एउटा मन छुने प्रेम कथा - रचना चौतारी

Breaking

Powered By Blogger

April 30, 2020

एउटा मन छुने प्रेम कथा

आकर्षण कि प्रेम  ? 
नानी बिबु
एक जना केटीले फेसबुकमा  'पिपुल यू मे नो' को लिस्टमा एकजना केटालाई देख्छे । को रहेछ भन्ने जिज्ञासाले उसको प्रोफाइल खोलेर हेर्छे । सुरुका लगातारका चार ओटा पोस्टहरु पढ्छे ।
ती पोस्टहरूले उसको मन निकै छुन्छ । उसका ती पोस्टबाट ऊ स्तब्ध हुन्छे । केटीको मनमा अनायासै त्यो केटा  प्रति माया उर्लेर आउँछ । फ्रेण्ड रिक्वेस्ट पठाउँछे । केटाले पनि एसेप्ट गर्न कत्ति बेर लगाउँदैन । त्यति छिट्टै रिक्वेस्ट एसेप्ट हुँदा केटी धेरै खुसी हुन्छे ।  केटीले ढिलो नगरी म्यासेज पठाउँछे । पहिलो म्यासेजको रिप्लाई रिक्वेस्ट एसेप्ट भए जस्तो छिटो हुँदैन । दोस्रो म्यासेजदेखि भने छिटो-छिटो रिप्लाई आउन थाल्छ । उसको मिठो बोली व्यवहारले केटी झन प्रभावित हुन्छे । 

कुराकानीको क्रममा एक दिन केटीले आफूले उसलाई मन पराएको र माया गरेको कुरा भन्छे । केटाले पत्याउँदैन अनि भन्छ -'हैन कहिल्यै नदेखेको नभेटेको नचिनेको मान्छेलाई कसरी मन पराउनु भो ? कसरी माया गर्नु भो ?" 
केटीले उसलाई मन पराउनुको कारण । उसलाई प्रभावित पारेका उसका बोली व्यवहार उसको व्यक्तित्व कला प्रतिभा उसको मन छोएका उसका ती पोस्टरू आदि सबै कुराहरू भन्छे । केटालाई विश्वास लाग्दैन । अनि भन्छ,
'मेरो कला र प्रतिभालाई मन पराउनुभयो धन्यवाद।  फेसबुमा म जस्ता जति पनि भेटिन्छन् । फेसबुकमा भेटिएका अपरिचितलाई म प्रेम गर्न सक्दिन ।' 
अरु जस्तो धोकेवाज थिइन त्यो केटी । ऊ साँच्चै उसलाई हृदयको गहिराइदेखि नै चोखो प्रेम गर्थी । केटाको यस्तो उत्तरले उसलाई निकै दु:खी बनाउँछ। 

 "म अरुजस्तो होइन हजुरलाई साँच्चै प्रेम गर्छु । फेसबुकमा भेटिएको भन्दैमा  केटीले नै पहिला प्रेम प्रस्ताव राखी भन्दैमा मलाई नराम्रो नजरले नहेर्नुहोस् । फेसबुक चलाउने सबै खराब हुँदैनन् । तपाई हामी जस्ता असल मान्छेले पनि चलाउँछन् । केटीको पनि त मन हो कसैलाई मन पराउन  माया गर्न पाउँदिन र ? आफूले मन पराउने माया गर्ने मान्छेलाई मन पराउँछु माया गर्छु भन्न पाइँदैन र ?  तपाईं धोका दिने बर्बाद पार्ने मेरो नियत होइन । म साच्चै प्रेम गर्छु । म कहिल्यै पनि तपाईंलाई पछुताउनु पर्ने र दुखी हुनु पर्ने ठाउँ राख्ने छैन  । कहिल्यै  मायाको अभाव महसुस हुन दिने छैन ।' यस्तै धेरै कुरा भन्दै उसले केटालाई सम्झाउन धेरै प्रयास गर्छे तर केटाले उसलाई र उसको चोखो मायालाई बुझ्न नै चाहन्न । अनि त्यो केटीको म्यासेज हेर्न र रिप्लाई गर्न पनि छोडिदिन्छ।

 केटी बारम्बार ऊसँग बोल्न खोज्छे आफूले साँचो प्रेम गरेको हो भन्ने कुरा बुझाउन खोज्छे तर केटाले सधैँ उसको म्यासेज बेवास्ता गरिदिन्छ ।  केटो बोल्दै नबोल्ने मेसेज सिन नै नगरिदिने गरेपछि केटी साह्रै दु:खी हुन्छे । आफ्नो चोखो मायालाई नबुझ्ने आफूलाई बेवास्ता गर्ने त्यो मान्छेलाई उसले पनि भुल्न  नखोजेकी होइन तर सकिन । जति कोसिस गरे पनि उसलाई भुल्न सक्दै सकिन । उसको मनमा भएको ऊप्रतिको माया कत्ति पनि घटेन ।  
सपनामा आउने ऊ  र एकान्तमा आउने उसका यादहरुले उसलाई  कहिल्यै भुल्न दिएनन् । 

अझै पनि ऊ उसलाई उस्त्तै माया गरिरहन्छे। उसैको यादमा तड्पिरहन्छे । अनि ऊ भने उस्तै बेवास्ता गरिरहन्छ । 
"कस्तो एकतर्फी प्रेम यो मेरो ? आखिर किन लाग्छ मलाई मात्र उसको यति धेरै माया ? एकान्तमा ऊ यसै भनेर रुन्छे । उसको प्रोफाइल खोल्छे । उसका पोस्टहरु हेर्छे फोटाहरु हेर्छे । त्यो क्षण उसको मुटु निकै गह्रौं भएर आउँछ । उसलाई निकै गाह्रो हुन्छ । अनि म्यासेज बक्समा जान्छे र लामो म्यासेज लेख्छे :
 'हे प्रिय ! 
 आकर्षण भनेक क्षणिक हुन्छ । यति लामो समयसम्म टिक्न सक्दैन । अनि  प्रेम अमर हुन्छ । जुनी जुनीसम्म पनि मर्दैन ।  यति कुरा बुझ्नु कि मेरो हजुरप्रतिको आकर्षण होइन साँचो प्रेम हो । यदि आकर्षक नै हुन्थ्यो  आफुलाई पूरै बेवास्ता गर्ने मान्छेको यादमा तद्पेर बस्दैन कोहि पनि।  तपाईंप्रतिको मेरो माया कसै गरे पनि मर्न सक्दैन । मेरो माया तपाईंलाई नै हो जुनी-जुनी सयौँ जुनीसम्मलाई पनि ' लेखिसकेर सेन्ड गर्न खोज्छे मुटु काँप्छ औँलाहरु थर्थराउँछन् । 'हेर्दै नहेर्ने निस्टुरी लाइ म्यासेज पठाएर के काम ?' भनेर पठाउन सक्दिन अनि दोहोर्‍याई तेहेर्‍याई आफै पढ्छे अनि फेरी एउटा एउटा अक्षर गेरर पूरै मेटाइदिन्छे ।   

 दुराडाँडा लमजुङ हाल गैंडाकोट नवलपुर ।

1 comment: