हजुरबाको बानी (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

हजुरबाको बानी (बालकविता)

हजुरबाको बानी   (बालकविता)

                     - रमेशचन्द्र घिमिरे

माया गर्ने, मीठो बोल्ने साह्रै राम्रो बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी

लगाएर ढाका टोपी सुर्बाल र दौरा
बजार जानुहुन्छ सधैँ टेकी बेतको लौरा
हजुरबालाई पछ्याउँदै म नि बजार लाग्छु
फकाउँछु र अलिकति पैसा पनि माग्छु
पैसा दिँदै भन्नुहुन्छ, `कापी किन्नू नानी
नचाहिँदो खर्च गर्ने गर्नुहुन्न बानी´
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी

चौतारामा बस्नुहुन्छ थकाइ मार्नुहुन्छ
मीठा-मीठा गफ झिकी छक्कै पार्नुहुन्छ
बुढा साथी बटुलेर `चाये´ ख्वाउनुहुन्छ
मासु पसल जानुन्छ र `सिखार´ ल्याउनुहुन्छ
हजुरबालाई मन पर्दैन सुर्ती `निसापानी´
`मार्चिस´ सल्काई `सिख्रेट´ खाने छैन त्यस्तो बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी

महाभारत पल्टाएर सिलोक घोक्नुहुन्छ
कतै जाँदा रामायणको किताब बोक्नुहुन्छ
अाफै कुटो समातेर बारी खन्नु हुन्छ
काम गर्दा कैल्यै स्यानो भइन्न भन्नु हुन्छ
परिअा´को काममा गर्नु हुन्न अानाकानी
यो उमेरमा´नि जाँगर झिक्ने अनौठो छ बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी।

बाअामालाई अह्राइपराइ गर्नुहुन्छ अझै
यसो गर्नू उसो गर्नू भन्नुहुन्छ सधैँ
बाले कैल्यै कुरा काट्नु हुन्न हजुर बाको
अामाले नि झर्कोफर्को छैन मान्नु भा´को
बस्नु भा´छ हजुर बुबा यत्रो घर धानी
सबैलाई रिझाउने अचम्मको बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी।

नयाँ कुरा देख्न, सुन्न, बुझ्न पाउँछु र त
छुट्टीको दिन हजुरबालाई पछ्याउँछु म त
नौलो ठाउँ घुम्न पाइन्छ बजार जान पाइन्छ
हजुरबाको पछि लाग्दा मिठाई खान पाइन्छ
यो संसारमा हजुर बार्झैँ छैनन् कोही दानी
काखा लिने, म्वाइँ खाने, चक्लेट बाँड्ने बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी ।

हाँसिराख्नुस्, बाँचिराख्नुस् हामी रुन दिन्नौँ
हजुरको मर्यादामा कमी हुन दिन्नौँ
हजुरले झैँ हामी पनि जाँगर झिक्न सक्छौँ
राम्रा कुरा हजुरबाट अझै सिक्न सक्छौँ
यो घरमा हजुरकै चलोस् मनोमानी
नत्र हामी कहाँ पाउँछौँ सिक्न यस्तो बानी
हजुरबुबा हुनुहुन्छ गुनैगुनको खानी।

              - भ‍ोर्लेटार, लमजुङ (२०७५/०५/१६)

No comments:

Post a Comment