असार महिना आयो (बालकविता) - रचना चौतारी

Breaking

Powered By Blogger

July 07, 2020

असार महिना आयो (बालकविता)

- रमेशचन्द्र घिमिरे

असार महिना आयो 

मेरो मनमा किन किन खुसियाली छायो
बर्खे झरी लाग्यो अनि असार महिना आयो
पानी पर्न सुरु गर्ने चर्को घाम भाग्ने
यै पानीमा रुझ्दै भिज्दै हिँड्न मन लाग्ने
तिर्खाएको काकाकुलले पानी खान पायो
रसिलो भो धर्ती जब असार महिना आयो
बाउसे दाइले कोदाली र हली दाइले हलो
बोकी हिँड्छन् खन्न, जोत्न आफ्नै खेतको थलो
गोरु फर्काई हर्के दाइ उचाल्दै छन् सायो
रमाउँदै हिलो खेल्न असार महिना आयो
बिउ काढ्दै स्यानी आमा आफै मुठा पार्छिन्
बिउको मुठा लिँदै दिदी फुकाएर सार्छिन्
रोपारेले गाउने गीत भाइले पनि गायो
छुपुछुपु धान रोप्ने असार महिना आयो
बाको पछि लाग्दै भाइ खेतमा गएको छ
स्कुल जान पर्दैन रे छुट्टी भएको छ
आमासँग मागी भाइले दही-च्यूरा खायो
बर्खे बिदा मनाउन असार महिना आयो ।

 भोर्लेटार, लमजुङ

No comments:

Post a Comment