मेरी आमा ! (बालकविता)
- रमेशचन्द्र घिमिरे
रित्तिएको कसौँडीलाई घोप्टो पारेर
कता हिँडिन् मेरी आमा माया मारेर
मेरो घरको चुलामा आगो बलेन
नबजारी पाखुरा पैसा फलेन
अन्न खोज्न गएकी आमा आइनन्
छोरो रुन्छ भनेर थाहा पाइनन्
साहुबाका मेलामा घन्टा गनेर
चामल किन्ने रुपियाँ पाइन्छ भनेर
काम गर्दै बिचरी आमा थाकिन् कि
कि त काम सकेर बाटो लागिन् कि
बाखरीले स्यानो मुने पाठाे पाएको
त्यो पाठाले आमाको दूध खाएको
त्यही हेर्छु अनि म चित्त बुझाउँछु
आँसु झार्छु बलिन्द्र आँखा रुझाउँछु
आमालाई नि मन थियो बच्चा भुलाउने
न्यानो काखमा राखेर बजार डुलाउने
गरिबीले गर्दा पो बाटो दिएन
नत्र एक्लै छोड्न मन पक्कै थिएन
भाग्यले नि किन हो यति लतार्यो
आज मलाई भोकले आन्द्रा बटार्यो
बाख्राले झैँ पेट् भर्न तिमीले सकिनौ
त्यही भएर मेलामा सँगै लगिनौ
आऊ छिटो साहुको मेला छोडेर
आगो फुक्न चुलामा सर्जाम जोडेर
भोको पेट छामेर कति कुरौँ, खै ?
जे-जे पाक्छ पकाई बाँडी खाउँला है ?
- मध्यनेपाल नगरपालिका -६,
भोर्लेटार, लमजुङ (२०७५/०६/१४)
April 16, 2020
New
मेरी आमा ! (बालकविता)
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment