लघुकथा: दसैँको टीका - रचना चौतारी

Breaking

Powered By Blogger

September 13, 2023

लघुकथा: दसैँको टीका

दसैँको टीका (लघुकथा)

     - रमेशचन्द्र घिमिरे

बा-आमाले दुःखजिलो गरेर छोराहरूलाई पढाए । छोराहरूले प्रगति गर्दै गए, शहरमा घर बनाए । बा-आमालाई शहरमै बोलाए तर मानेनन् । `गाउँको घर छोड्न बा-आमाको मन किन मान्थ्यो त नि !´ छोराहरूले कर गर्न सकेनन् । बा-आमाप्रति सबै छोराहरूको उत्तिकै श्रद्धा थियो । बेला-बेलामा गाउँ आइरहन्थे । मिठामिठा खानेकुरा र राम्राराम्रा कपडा लिएर पालैपालो आउँथे । बुहारीहरू त झन् सासू-ससुराप्रति हुरुक्क हुन्थे, नातिनातिनाहरू पनि हजुरबा-हजुरआमा भनेपछि अझै भुतुक्क हुन्थे ।

दसैँको बेला ढिलोमा फूलपातीको अघिल्लो रातमा सबै भेला भइसक्थे । भोलिपल्ट आँगनका दुई छेउमा दाजुभाइ पिङ हाल्न कस्सिन्थे । गाउँकै घरमा लिङ्गे पिङ र घुर्रे पिङ खेल्न पाउँदा नाति-नातिनीहरू खुब रमाउँथे । हजुरबाले पिङ नहल्लाइदिएसम्म नाति-नातिनीहरूको मन मान्दैनथ्यो । बुढाले सबै केटाकेटीको मन राख्थे ।

शहरमा हुने चोरी, घर कुर्नुपर्ने बाध्यता जस्ता कारण देखाएर बिस्तार-बिस्तार छोराहरू दसैँको टीकाको दिनमा मात्रै आउन थाले । त्यसो हुँदा बुहारी, नाति वा नातिनी कोही न कोही छुट्थे ।

छोराहरू व्यस्त हुँदै गए, बा-आमा बुढा हुँदै गए । अब दसैँमा गाउँमा खसी खोज्नुपरेन, मार हान्नु परेन, आँगनीमा पिङ हाल्ने झन्झट बेसाउनु परेन, जमरा राख्नुपरेन, फुलेका तितेपाती काटेर ल्याउनु परेन । नैबेतका लागि केराको घरी काटेर भकारीमा पकाउन हाल्नुपरेन । गाउँमा टिक‌ै नलगाउने भएपछि रातो माटो र कमेराले घर सिँगार्न पनि परेन ।

`सबैलाई किन दुःख दिनु र ! हामी बुढाबुढी नै शहर गएपछि टन्टै खलाँस !´ छोराहरूलाई दसैँको टीका लगाइदिन अचेल वृद्ध बा-आमा नै शहर जान थालेका छन् ।

*****************************

२०८०/०५/२८
भोर्लेटार, लमजुङ  

No comments:

Post a Comment