हजुरबाको बर्थ डे (बालकविता)

बालकविता : हजुरबाको बर्थ डे 
रमेशचन्द्र घिमिरे

केके देख्न परेको हो
अहिले हाम्रा पालामा
सेतो किरिम दल्देछन्
हजुरबाका गालामा

फोन गरेर साथीभाइ सबैलाई जुटाउँदै
इस्प्रे छर्दै, झिरिर्र पार्टी पपर्स फुटाउँदै
केटाकेटी रमाएर इङ्लिस गीत गाएछन्
सोलीजस्तो चुच्चे टोपी हजुरबाले लाएछन्

केटाकेटी मिलेर यस्तो मौका छोपेका
नाङ्लो जत्रो केक मगाई मैनबत्ती रोपेका
दियो बाल्ने हजुरबालाई कम्ती आपत् परेन
निभाउँदा मैनबत्ती धन्नै आँसु झरेन

बुढेसकालका हजुरबालाई लट्ठी दिँदै उपहार
मोबाइलमा सेल्फी लिँदै गरे सबले नमस्कार
बाआमा नि रमाए केटाकेटी रमाए
खुसी हुँदै हजुरबाको  ‘ह्याप्पी बर्थ डेमनाए ।

भोर्लेटारलमजुङ  (२०७७/०५/१९)

Post a Comment

0 Comments