उत्तरदायित्व कविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 11, 2020

उत्तरदायित्व कविता


कविता    उत्तरदायित्व

                                    रमेशचन्द्र घिमिरे


तिमी छ्यौ, छु
हाम्रा धेरै सपनाहरू छन्
धेरै सम्भावना आशाहरू छन्
हाम्रा अगाडि
वेदनाको घाउ सन्चो पार्ने
कर्तव्यका मलम छैनन्
हृदय पगाल्ने आत्मीयता
भावुकताका ओखती छैनन्
सेतै फुलेका कपाललाई
ममताको स्पर्शले बाटेका डोरी छैनन्
चाउरिएका गालामा
स्नेहले सुम्सुम्याउने हात छैनन्
हामीसँग
अतीतको स्मृति
आँसुसँग साट्दै रुनुपरेको
हिजोका रमाइला दिनको
स्वप्निल सम्झना
वर्तमानको तीतो यथार्थ
आँसुका थाङ्नामा पसारिनु परे पनि
आगत पन्छाएर खोज्दै गरेको
विगतको कल्पना
अनि भने एउटा
तिमीले एकोहोरो हेरिरहेको
विगत बिर्सिएर भविष्य चियाउँदै गरेको
ऐना
ऐनासँगै सम्झनाको पर्खाल
पर्खालमा सन्तानहरू छेकिएका छन्
त्यसको बिम्ब आफैँतिर फर्किएको
त्यो प्रतिबिम्बमा
तिमी छ्यौ, छु अनि
निख्रिइसकेको जवानी
हाम्रो बुढ्यौली प्रेम
हाम्रो प्रेमले
शारीरिक मायाको फड्को नाघेर
स्नेहको सगरमाथाको उचाइ नाप्दै
अनि बुढेसकालमा पनि
कर्तव्य, आत्मीयता हार्दिकताको
जुनेली प्रकाशमा रम्न खोज्दै
हिजोको बैँसालु प्रेम
जीवनको उत्तरार्धमा आएर
उत्तरदायित्वमा अनुवाद भएको
यतिखेर
तिमीसँग ममताको भरोसा
मसँग स्नेहको आधार
किनभने
हाम्रो दारिद्रयलाई
खुच्चिङ गर्ने सन्तानहरू यतिबेला
सहरी सभ्यतामा हराएका छन्
हामी एक्लो जीवन बाँचिरहेका छौँ

                                    -भोर्लेटार, लमजुङ

नागरिक दैनिक २०७५-१२-१५ मा प्रकाशित


No comments:

Post a Comment