नयाँ कुरा सुनियो (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 10, 2020

नयाँ कुरा सुनियो (बालकविता)

नयाँ कुरा सुनियो   (बालकविता)

         - रमेशचन्द्र घिमिरे 

के-के भोग्न परेको 
कस्तो हाम्रो जुनी यो
`कोभिड नाइन्टिन्´ भनेर
नयाँ कुरा सुनियो

बाहिर कतै ननिस्क
घरमा मात्रै बस है
लगाएर चुक्कुल
कोठाभित्र पस है
सर्कारले भनेसी
झ्याल ढोका थुनियो
`लक् डाउन´ भन्ने शब्द यो
आजै मात्र  सुनियो

महामारी फैलाउने
कोरोनाले सताउला
गर्नुहुन्न खेलाँची
धोका होला, अत्याउला
बाआमाले भनेको
कुरा मनमा गुनियो
`क्वारेन्टाइन´ भन्ने कुरा
भख्खर आज सुनियो

बाहिर गई आउँदा
साबुन र पानीले
सफा पारी सर्लक्क
हात धुनू नानीले
पाएदेखि झोल् दबाई
हातमा लाए हुनी हो
`स्यानिटाइजर´ भन्दा रै´छन्
बल्ल अहिले सुनियो

साथीभाइ आपसमा
हात मिलाउन छोडेर
गर बरू नमस्कार 
दुइटै हात जोडेर
टाढै बस्नु राम्रो छ
व्यर्थै किन छुनी हो
`मास्क´ लाउनु पर्ने कुरा
आज आ´र सुनियो

टाउको साह्रै दुखेमा
खोकी निकै लागेमा 
सास फेर्न गाह्रो भई
उच्च ज्वरो आएमा
कोरोनाले छुन्छ रे !
अब कति रुनी हो
जिन्दगीमा पहिलोचोटि
`आइसोलेसन´ सुनियो ।
      - भोर्लेटार, लमजुङ ।
     (२०७६/१२/१४)
https://m.youtube.com/watch?v=tHcKTGtTbdQ

No comments:

Post a Comment