कथाकार नानी बिबुको लघुकथा - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

कथाकार नानी बिबुको लघुकथा

मलाई हेर्नु छ  (लघुकथा)

                   - नानी  बिबु

तिस वर्ष लामो अवधि सरकारी सेवामा समर्पित गरेर अनिवार्य अवकाशमा सेवा निवृत्त भएका मुरलीधरलाई गाउँघरमा सबैले सुब्बा साहेब भनेर चिन्दथे । ठुलो घर छ। निजी गाडी छ। सबै कुराले सुख सुविधा छ । नहोस् पनि किन ? मासिक पेन्सन आउँछ । घरभाडा आउँछ । चार ओटा छोरा सबै विदेशमा छन् । जे चाहियो त्यही पठाइदिन्छन् र पनि सुब्बा दम्पतीले भैँसी पालेर दुध  बेच्छन् ।
दुध बेच्न सुब्बालाई डेरीसम्म जानु पनि पर्दैन । एक लिटर दुध छिमेकमा  भाडामा बस्ने  गरिब परिवारले लान्थे  । गरिब दम्पतीले दिनभरि लेबर काम गरेर कमाएर छोराछोरीलाई पढाएका थिए । जति गरिब भए पनि छोराछोरीलाई खान लाउनमा भने दु:ख कटाउँदैनथे ।
 बाँकी सबै दुध एक जना ग्राहकले लान्थ्यो ।  
एकदिन बिहान सुब्बा बैठक कोठामा चिया पिउँदै कसैसँग गफ गर्दै थिए । गरिब परिवारकी  केटी दुध लिन पुगी । सुब्बाकी श्रीमतीले केटीलाई दुध दिँदै गर्दा केटीले बैठक कोठाभित्रको गफ सुनी ।
 'हैन सुब्बा साहेब अब पनि केलाई दु:ख गर्नु हुन्छ यो भैँसी पालेर ? एक मानो दुध किनेर खाए हुन्छ है । के नपुग्दो छ र ?' प्रत्युत्तरमा सुब्बा  गमक्क पर्दै खुब सानले भन्दै थिए  'हाहा ! के दु:ख हुनु यौटा भैँसी पालेर ? नपुगेर होइन । रीरलाई कसरत पनि भएको छ । मिठो दुध खान पाइएको छ ।  बिहान-बिहानै  रित्तो भाँडो लिएर ढोकामा आउँछन् रित्तो भाँडोमा दुध भरेर पठाउँन पाउँदा मलाई त गर्व लाग्छ । उनीहरूका भन्दा मेरा हात माथि भए नि त ।'
त्यो गफ सुनेकी केटीले घर पुगेर आमालाई सोधी 
'आमा हामीले दिनदिनै सुब्बाको घरबाट ल्याएको दुधको पैसा तिर्न पर्दैन हो ? 
किन नपर्नु छोरी पर्छ नि महिना मर्नेबित्तिकै मैले दिनदिनको हिसाब गरेर तिरेकी छु ।
छोरी एकछिन केही नबोली टोलाइरही र भनी- 
'आमा यसपालि दुधको पैसा तिर्न जाँदा म पनि जान्छु है ?'  कहिल्यै यस्ता कुरा नगर्ने छोरीले आज किन यस्ता कुरा गरी भनेर आमाले आश्चर्य मान्दै सोधिन्
'किन नानी?' 
 मलाई हेर्नु छ।  दिनहुँ हामीलाई बाँडेको दुधको पैसा हिसाब गरेर लिँदा ती सुब्बाको हात माथि हुन्छ कि लेबर काम गरेेर कमाएको पैसाले  छोराछोरीलाई दुध किनेर खुवाउने  मेरी आमाको हात माथि हुन्छ ? 
          - दुराडाँडा लमजुङ
             (हाल : गैंडाकोट, नवलपुर)
http://www.saranginews.com/kala-sahitya/3188
https://m.youtube.com/watch?feature=share&v=qSUkW6-ODsc

No comments:

Post a Comment