देखासिकी : बालकविता

देखासिकी   (बालकविता)

रमेशचन्द्र घिमिरे
घुमाउँछु जाँतो र कुट्छु भन्छे ढिकी
सानी बहिनी आमाको गर्छे देखासिकी

‘यत्तिकै छु सिपालु कहिल्यै ठान्दिनँ म 
देखासिकी नगरी काम जान्दिनँ म’
यसो भन्न जानेकी सानी बहिनी मेरी
घरको काम सिक्दैछे आमालाई हेरी

चुरा पोते लाउँछे रे लाउँछु भन्छे टिकी 
सानी बहिनी माइजूको गर्छे देखासिकी

‘सारीचोलो लाउन ऐले हुँदैन र मैले ?
माइजू जस्तै ठूली म हुने होला कैले’
यसो भन्न जानेकी सानी बहिनी मेरी
राम्री हुन सिक्दैछे माइजूलाई हेरी

दराज खोली ऐना र किरिम पाउडर झिकी
सानी बहिनी दिदीको गर्छे देखासिकी

‘देखासिकी गरेर किरिम पाउडर लाइन्छ
नभन्दिनू नक्कली राम्री बन्न पाइन्छ’
यसो भन्न जानेकी सानी बहिनी मेरी
नक्कल पार्न सिक्दैछे दिदीलाई हेरी ।

भोर्लेटार, लमजुङ  २०७७/०४/२१

Post a Comment

2 Comments