थैली हाँस्याे मुसुक्क - रचना चौतारी

Breaking

Powered By Blogger

August 29, 2020

थैली हाँस्याे मुसुक्क

रमेशचन्द्र घिमिरे

थैली हाँस्यो मुसुक्क    (बालकविता)

चोलीबाट झिकेर
पैसा राख्न खुसुक्क
जुँगा तानिन् आमाले
थैली हाँस्यो मुसुक्क

धान बेची बज्यैले
दुईचार पैसा कमाइन्
फुर्के डोरी तानेर
पैसा राखिन् रमाइन्

पैसा राख्ने बेलामा
भाइ बस्यो टुसुक्क
जुँगा तान्यो भाइले
थैली हाँस्यो मुसुक्क

‘काँक्रो बेच्न लाने हो
आँखिबुट्टे डोकामा
कमाएर रुपियाँ
राख्छु यही पोकामा’

यसो भन्दै स्यान्दिदी
आइन् साँझमा लुसुक्क
जुँगा तानिन् दिदीले
थैली हाँस्यो मुसुक्क

घिउ दूध बेचेर
पैसा जुटाई यसैमा
नयाँ लुगा किन्ने रे
अब आउने दसैँमा

थन्क्याउनै बिर्सेछन्
झन्नै बाले भुसुक्क
जुँगा ताने बाबाले
थैली हाँस्यो मुसुक्क ।


–   भोर्लेटार, लमजुङ






No comments:

Post a Comment