कुहिरो : बालकविता - रचना चौतारी

Breaking

Powered By Blogger

December 29, 2022

कुहिरो : बालकविता

 कुहिरो (बालकविता)

रमेशचन्द्र घिमिरे

झ्याङ्कट पोली उडेको धुवाँ जस्तै छ यो
झट्ट हेर्दा कपासको रुवा जस्तै छ यो


रुवा भई के गर्नु र न्यानो छैन रत्ति
यस्तो चिसो रुवा मलाई मन पर्दैन कत्ति
अचम्म छ फिँजैफिँजको कुवा जस्तै छ यो
विना आगो उडिरहने धुवाँ जस्तै छ यो


जब आकाश उघ्रिएर घाम लाग्न थाल्छ
लाज मान्दै हावासँग सँगै भाग्न थाल्छ
पारि वनको सिमलुको भुवा जस्तै छ यो 
तातो होइन चिसो चिसो धुवाँ जस्तै छ यो


तल पानी माथि–माथि बाफ उडे  जस्तै
कहिले त्यहीँ अडे जस्तै कहिले कुदे जस्तै
बेसार राख्न बिर्सिएको पुवा जस्तै छ यो
लौ न साथी कुहिरो त धुवाँ जस्तै छ यो ।

-----------------------------------------------

तस्बिर स्रोत : Google



No comments:

Post a Comment