामा’ गरी तीन वटा बालकविताको विश्लेषणको प्रयास गरिएको छ । 

१. इन्द्रिनी दिदी–

चितवन वाङ्मय प्रतिष्ठानद्वारा वि.सं. २०५७ मा प्रकाशित उनको आँखाकी नानी बालकविता सङ्ग्रहमा इन्द्रिनी दिदी बालकविता सङ्गृहीत छ । प्राकृतिक सौन्दर्यको जीवन्त चित्रण गर्दै प्रकृतिको मानवीकरण गरिएको यस बालकवितामा प्रकृतिमा हुने घामपानी पर्दाको रमाइलो दृश्यको कलात्मक वर्णन गरिएको छ । १४ अक्षरे सबाई लोकलयमा संरचित यस बालकवितामा बालसुलभ कल्पना, बालोचित भाषा, बालोपयोगी सन्दर्भ र बालचाहनाको प्रयोग भएको पाइन्छ । कविताको भावार्थ यस्तो छः

पानी परिसकेर घाम लाग्दालाग्दै आकाशमा रङ्गीचङ्गी भएर झल्किने इन्द्रधनु देखेर बालबालिका रमाएको प्रसङ्ग अघि सार्दै यति धेरै रङ्ग बोकी ल्याउने इन्द्रिनीलाई ‘दिदी’ का रूपमा सम्बोधन गर्दै आफूसँग खेल्न आउनका लागि यसमा आग्रह गरिएको छ । साँच्चै इन्द्रिनी दिदीले यति धेरै रङ्ग कहाँबाट बटुलेर ल्याएकी होलिन् भन्ने जिज्ञासा राख्दै बगैँचाका रङ्गीचङ्गी पुतलीका छिरिबिरी पखेटाबाट बटुलेर ल्याएको हुन सक्ने शङ्का यसमा व्यक्त गरिएको छ । इन्द्रिनीको रङ्गीचङ्गी स्वरूप देखेर बालपात्र दङ्ग परेको यसमा  देखाइएको छ । इन्द्रिनी दिदीको स्वभाव अनौठै छ । उनी धनुजस्तै नुहेर कुप्रो परेर बसेकी छन् । त्यही पिठ्युँबाट नै उनले पानी पारेकी हुन् कि भन्ने कल्पना गरिएको इन्द्रिनीलाई बालक बनेका कविले अङ्ग–अङ्ग छुन खोजेको चाहना प्रकट गर्दै कविताको समापन गरिएको छ । कविता यस्तो छः


कहाँबाट बोकी ल्यायौ यति धेरै रङ्ग ?
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग

बगैँचाका रङ्गीचङ्गी फूलबाट हौ कि ? 
पुतलीको छिरिबिरी पङ्खबाट हो कि ?
तिम्रो रूप–रङ्ग देखी प¥यौँ हामी दङ्ग 
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग

धनुजस्तै नुही बस्ने कस्तो तिम्रो बानी ?
कुप्री पर्दै पिठ्युँबाट बर्साउँछ्यौ कि पानी ?
छुन मन लाग्छ किन तिम्रो अङ्ग–अङ्ग
आऊ न दिदी इन्द्रिनी खेल्न हामीसँग ।



२. सयपत्री रानी–

कवि विनोदीको ‘आँखाकी नानी’ बालकविता सङ्ग्रहमा ‘सयपत्री रानी’ बालकविता प्रकृतिचित्रणात्मक उत्कृष्ट बालगीतिकविता हो । प्राकृतिक सुन्दरताको महिमागान, पुष्पप्रेम, कल्पनाशीलता, कलात्मक र सयपत्री फूलको मनोरम वर्णन यस बालकविताका विशेषता हुन् । यस बालकवितामा कविले प्रकृतिको मानवीकरण गर्दै सयपत्री फूललाई प्रकृति सिँगार्ने रानीको उपमा दिएका छन् । १४ अक्षरे सबाई नेपाली लोकलयको ढाँचामा संरचित यो बालकविता सङ्क्षिप्त आयतनको छ । कविताको भावार्थ यस्तो छः

कविले यस बालकवितामा सयपत्री रानीलाई आँगनीमा ढकमक्क फुल्नका लागि बालबोलीमा लयालु आग्रह गरेका छन् । सयपत्री फूलको जिन्दगानी फुल्नका लागि बनेको हो । सयपत्री फूललै आफू हाँसेर अरुलाई पनि हाँस्न सिकाउने प्रेरणा र दुई दिनको जिन्दगीमा हाँसी–हाँसी बाँच्ने सल्लाह दिएको छ । सयपत्री फूलमा जिन्दगीका सुख–दुःखका अनुभवरूपी पत्रैपत्रहरू एकापसमा खप्टिएर बसेको कल्पना गर्दै मानिसले फूलले जसरी हाँस्न सके उसको चोला पनि शान्त, रसिलो र सफा हुन सक्ने सम्भावना व्यक्त गर्दै कविताको अन्त्य गरिएको छ । कविता यस्तो छः


फुल फुल आँगनीमा
सयपत्री रानी
फुल्नैलाई बनेको छ 
तिम्रो जिन्दगानी

आफू हाँसी अरुलाई
सिकाउँछ्यौ हाँस्न
दुई दिनको जिन्दगीमा 
हाँसी हाँसी बाँच्न

सुख दुःख बसेका छन् 
पत्रैपत्र बनी
त्यसैले त सयपत्री 
तिम्रो नाम पनि

तिमीजस्तै हाँस्न सके 
मानिसको चोला
कति शान्त, रसिलो र 
सफा हुन्थ्यो होला ?

३. जूनको कचौरामा–

कवि विनोदीको ‘जूनको कचौरामा’ बालकविता उनको ‘नानीका गीत’ नामक बालगीति कवितासङ्ग्रहमा सङ्कलित कल्पनाप्रधान र प्रकृतिपरक उत्कृष्ट बालकविता हो । बालमनोभावनाको राम्ररी विश्लेषण गरिएको यस बालकवितामा बालचाहना, बालमनोविज्ञान, बालकल्पना र बालबालिकाले गर्ने पौरखको सन्दर्भसमेत गाँसिएको छ । यो बालकविता १४ अक्षरे सबाई नेपाली लोकलयको ढाँचामा संरचित छ । कविताको भावार्थ यस्तो छः

जूनको कचौरामा पानी कसले पिउँछ होला भन्ने जिज्ञासा राख्दै राति–राति झल्किराख्ने चन्द्रमालाई कविले जूनको कचौराका रूपमा आरोपित गरेका छन् । कुनै अज्ञात बाल पात्रले जूनको कचौरालाई राम्ररी धान्न नसकेर हो या त्यसमा पानी जस्तै तरल कुनै कुरा राखेर राम्ररी पिउन नजानेर हो उसले पोखाएको हुन सक्ने बालपात्र बनेका लेखकले अड्कल काटेका छन् । कविले यसमा आकाशबाट भुइँमा झर्ने शीतका थोपालाई जूनको कचौरा छचल्किएर धर्तीमा झरेको कल्पना गरेका छन् र त्यसलाई तिर्खाएझैँ गरेर कसले पिउँछ होला भनेर प्रश्न गरेका छन् । यति राम्रो त्यो जुनेली कचौरा मैले पाएदेखि म त्यसमा अमृत राखेर पिउँथेँ वा आफ्नै पौरखले कमाएको मीठा कुरा चाख्दै पिउन पाउँथेँ भन्ने कल्पना गर्दै आफूले जूनलाई छुन नसकेको र आफू त्यति अग्लो हुन नसकेको असमर्थता व्यक्त गरेका छन् । जूनको कचौरा छुन र त्यही कचौरामा राखेर मीठो अमृतरूपी पानी पिउनका लागि आफू कहिले ठूलो हुन सकिएला भनेर बालपात्र बनेका कविले आफ्नी आमासँग गुनासो गर्दै कविताको अन्त्य गरिएको छ । कविता यस्तो छः

पानी कसले पिउँछ होला जूनको.कचौरामा 
राती राती झल्किराख्ने सुनको कचौरामा

राम्रोसँग प्युँन पनि नजानेर हो कि ?
साना हातले कचौरा त्यो नधानेर हो कि ?
आकाशको भुइँभरि थोपा थोपा छरी 
पानी कसले पिउँछ होला तिर्खाएझैँ गरी

पाएदेखि म त त्यसमा के के राखी पिउँथेँ
यति मीठो आफ्नै पौरख चाखी चाखी पिउँथेँ
के गर्नु र मैले त्यसलाई छुनै सक्या छैन 
म त आफै त्यति अग्लो हुनै सक्या छैन

कसो गरी ठूलो हुने भन्दिनोस् न आमा
पानी कसले पिउँछ होला जूनको कचौरामा ।


निष्कर्षः

चौध अक्षरे नेपाली सबाई लोकलयको प्रयोग गरिएका विवेच्य ३ बालकविताहरूमध्ये ‘इन्द्रिनी दिदी’ बालकवितामा कविले घामपानीको रमाइलाको दृश्यमा बालक रमाएको कल्पना गर्दै प्रकृतिको मानवीकरण र इन्द्रधनु पर्दाको रमाइलो क्षणको कलात्मक वर्णन गरेका छन् । ‘सयपत्री रानी’ बालकवितामा पनि प्रकृतिको मानवीकरण र सौन्दर्य वर्णन गर्दै सयपत्री फूललाई हेरेर मानिसले हाँसी–हाँसी बाँचेर आफ्नो दुई दिनको जिन्दगी धन्य र सार्थक बनाउनु पर्ने सल्लाह दिएका छन् भने ‘जूनको कचौरामा’ बालकवितामा बालबालिकाले जहिले पनि लक्ष्य उँचो लिनुपर्ने सन्देश दिँदै प्रकृतिप्रेम, कल्पनाशीलता र सौन्दर्यको महिमागान गाएका छन् ।

भोर्लेटार, लमजुङ

साभारः https://sahityapost.com/gair-aakhyan/gair-aakhyan-samicha/41317/





No comments:

Post a Comment