पालोः लघुकथा - रचना चौतारी

Breaking

Powered By Blogger

September 25, 2023

पालोः लघुकथा

 

लघुकथाः पालो

                                           रमेशचन्द्र घिमिरे

एउटै छिमेकमा तीन साथीहरू थिए । तीनै जनाले कक्षा दससम्म सँगै पढेका थिए । पढाइमा यी तीनै जना प्रायः बराबरीमा पुग्थे । तीनै जनाले एसएलसी पनि दिए । आश्चर्य, तीनै जनाको नतिजा भने बराबर थिएन । एउटा प्रथम श्रेणीमा पास भयो, अर्को द्वितीय श्रेणीमा भने अर्को चाहिँ फेल भयो । प्रथम श्रेणीमा पास हुनेले निकै घमण्ड गर्‍यो । साथीत्वको नाता बिर्सेर उनीहरूसँग बोल्न पनि चाहेन । द्वितीय श्रेणीमा पास हुनेले पनि फेल हुने साथीसँग त्यस्तै व्यवहार गर्‍यो भने फैल हुने चाहिँ हीनताबोधको महसुस गर्न थाल्यो । पछि गएर प्रथम श्रेणीमा पास हुने प्राविधिक विषय लिएर उच्च शिक्षा हासिल गरिसकेपछि ओभरसियर बन्यो । द्वितीय श्रेणीमा पास हुनेले प्रशासन सम्बन्धी विषय लिएर उच्च शिक्षा हासिल गरिसकेपछि अधिकृत भयो । पछि दुवै एउटै अफिसमा जागिरे भए । त्यसपछि भने अधिकृतले ओभरसियरमाथि दबाब दिन थाल्यो । आफ्नो पनि पालो आएकोमा द्वितीय श्रेणीमा पास भएको अधिकृत निकै खुसी भयो । प्रथम श्रेणीमा पास भईकन पनि उसको खटनमा बस्नुपरेकाले खिन्नता महसुस गर्न थालेको थियो ।

फेल हुने साथीचाहिँ विरक्त भएर राजनीतितर्फ लागेको थियो । पछि ऊ सक्रिय कार्यकर्ता भएर नेता समेत बन्यो । उसका दुई साथीहरूले जागिर खाने बेलासम्म सांसद्‍बाट मन्त्री पनि भयो । त्यसपछि भने उसले ती दुवैमाथि दमन गर्न थाल्यो र दुर्गममा सरुवा गराइदियो । सुरुमा फेल भएर आफूलाई हीनताको महसुस गर्ने व्यक्ति आज मन्त्री भइसकेकोले हो वा पालोको पैँचो तिर्न पाएकाले हो, ऊचाहिँ सबभन्दा बढी खुसी थियो ।

----------------------------------------

रचना मितिः २०५१/०७/०६

'मधुपर्क' मा प्रकाशित मितिः २०५३ कार्तिक

No comments:

Post a Comment