बालकविताः भाँडा माझिन् रानीले ! - रचना चौतारी

Breaking

Powered By Blogger

August 13, 2021

बालकविताः भाँडा माझिन् रानीले !

रमेशचन्द्र घिमिरे
भाँडा माझिन् रानीले (बालकविता)

सुन्दा पनि अचम्म
के-के भन्छिन् नानीले ?
सफा पारी सर्लक्क
भाँडा माझिन् रानीले !
को रानी हुन् कस्ती छन्
बस्छिन् कुन ठाउँमा ?
यिनको दर्बार कहाँ होला
सहरमा कि गाउँमा ?
रानी हुन पाएकी
यिनको आफ्नै बानीले
मस्काएर मसक्क
भाँडा माझिन् रानीले !
`दाउरामुनि कोइला छ
कोइलामुनि यिनी छन्´
यसो भनेपछि पो
सूचनाले चिनिछन्
हत्केलामा राखेर
मिसाएर पानीले
घोटी-घोटी चम्काइन्
भाँडा माझिन् रानीले !
हाँस्दै भनिन् बज्यैले
हल्लाएर बुलाकी
'यी रानी हुन् खरानी
अगेना र चुलाकी'
बल्ल कुरो बुझेर
हल्ला गरिन् सानीले
`टल्काएर टलक्क
भाँडा माझिन् रानीले !´
••••••••
- भोर्लेटार, लमजुङ
मितिः २०७८/०४/२९
भिडियो हेर्न यसमा जानुहोस्ः

8 comments:

  1. आहा साह्रै राम्रो । कस्तो गज्जब सस्पेन्स । रमेश सरको कविताको मिठास यो हो । गायन पनि कति मीठो राधा जी को ।

    ReplyDelete
  2. आहा सुन्दर

    ReplyDelete