महेन्द्र थापाको मनोवाद - रचना चौतारी

Breaking

Powered By Blogger

April 16, 2020

महेन्द्र थापाको मनोवाद

दिदीलाई अन्माएर घर पठाउनुअघि..... (मनोवाद)

                 - महेन्द्रबहादुर थापा

स्थान : सानो झुपडी 
समय : राति १०ः०० बजे
पात्र : रामदास

(भोर्लेटारको मादीको किनारमा बालुवामाथि एउटा सानो झुपडी छ । त्यसभित्र एउटा टाँड, भित्तामा झुन्ड्याइएको जाल र अँगेना छन् । बत्ती बलेको छ र झुपडीमा मादीको चिसो सिरेटोले पनि हानेको छ । फुर्लुङमा आलो माछा र अँगेनाको भारमा सुकुटी माछा सुकाएर राखेको छ । त्यसको नजिकै बोतलमा आधा जति रक्सी छ । घरको ढोका खुलै छ । रातको समय हुनाले मादीबाट आएको सुरिलो सुसाइ पनि स्पष्ट सुनिन्छ । आकाशमा जून टहटह लागेको छ  । खोलामा बोटेहरू आफ्नो सुरमा बल्छी खेलेको र जाल हानेको झुपडीबाट स्पष्ट देखिन्छ । रामदास टाँडमा झोक्राएर बसेको छ । ऊ एक न्यूनवर्गीय युवक हो ।उसलाई गरिबीको मारले च्यापेको हुँदा साधारण शिक्षा पनि हासिल गर्न नपाई जाल र बल्छी खेली माछाको सिकार गर्न विवश भएको छ । न्यूनवर्गीय भए पनि संस्कृति र सभ्यता जोगाउन अनि हुर्केकी छोरीलाई घरमा राख्नुहुन्न भन्ने मान्यताले उसका बाबु–आमाले उसकी दिदीलाई बिहे गर्ने भनेका छन् र विवाह भोलि हुँदैछ । चार दिनदेखि आँटेको विवाह हुने भएपछि विभिन्न कुराहरू रामदासका मनमा खेल्दछन् । )

रामदास : भोलि दिदीको विवाह हुँदैछ । सारा इष्टमित्र, दाजुभाइ र दिदीबहिनीको बीचमा नाचगान गर्न कति रमाइलो हुनेछ । यतिखेर त हाम्रो बालुवामाथि ठडिएको, स्याउलाले छाएको र पातीले बारेको घर पनि स्वर्गको इन्द्र बस्ने दरबारभन्दा कम हुने छैन । (अँगेनामा आगो फुक्दै) । रमाइलो त हुन्छ तर आज यत्रो दिनसम्म दिदीभाइ मिलेर काम गरेको दिदीले दिने माया र उपदेश अब मैले कहाँ पाउँछु र ! (बालुवा हातमा लिँदै ) हामीजस्ता न्यूनवर्गीय , असभ्य र गरिब भनेर मेरी दिदीलाई भेनाले हेला गर्ने त होइनन् ? हुन त उहाँले हामीजस्ता गरिबको भलो गर्छु भनेर भन्नुहुन्थ्यो तर पनि कस्तो–कस्तो लाग्दछ । ( माछा सुकाउँदै ) हाम्री दिदी पनि कहाँ नराम्री छन् र ? शिक्षाको प्रकाश देख्न नपाए पनि अनुहार त पूर्णिमाको चन्द्रमा जस्तो छ । दिदी हुँदा त घरमा दिदीले गर्दथिन् , आमा बूढाबूढी काम गर्न नसक्ने, मैले दुवाली मारेर, बल्छी थापेर जाल हानेर घरको जीविकोपार्जन गर्न त सजिलो भएको थियो । भोलि दिदीलाई विवाह गरेर लगेपछि पर्सि मैले विवाह गर्नुपर्छ किनभने घरमा काम गर्ने मानिस कोही हुँदैन । जे भए पनि भोलि दिदीको विवाह हुँदैछ । (बल्छीको धागो पाटीमा बेर्दै ) भोलि रमाइलो हुनेछ । पञ्चैबाजा मेरो आँगनको बालुवामा घन्कने छ, मेरी दिदीको खुला सिउँदोमा इन्द्रेणीको शिरबन्दी आएर बस्नेछ र दिदीको जीवन पनि यस्तो बलौटे घरमा गुज्रने छैन, सिमन्टीको ढलान घरमा........... । ( जाल टाल्दै ) तर भोलिदेखि दुःख र कष्टको भेल मेरो जीवनमा आउने छ र दिदीको विवाहमा लागेको ऋण मेरो थाप्लोमा बज्रने छ । धत् ! मजस्तो दुःख–कष्टसँग जुध्नेले पनि त्यसो भन्ने हो ?(गिलासमा रक्सी हाल्दै) ऋण लागे पनि दिन नलागेपछि त बाढी छेक्ने र पहिरो रोक्ने यी हातहरूले कमाएर तिरिहाल्छु नि ! तर भोलिदेखि मेरो घरमा सुनिने सुरिला स्वरहरू फुत्केर पराइको घरमा गुन्जने छ । आखिर भेनाको घर पनि त आफ्नै घर हो नि ! (रक्सी पिउँदै) जे भए पनि विवाह भएर दिदी र भेना घरमा आउँदा मैले आशीर्वाद पाउँदा त मलाई कत्ति आनन्द आउँछ । (आँखा झुपडीबाट बाहिर जाँदा जून पनि अस्ताइसकेको हुन्छ ) अब त रात पनि धेरै गइसकेछ, सुत्छु । (टाँडमा जाल आढेर निदाउँछ । )
# [यी विद्यार्थी भाइले २०५९ सालमा ईशानेश्वर मावि, भोर्लेटारमा अध्ययनरत छँदा बुझाएको गृहकार्यबाट साभार गरिएको र `टरेली´ पत्रिकामा समेत प्रकाशन भइसकेको लेख]

No comments:

Post a Comment