पैसाको घर (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

April 09, 2020

पैसाको घर (बालकविता)


पैसाको घर     (बालकविता)

        - रमेशचन्द्र घिमिरे

`घर बनाउने केले हो ?´
सोध्नुभयो आमाले
भन्दिनुभो बाबाले
`पैसै-पैसाले !´

`ढुङ्गा, इँटा, सिमन्टी,
 गिटी, बालुवाले
बल्ल घर बन्दछ´
भन्छन् ठेक्दार लाले
`हुन्छ घर नक्कले
पैसै-पैसाले !´

`अझै राम्रो देखिन्छ
झ्याल ढोका हाले´
काठे कर्मी दाइले
यसो भन्न थाले
`जोहो गर्नू काठको
पैसै-पैसाले !´

`रङ्ग किनी ल्याउनू है
अल्लि राम्रो खाले´
पेन्टर दाइले भनेका
`हुन्छ झालेमाले
पार्नु पर्छ चिटिक्क
पैसै-पैसाले !´

घर हुन्छ उज्यालो
बत्ती-सत्ती बाले
पानी खान पाइन्छ
धारा जोड्दिनाले
बल्ल घर बन्छ रे
पैसै-पैसाले !

न त गाह्रो लगाएँ
न त भित्तो टालेँ
मुछिएन सिमन्टी
न बिजुली बालेँ
मैले घर बनाएँ
आफ्नै आइडियाले

दङ्ग पर्दै भन्नुभो
मामाले र काकाले
`कत्ति कुरा जानेकी
नानी सूचनाले
साँच्चै घर बनेछ
पैसै-पैसाले !´

       - भोर्लेटार, लमजुङ
         (२०७६/०६/२४)

No comments:

Post a Comment