खगेन्द्र गाैतमको कविता - रचना चौतारी

Breaking

Powered By Blogger

May 04, 2020

खगेन्द्र गाैतमको कविता

खगेन्द्र गाैतम
हाल : ओन्टारियो, क्यानेडा

कविता : कलम

यो न कुनै व्यङ्ग्य हो, न कुनै वाङ्मय
यो त केवल 
छरपस्ट शब्दहरूको थुप्रो मात्र हो ।
यी पङ्क्तिहरू पढिसक्दा
कविता  पनि पक्कै बन्दैनन्
किनकि यहाँ छन्द मिल्दैन

गीत भन्न खोज्दा पनि
कहीँ कतै लय नै पुग्दैन
त्यसैले म यसलाई शब्दहरूको
थुप्रो मात्र भन्न रुचाउँछु
यो एउटा वर्णमालाको कोसेली,
ती तमाम मजस्तै छन्दविहीन कविता
र लयविहीन गीतका रचनाकारहरूलाई !
यो कोसेली ,
तिनीहरूका लागि पक्कै होइन
जो काल्पनिकतामा हराउँदै यथार्थ भुल्दैछन्
यो कोसेली,
उनीहरूका लागि पनि पक्कै होइन
जो गजलका सेरहरूमा 
पीडा र वैराग्य मात्र बोल्दछन् ।
अक्षरहरू  जोडी शब्द बनेझैँ,
विगत र वर्तमान मिली भविष्य बन्दछ ।
त्यसैले हाम्रा रचनाहरूमा;
निराशाहरू होइन , आशाहरु बोलून्
कल्पना होइन , यथार्थ झुलून्
हामी र हाम्रो कलम समयसँग चल्न सकोस्,
निराशा र व्याकुलताभन्दा एक कदम
अघि गई यथार्थ र वास्तविकता लेखोस्
कहिलेकाहीँ रदिफ र काफिया नमिल्दा,
छन्दका नियम र भाकाहरू बिग्रँदा 
कैयन् सर्जकहरू
आफूमै सीमित छन्।
अब स्विकारिनु पर्छ स्वतन्त्र कलमहरूलाई,
स्विकारिनु पर्छ स्वतन्त्र विचारहरूलाई ।
तब त हुन्छ विकास !

@ khagendra gautam
Ontario, Canada.

1 comment:

  1. अति सुन्दर कविता यथार्थवादी पक्का सठीक र भाव युक्त । जय होस कलमको र रचनाको पनि ।।

    ReplyDelete