यसपालिको नयाँ वर्ष (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 12, 2020

यसपालिको नयाँ वर्ष (बालकविता)

यसपालिको नयाँ वर्ष 

       - रमेशचन्द्र घिमिरे

यौटा कुरा भन्दैछु म सुन्दिनु न, है ?
यसपालिको नयाँ वर्ष के मनाउनु खै ?


कोरोनाको डरले कुना पस्नुपर्ने भयो
आफ्नै घरमा एक्लै-एक्लै बस्नुपर्ने भयो
हिँड्न कतै नपाइने भो साथी साथी भई
यसपालिको नयाँ वर्ष के मनाउनु खै ?

भिड्भाडमा नजा‌ऊ भन्छन् भेला नहोऊ भन्छन्
तर्किएर बस भन्छन् हातले नछोऊ भन्छन्
काँ मिल्यो र डुल्न-घुम्न पोहोर-परारझैँ
यसपालिको नयाँ वर्ष के मनाउनु खै ?

नयाँ सालको रमाइलो फेरि मान्न पाइन्छ
अहिले भने घरमै बसी जे छ त्यही खाइन्छ
मनमा डर बोकी-बोकी आतङ्कमा रही
यसपालिको नयाँ वर्ष के मनाउनु खै ?
         - भोर्लेटार, लमजुङ
      (२०७६/१२/३०)
http://www.saranginews.com/kala-sahitya/3269