चन्द्रमणि अधिकारीको कविता - रचना चौतारी

Breaking

Powered By Blogger

April 23, 2020

चन्द्रमणि अधिकारीको कविता

आमाको महिमा : कविता
चन्द्रमणि अधिकारी
(अविचल आस्था * मणि*) 
म्याग्दे ४, तनहुँ )



.
आमाको महिमा बखान्न कसरी के शब्द पाइन्छ र ?
आमा नाम लिए पुग्यो सब कुरा के अन्य चाहिन्छ र ?
आमा ! आज बिहानमा मनमनै सम्झी रहेको छु म
आमा आसिकबाट आज मणि झैं चम्की रहेको छु म

२.
आमाको पयधार अमृत चुसें बिर्सेर बिर्सन्छ र ?
आमा झैं गरिमा विशिष्ट युगमा के दैव सिर्जन्छ र ?
स्नेहासिक्त मुहारको मनसुवा व्यक्तिन्छ के शब्दले ?
आमा उत्तम पाइयो सब कुरा लेखेछ प्रारब्धले
३.
आमा दर्शनले कृतार्थ म बनें देवी र द्यौतासित
सारा विश्व- प्रभा हुँदैन तुलना यै एक आमासित
आमा ! शब्द विशेषबाट मनमा आनन्द आयो जति
त्यस्तो पूर्ण प्रभा अतुलनीय हो ?, खै विश्वमा सम्पती ?
४.
आमा काख मिल्यो कुनै समयमा जो मोक्षको ज्ञान भो
आमाको करुणा मिल्यो सहजमा चैतन्य उद्यानको
वास्ना मग्मग फैलिए हृदयमा आलोक बत्ती बले
आमाको ममता उजागर भयो सारा असत्ती ढले
५.
आमा अमृतको घडा पय चुसेँ सन्जीवनीका बुटी
रक्षा ढाल मिल्यो सदा कवचले गर्ने तपस्या कुटी
आमा नाम जपे सबै किसिमका उन्मुक्तिको बोध भो
आमा काम बने सदैव सजिन यो ज्ञानको शोध हो

आमाको मुख हेर्ने औंसी ( मातृृ दिवस)
२०७७/०१/११ शार्दूल विक्रीडित छन्द

No comments:

Post a Comment