गाउँघरको दसैँ
गाउँघरको दसैँ
– रमेशचन्द्र घिमिरे
एक वर्षभरि हामी विभिन्न चाडपर्वहरू मनाएर रमाइलो गर्दछौँ । नयाँ वर्षदेखि सुरु भएर चैते दसैँमा गई समापन हुने चाडपर्वको शृङ्खलामध्ये प्रायः जसो पर्वहरू धार्मिक प्रयोजनसँग सम्बन्धित छन् । यी चाडपर्व मनाउनुका विभिन्न उद्देश्यहरू छन् ।
मूलतः धर्मकर्मसँग गाँसिएका चाडपर्वले धर्मसँगै संस्कृतिलाई हुर्काउँछ, संस्कृतिले सद्भाव जन्माउँछ, सद्भावले सामाजिकतालाई निम्त्याउँछ, सामाजिकताले एकतालाई समेट्छ र सामाजिक एकताले मनोरञ्जनलाई भित्र्याउँछ । यस्तै यस्तै मनोरञ्जनात्मक सबल पक्षले संस्कृतिलाई जोगाइराख्न पनि मद्दत पुर्याउँछ । त्यसै भएर चाडपर्व सँगसँगै जोडिने अर्को सकारात्मक र साझा पक्षका रूपमा मनोरञ्जन पनि रहेको छ । वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूमध्ये दसैँ चाड पनि एक हो । यो आलेख यसै दसैँ पर्वमा हुने सामाजिक एकता र मनोरञ्जनका पक्षमा केन्द्रित छ ।
मूलतः धर्मकर्मसँग गाँसिएका चाडपर्वले धर्मसँगै संस्कृतिलाई हुर्काउँछ, संस्कृतिले सद्भाव जन्माउँछ, सद्भावले सामाजिकतालाई निम्त्याउँछ, सामाजिकताले एकतालाई समेट्छ र सामाजिक एकताले मनोरञ्जनलाई भित्र्याउँछ । यस्तै यस्तै मनोरञ्जनात्मक सबल पक्षले संस्कृतिलाई जोगाइराख्न पनि मद्दत पुर्याउँछ । त्यसै भएर चाडपर्व सँगसँगै जोडिने अर्को सकारात्मक र साझा पक्षका रूपमा मनोरञ्जन पनि रहेको छ । वर्षभरि मनाइने विभिन्न चाडपर्वहरूमध्ये दसैँ चाड पनि एक हो । यो आलेख यसै दसैँ पर्वमा हुने सामाजिक एकता र मनोरञ्जनका पक्षमा केन्द्रित छ ।
मूलतः धर्मकर्मसँग गाँसिएका चाडपर्वले धर्मसँगै संस्कृतिलाई हुर्काउँछ, संस्कृतिले सद्भाव जन्माउँछ, सद्भावले सामाजिकतालाई निम्त्याउँछ, सामाजिकताले एकतालाई समेट्छ र सामाजिक एकताले मनोरञ्जनलाई भित्र्याउँछ । यस्तै यस्तै मनोरञ्जनात्मक सबल पक्षले संस्कृतिलाई जोगाइराख्न पनि मद्दत पुर्याउँछ ।
पौराणिक कथन अनुसार शुम्भ निशुम्भको बध भई देवता गणले विजय प्राप्त गरेको सन्दर्भमा दसैँ पर्व मनाउँदै आइएको भन्ने प्रचलित आहान छ । देवताले विजय प्राप्त गरेको दसौँ दिन अर्थात् विजया दशमीको अपभ्रंशित रूप नै दसैँ हो ।
दसैँ पर्वको उत्पत्ति हुनुमा धार्मिक सन्दर्भ गाँसिए पनि यो धार्मिक प्रयोजनसँग मात्र सम्बद्ध नभई ऐतिहासिक, सांस्कृतिक, सामाजिक र रमाइलो गर्ने चाडपर्व तथा पारिवारिक पुनर्मिलनको पर्वका रूपमा पनि सम्बन्धित छ । घर–आँगनमा दसैँ भित्रिनुअघि पुरुषहरू खसी खोज्न गाउँ–गाउँ डुल्ने, महिलाहरू रातो माटो र कमेराको खोजीमा जङ्गल पस्ने पूर्व सङ्केतमै सामाजिक पक्ष अन्तर्निहित हुन्छ । गाउँका तन्नेरी बुढापाकाहरू काँधमा छाता अड्काएर गाउँ–गाउँमा गई खसी छान्ने, मोलमोलाइ गर्ने एउटा रमाइलो पक्षले सामाजिकताको सङ्केत गर्दछ । खसी धनीले आफ्नो खसीको मूल्य दरो पार्न धेरै तौलको भनेर ठोकुवा गरे तापनि क्रेता समूह मध्येबाट धेरै तौल नभएको भन्दाभन्दै बिचमा गई कुरा मिलाउने, नजोखीकन अड्कलकै भरमा प्रचलित दरअनुसार खसी
किनबेच सम्पन्न हुँदै जान्छ । यसरी क्रेता समूहका सबै सदस्यका लागि खसीको बन्दोबस्त भइसकेपछि खसी डोहोर्याएर घर फर्कने क्रममा बाटोमा हेर्ने, तौल अड्कल्ने र मूल्य मिले नमिलेको अनुमान गर्नेको पनि रमाइलै भीड हुन्छ । फलानाले त खसी मिलाएर ल्याएछ, अलि चर्को मूल्य हालेछ जस्ता कुराहरू खसी घरमा भित्र्याएपछिका अन्य सामाजिक प्रसङ्ग हुन् ।
रातो माटो पोतेर र कमेरो छ्यापेर घरलाई च्याट्ट सफा पारी दसैँ आएको सङ्केत गराउन महिला दिदी–बहिनी, छोरी–बुहारी र आमाहरूको भूमिकामा पनि सामाजिकता छिपेको पाइन्छ । रातो माटो र कमेरो खोज्दा हाँस्दै, रमाउँदै र गफ गर्दै महिलाहरू एकजुट भएर डालो, बोरा, कुटो लिएर जाने गर्दछन् र फर्कंदा पनि गरुङ्गोपनलाई बिर्साउन रमाइलो गफ गर्दै मन हलुङ्गो पार्दछन् ।
जब घटस्थापनाको दिन आउँछ त्यसपछि घर–आँगनमा दसैँ भित्रिन थाल्दछ । त्यसपछि ढिकरी भएका घरमा सामूहिक रूपमा चिउरा कुट्ने अर्को सामाजिक प्रचलन छ । प्रायः महिलाहरूद्वारा गरिने यस कार्यका लागि बढीमा तीन रातसम्म तातो पानीमा भिजाइरहेका धानलाई सर्वप्रथम तैर्याउने काम गरिन्छ । तैरिसकेको उक्त धानलाई कुनै महिलाले हाँडीमा राखेर भुट्न थाल्दछन् । बढीमा दुईजना महिला ढिकीका पुछारमा उभिएर भर्खरै मात्र भुट्दा–भुट्दैको धानलाई कुट्ने गर्दछन् र एकथरि महिलाले घान लगाउँछन् र भुसैसहितको चिउरालाई नाङ्लामा खन्याई अर्काथरिले निफन्ने गर्दछन् । यसरी नेपाली पहाडी क्षेत्रको दसैँमा चिउरा कुट्ने कार्यमा पनि सामाजिकता देखिन्छ ।
रोटे पिङसँगै अर्को समूहले लिङ्गे पिङ पनि हाल्ने गर्दछन् । लिङ्गे पिङमा चारओटा साल वा बाँसका लिङ्गासहित डाँडी, लट्ठा र कात्रीको पनि आवश्यकता पर्दछ । रोटे पिङको तुलनामा यसको निर्माण प्रक्रिया सजिलो भए पनि सामूहिक एकताविना एक-दुई जनाको बलले यो पनि सम्भव देखिँदैन । फूलपातीको साँझसम्म तयार हुने पिङ निर्माणका लागि जुट्ने दाजुभाइको सम्मानका लागि अचेलका आमा समूह र विभिन्न महिला, दिदीबहिनीहरूले खाजा खुवाएर सम्मान गर्ने र सँगै रमाइलो नाचगान गर्ने चलन पनि छ । खाजाका लागि महिलाहरूले घरमा रोटी तरकारी खुवाउने गर्दछन् र साथमा इच्छाअनुसारका पेय पदार्थ पनि सेवन गर्दछन् तर सीमाभन्दा बढी सेवन गर्दा विकृति भित्रिने भएकाले खानपानमा अत्यन्तै सतर्क भएर सद्भावका साथ यो काम सम्पन्न गर्दछन् ।
महाअष्टमी पर्वमा खसी मारकाट गर्ने निकै पुरानो परम्परा रहिआएको छ । खसी मार हान्ने मान्छे सीमित हुने भएकाले कतिपय त घरघरै गई खसी मार हान्ने मान्छेको पछि लागेर पनि रमाइलो मान्दछन् । पहाडी क्षेत्रमा हुने नेवार जातिका गुठियारहरूले यस दिनमा सामूहिक रूपमै राँगाको बध गर्दछन् र आफ्ना बन्धुबान्धव एउटै थलोमा बसेर काटमारमा सहभागी हुने गर्दछन् । यसले सांस्कृतिक मात्र नभई सामाजिकताको पनि परिचय दिन्छ । नवमीमा हुने पूजा–अर्चना तथा रामायण पाठमा पनि सामाजिकता झल्कन्छ । यस्तै गरेर विजया दशमी अर्थात् बडा दसैँका दिनमा एकातिर पारिवारिक सदस्यहरूबिच टीकाटालो गरिन्छ भने घरमा टीका लगाइसकेपछि समाजकै ज्येष्ठ सदस्यसँग टीका, जमरा र आशीर्वाद ग्रहण गर्न पनि मानिसहरू लाम लाग्दछन् । “अर्को वर्ष बूढा केही भइहाल्छन् कि ?” भन्दै खासै नाता–सम्बन्ध नहुँदा–नहुँदै पनि ज्येष्ठ सदस्यका हातबाट टीका लगाउने उल्लेख्य सांस्कृतिक प्रचलन पनि दसैँको एउटा सकारात्मक सामाजिक पाटो हो । साथै टीका लगाउन जाने र टीका लगाएर फर्कनेको रमाइलो लस्कर पनि दसैँमा देखिन्छ ।अरु दिन जे भए पनि दसैँको दिनमा त धर्ती छोड्नुपर्छ भन्ने मान्यताले पुनः पिङमा झुम्ने परम्परा पनि छ । निधारभरि रातो अक्षता, टोपी वा कानमा पहेँला जमरा सिउरिएको बालबालिका युवायुवती र वृद्धबृद्धाहरूको रहरलाग्दो ताँती यतिखेर हेरिरहुँझैँ देखिन्छ ।
जिम्मेवार अभिभावकहरू छोराछोरीलाई मीठो मसिनो खुवाउन आँगनमा घोर्ले खसी बाँध्नु, जहान परिवारका सदस्यलाई राम्रा कपडा किनिदिएर चिरिच्याट्ट पार्न आफ्नो कर्तव्य सम्झन्छन् । ढोल बजाएर आउने दसैँले ऋण बोकाएर जाने चिन्ता मनको एउटा कुनामा हुँदाहुँदै पनि परिवारको खुसीमा चित्त बुझाउन यिनीहरू विवश हुन्छन् । दसैँमा हुने पारिवारिक पुनर्मिलन, धार्मिक सद्भाव, सांस्कृतिक जागरण सँगसँगै सामाजिक एकता जस्ता सकारात्मक पाटो हुँदाहुँदै पनि चाडको निहुँमा जाँड–रक्सी खाएर बिग्रने, पिङ खेल्न जाँदा लडाइँ–झगडा गर्ने, राम्रा कपडा किन्ने निहुँमा अनावश्यक खर्च गर्ने, समाजमा आफ्नो हैसियत उच्च राख्ने बहानामा अरुको भन्दा ठूलो खसी किनेर ल्याउनै पर्ने, आशीर्वादलाई भन्दा पनि दक्षिणालाई बढी जोड दिएर नचाहिँदो रूपमा खर्च गर्ने जस्ता सामाजिक विकृति पनि यसैमा मिसिन्छन् । यी विकृति भनेका कसैले कर लगाएर नभई आफैले रहर गरेर भित्रिने विकृति हुन् तर यत्रो दसैँजस्तो ठूलो चाडमा केटाकेटीको मन किन रुवाउनु भनेर खसी खोज्नै पर्ने, पैसा नहुँदानहुँदै पनि जहान छोराछोरीलाई चित्त बुझाउन राम्रा नसके पनि देख्नमा नयाँ कपडा किन्नै पर्ने, अन्तबाट टीका लगाउन आएका छोरी–चेलीलाई फुको हात नफर्काउन दक्षिणा दिनै पर्ने जस्ता विकृति बाध्यात्मक विकृति हुन् । कतिलाई त हदैसम्मको मितव्ययिताले पनि दसैँ धान्न गाह्रो–गाह्रो पर्दछ । समाजका निम्नवर्गीय सदस्यका लागि दसैँ यसरी अभिशाप जस्तो पनि बन्न पुगेको छ ।
यसरी दसैँ पर्वको सामाजिक सन्दर्भमा एकाध दुर्बल पक्ष देखिए पनि अधिकांश रूपमा सबल पक्ष नै देखिन्छ । घाँटी हेरी हाड निल्न जान्यो भने, झगडा गर्नुको साटो सामाजिक सद्भाव कायम राख्न सकियो भने अनि वस्त्र र आभूषण प्रदर्शनको सट्टामा प्रेम, सत्कार, माया र सद्भाव बाँड्न सकियो भने दसैँ दसा होइन दसैँ नै बन्न सक्छ । त्यसैले मितव्ययी बनौँ, खुसी भएर मनाऔँ अनि सांस्कृतिक संरक्षणमा एकजुट भएर लाग्न सकौँ । दसैँका अवसरमा हार्दिक शुभकामना !
– मध्यनेपाल नगरपालिका–६, भोर्लेटार लमजुङ