एउटी बृद्धा र म (कथा) : नानी बिबु - रचना चौतारी

Breaking

Powered By Blogger

May 18, 2020

एउटी बृद्धा र म (कथा) : नानी बिबु

एउटी बृद्धा र म   (कथा)

नानी बिबु
एकदिनको कुरा हो, भाइ, ममी र म तिनैजना कोठामा गफ गर्दै बसिरहेका थियौँ । अचानक बाहिर कोही बोलेको चर्को चर्को आवाज  मेरो कानमा ठोकियो ।
'अहो ! को हो ?' अचल रहेर कान ठाडा पार्दै बाहिर ध्यान दिएँ । सबैको ध्यान बाहिरको आवाजमा केन्द्रित भयो ।
बाहिरको त्यो चर्को आवाज 'किन्ने हो ?? किन्ने हो ??' तोते बोली अलिक अस्पष्ट  आवाज चिनेको जस्तो लाग्यो । 
 'ऊ हो के... ममी बोलाम् है ?' भन्दै भाइ ढोकातिर दगुर्‍यो ।
  'ह्या छोड्दे छोड्दे पर्दैन भो त्यही बुढी हो के, केही किन्नु छैन ।' ममी भो भो भन्दै हुनुहुन्थ्यो ।  'बोला बोला...' भन्दै म पनि ढोकास्मम पुगे ।
ढोकामा पुगेर हेर्दा बाटोमा तिनै कान नसुन्ने तोते बुढी रहिछन् ।  लेकाली जडिबुटीहरु बेच्न हिँडेकी एकल बृद्धा  जो धेरै पटक नै यता आइसकेकी थिइन् । हरेक पटक  यता आउँदा  मैले जेठिमधु  किन्थेँ । 
 भाइले ढोका खोलेर 'एता !  एता!'  भन्दै चिच्यायो, तर ती कान नसुन्ने बुढीले सुन्दै सुनिनन् ।
"किन्ने हो ?  किन्ने हो ? के चाहिया छ ?' भन्दै एउटा घरतिर लागिन् ।  त्यो घरकी बहिनी 'हैन हैन चाहिया छैन।' भन्दै हात हल्लाउँदै थिई ।  बिचरा बुढी 'हँ ! हँ! के चाहियो ? के चाहियो ? के किन्नी ?'  भन्दै गइन् ।
हामी हाँस्यौँ ।
  'नानी यता पठाइदे त !' भाइले  त्यो बहिनीलाई भन्यो ।
'उता किन्ने रे उता ' हामी तिर इसारा गर्दै बहिनी ले ती बुढीलाई हाम्रो घरतिर पठाइदिइन् ।
  आबाज तोते र अलि अस्पस्ट सुनिन्थ्यो । म कान सुन्दिनँ भन्दै हामीतिर आइन् । 
 'किन्नी हो ? किन्नी हो ?  कान थुन्दिन । म कान थुन्दिन । के ताइयो ?"
 किन्नु पर्ने त खासै केही थिएन। बृद्धाको तोते अस्पष्ट बोली हिँडाइ देखेर हाँसो उठ्यो । हामी हाँसेपछि  'हँ ! हँ!  म कान थुन्दिन  । के ताइयो ?' भन्दै नजिकै आइन् ।
'उफ्फ ! किन बोलाका होलान्  तेत्तिकै के किन्नी हो र तेसै भुलाइदिएर बिचरा ?' ममीले केही किन्ने चासो देखाउनुभएन ।
'हैन के ममी केही त किन्दिम्
' मैले हातले इसारा गर्दै बुढीलाई बस्न आग्रह गरेँ । बुढी बसेर आफ्नो सामानको पोको फुकाउन थालिन् ।
भाई- 'त्यो ऊ किनम् न त्यो के अरे ? तैले किन्थिस् नि काठ जस्तो मिठो हुनी के ।'
'जेठी मधु?'
 'हो, अँ जेठी मधु , जेठी मधु छ ??'
 बुढी तोते बोलीमा - 'देथिमधु ? देथिमधु थ थ‌।'
 बुढी  कपडाका पोका फुकाउँदै जडिबुटी चिनाउँदै बिज्ञापन गर्दै थिइन् । भाइ खुब चाख दिएर बुढीले ल्याएका जडिबुटी हेर्न थाल्यो ।
मलाई भने पहिले नै थाहा थियो बुढीसँग यस्ता जडिबुटी छन् भनेर ।  शिलाजित, ५ औँले, निर्मसी, यार्चागुम्बा हिङ जिम्मु ,जाइफल , जेठी मधु टिमुर , सिल्टिमुर, सिरेनुन ,बिरेनुन, हर्रो, बर्रो धुलो औषधीहरु यस्तै यस्तै थुप्रै जडिबुटीहरु ल्याउँथिन् ।
 यी बृद्धा अरुभन्दा फरक छिन् । समूहमा नहिँडेर एक्लै एक्लै हिड्ने गर्छिन् ।
 'घर कहाँ हो ?' भनी सोध्दा 'जहाँ बस्यो त्यहीँ हो'  भन्थिन् ।
'एक्लै हो ? साथी कता छन् त ?' भनी सोध्दा  'छैन । कोही पनि छैन मेरो।  म त एक्लै हो। म त सधैँ एक्लै हो ।' भन्थिन् ।
 उनको ब्यापार नीति पनि अरुको भन्दा फरक छ । आफूले ल्याएका अमूल्य जडिबुटीहरु  महङ्गोमा बेचेर मनग्य नाफा कमाऊ भन्ने उद्देश्य उनमा छैन । रोगी बिरामीहरु अनि जडिबुटी आवश्यक परेकाहरूलाई उनीहरूको आवश्यकता पुरा गरिदिनु नै उनको उद्देश्य  हो । उनी आफूसँगका अमुल्य जडिबुटीको सुहाउँदो मूल्य तोक्छिन् । कसैले 'मसँग त्यति पैसा नि छैन तर मलाई यो चाहिएको छ' भन्यो भने उसको आवश्यकता पुरा गरिदिन नाफा घाटाको कुनै पर्वाह नै नगरी जति छ त्यतिमा नै दिन्छिन् ।
 अघिल्लो पटक आउँदा म अलि बिरामी थिएँ । पुसको महिना थियो ‌। रुघाखोकी चिसोले समातेको थियो ।  'घाँटी दुखेको छ मेरो । नुन पानी तताएर खानु पर्‍यो । मलाई अलिकति सिरेनुन दिनु न । ' मैले भनेँ ।
 बुढीले '१० रुप्ये १० रुप्ये ' भन्दै एउटा कागजमा अलिअलि सिरे नुन पोको पारिन् ।
 'जेठी मधु छ ? मलाई जेठी मधु नि चाहिया छ ।'
'थ थ देथिमधु थ । यी  एउताको दथ रुप्ये हो ।'  बुढीले जेठी मधु पनि झिकिन् ।
'मलाई कस्तो पेट दुख्छ ग्यास्टिक भ´को छ के आमै, के खाने होला? पेट दुखेको औषधी छ ?'
'थ थ यी यो धुलो थ । चट्टै हुन्च तातो पानी साँ खा बिहान बिहान चट्टै हुन्च ।'
 ८,१० चम्चा धुलो कागजमा पोको पारिन् । '१० रुप्ये १० रुप्ये।' भन्दै थिइन् ।
'मेरो पेट त धेरै दुख्या छ के आमै, अल्लि धेरै राखिदिनु न धेरै दिन खान पर्‍यो ।' मैले अलि थपिदिन आग्रह गरेँ ।
'धेरै चाहियो ? धेरै चाहियो ? ल ल' भन्दै २ चम्चा धुलो फेरि थपिन् । 'ल ल पुग्च पुग्च चट्टै हुन्च । एती खा । बिहान बिहान खा है तातोपानी साँ ।' भन्दै दिइन् ।
मैले २० रुपैयाँ को नोट झिकेर दिएँ ।
' तिथ रुप्ये भो । तिथ । '
 'तिस हो ?'
 'हो ।'
'मसँग यत्ति छ । छैन नि तिस त । '
 'छैन ? छैन ? हो छैन ?'
'अहँ ! छैन यत्ति हो ।'
बिचरा मसँग छैन भनेपछि तिसको सामान बिसमा  खुरुक्क दिएर गएकी थिइन् ।
त्यति नै बेला एउटा दाइले 'यार्चागुम्बा छ ?' भनी सोधेका थिए । 'थ थ यार्चा थ' भन्दै यार्चा झिकिन् । 
 'कति हो ?' दाइले सोधे ।
'एउताको चार सय । '
'सयमा आउँदैन ?'
'आउँदेन आउँदेन चार सए हो चार सय '
'म सँग सय छ क्यार्नी त आउँछ होला'  दाइले बार्गेनिङ् गरे ।
 'आउँदैन , सय मात्रै छ ? आउँदैन सयमा आउँदैन । '
'ऐया कस्तो जिउ दुख्या छ ‌। बिरामी छु यार्चागुम्बा चाहिया´थ्यो  आफूसँग सय मत्रै छ ।' दाइले बिरामी भएको नाटक गरे।
 'चाहिया हो ? चाहिया हो ?' दाइको नाटकले बुढी भावुक भइन् । 'अरु छैन ? अरुसँग नि छैन ?'
 अरुसँग पैसा भए थपिदिए हुन्थ्यो भन्ने आशयले बुढीले त्यहाँका अरुसँग पैसा छ ? सोधिन् ।  सबैले छैन छैन  भनिदिए ।
सबैले छैन छैन भनेपछि 'सानो नि आउँदैन सयमा '  दाइले थपे ।  'सानो ?, सानो दिम् ?' बुढीले सानो एउटा छानेर दिएकी थिइन् ।   बुढी गएपछि हामी सबै हाँसेका थियौँ । त्यो बुढीलाई ठगेका थियौँ । पैसा भई भईकन पनि छैन छैन भनेर सस्तोमा छोडेर गई भन्दै बुढीलाई उडाएका थियौँ । हामीले ती बृद्धाको सोझो पनको फाइदा उठाएका थियौँ ।  जानीजानी हामीले उसको मालको मोल पनि दिएनौँ ।
 वास्तवमा ती बृद्धा सोझी होइनन् खुला र उदार हृदय भएकी  महिला हुन् । यस्ता मान्छेलाई पाए फाइदा उठाउन जो पनि तयार हुन्छन् ।
पक्कै पनि  यिनले हामीलाई जसरी नै अरु कतिलाई पनि सस्तोमा माल बेचेर हिँडेकी छन् ।
 हात पाउ बल छहुन्जेल यी बृद्धा जडिबुटी खोज्ने औषधि बनाउने यसरी नै बेच्ने बाँड्ने गरेर पेट पाल्छिन् ।  दिन बित्दै जान्छ उमेर ढल्दै जान्छ । बृद्धा झन् बृद्ध र अशक्त हुँदै जान्छिन् । साहारा दिने साथ दिने साथी कोही छैन ।  कुनै दिन जडिबुटी सङ्कलन गर्न हिँड्न नसक्ने अवस्था पनि आउला  त्यतिबेला यी बृद्धालाई हेर्ने कोही निक्लेलान् त ?
आफ्नो शरीरमा बल हुँदा कति बिरामीलाई सजिलै औषधि दिएर निको पारेकी यी‌ बृद्धा भोलि आफू अशक्त हुँदा उनको भोको पेट भरिदिने उनले कोहि भेटाउलिन् त ?
यी बृद्धालाई देख्दा मेरो मनमा यस्तै प्रश्नहरु खडा हुन्छन् ।

- लमजुङ हाल : गैंडाकोट ४ नवलपुर

8 comments: