उठी नानी उठी ! (बालकविता)

रमेशचन्द्र घिमिरे 

उठी नानी उठी ! 

निद्राबाट छुटी
फुकाएर मुठी 
उठी नानी उठी
नानी उठी उठी !

`खान्छु बुबु माम
गर्छु आफै हाम्म
कटौरीमा थोरै
ल्याउनू मेरी आमा´

मिलाएर लोली
बोल्दै मीठो बोली
हात घुमाई-घुमाई
धारा आफै खोली

चुठ्न चाहिँ चुठी
तर मुखै जुठी
उठी नानी उठी
नानी उठी उठी !

     - भोर्लेटार, लमजुङ    (२०७५/०१/२९)

Post a Comment

0 Comments