कविता शुभकामना, नयाँ वर्षको ! - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

कविता शुभकामना, नयाँ वर्षको !


कविता 
            शुभकामनानयाँ वर्षको !

                        -रमेशचन्द्र घिमिरे



माटो पुरानै हो
भूमिगत माटो
यता खनिन्छ,
खाल्टो बन्छ
उता भरिन्छ
एवम् क्रम
ढुङ्गा हालिन्छ खाल्टोमा
ढुङ्गा पुरानै हो
जग पुरिन्छ सिकर्मीको पौरखले
गारोको आकार दिन्छ
सिमन्टीमा घोलिन आउँछन्
गिटी बालुवाहरू
मेरो जिन्दगीमा घोलिन आएका
आँसुका ढिक्का जसरी
त्यहाँ मिसिन आउँछन्
श्रम पोख्नेका पसिना
भिजिन आउँछन् तिनैका रगत
प्रविधिले नयाँ बनाएको सिमन्टीमा
गिटी, बालुवा सबै पुराना
कुटिएको गिटी
सोरिएका बालुवा
पुरानै पुराना कुराहरू बटुलिएर
अनि, केवल
सिमन्टीमा मुछिएर
रङहरूमा चोबलिएर
मेरो नयाँ घरले आकार लिएको
ठीक त्यसरी नै
क्यालेन्डरका रङ्गीन पानामा सजिएर
नयाँ वर्ष आएको
देश पुरानै भए पनि/
भेष पुरानै भए पनि/
रीतिथिति व्यथा बिमार
जम्मै पुरानै भए पनि
धुवाँले पोतिएको कालो पर्दा
छोपे जसरी अनि
पुरानो घाउलाई नयाँ मलमले
सन्चो बनाउन खोजेजस्तो गरी
पुरानो क्यालेन्डर विस्थापित भएको
भित्ताको साइज फेर्न
नयाँ क्यालेन्डर टाँगिएको
घरको नयाँ भित्तामा
नयाँ क्यालेन्डर हेर्दै
मनभरि पुराना वेदना सँगालेर
पुराना घाउहरू सुम्सुम्याएर
तिमीलाई दिन खोज्र्दैछु -
शुभकामना, नयाँ वर्षको !
            भोर्लेटार, लमजुङ

No comments:

Post a Comment