बालुवाको घर बालकविता

बालुवाको घर (बाल कविता)   
      - रमेशचन्द्र घिमिरे

बालुवाकै गारो-भित्तो, बालुवाकै तलाे
बालुवाकै डाँडा-भाटा बालुवाकै बलाे
मैले पनि घर बनाउन गरेँ सानो रहर
बन्ला-बन्ला जस्तो भा'छ बालुवाको घर
पानी परे बगाइहाल्छ, रङ्ग अडिँदैन
यै चालले सोचेजस्तो घर ठडिँदैन 
बनाउनै पर्छ भन्ने नभए'नि कर
बनाऊँ-बनाऊँ लाग्यो मलाई बालुवाको घर

विचार थियो झ्याल-ढोका र भर्‍याङ हाल्छु भन्ने
भित्र-बाहिर झिलिमिली बत्ती बाल्छु भन्ने
बन्नै नपाई भत्किन्छ कि, छैन यसको भर
बनिसक्नै लाग्यो मेरो बालुवाको घर

हेर्दा हेर्दै बन्यो अनि आकार पनि लियो 
यै बेलामा आकास गर्ज्यो हावा आइदियो
असिना र पानी पर्‍यो लाग्न थाल्यो डर
बन्यो अनि भत्किइहाल्यो बालुवाको घर !

           - भोर्लेटार, लमजुङ ।  https://youtu.be/Yt8nHN56KpU

Post a Comment

0 Comments