लघुकथाः देखावटी माया
-रमेशचन्द्र घिमिरे
'जे भए नि बापछिका बा हुन् । काकाको हातबाट पनि टीका त लाउनुपर्छ भो !
अहिले बा बाँचिराखेको भए काका नै यता आउँथे अनि हामीलाई पनि कर हुन्थेन ।' आमाको हातबाट टीका थापिसकेर कान्छो भाइले ठुल्दाजैलाई सँगै काकाकहाँ जान
कर गर्यो ।
'तँ जा र त भइहाल्यो नि ! तिनले हामीलाई कस्तो व्यवहार गर्थे । थाहा छैन र
तँलाई ? म त जान्नँ ।' जेठो तर्किन
खोज्यो ।
'दसैँको टीकाका दिनमा त मुख नबोल्नेकहाँ गएर पनि आशीर्वाद थाप्नु भन्छन् ।
हजुर त्यसो भन्नुहुन्छ भने त म के भनम् ? जान्ने सुन्ने बाठो
टाठो हजुर नै हो केरे !' यति बोलिसकेर दाजुको उत्तर नै नखोजी
भाइ कान्छाबाकहाँ टीका थाप्न गयो ।
'कान्छा आइपुगिस् ? अनि दाजु आएन है ?' सानो भतिजलाई देखेर काकाले खुसी हुँदै भने र टीकाको थाली ताने । 'बाउ छोरा भेट हुन नि एक वर्षै कुर्नै पर्ने ! ल निधार थाप् ।'
कान्छाले
निधार तेसार्यो,काकाले भट्याए -
'आइन् दोर्न सुते सिर्यम् दसरथे शत्रु छिइम् राघवे
ऐश्वर्यम्
नहुषे गतिश्च पवने मानन्च दुर्जोधने
सौरम्
शान्तनबे बलम् हलधरे कुन्ती सुते पालने
विज्ञाने
बिदुरे भवन्तु भवताम् कीर्तिश्च नारायने
.... ठूलो ठालु हुनू, भाग्गेमानी हुनू, सबैको मान्ने गुन्ने हुनू ... आदि आदि'
यसपालि काकाले
खुलेर भट्याउन सकेका थिएनन् । बोल्दा लामो लामो सास फेरेझैँ लाग्थ्यो । कान्छाले
सोच्यो -'बुढा यसपालि साह्रै गलेछन् ।' घरमा
गएर पनि यही भन्यो । कसैले वास्ता गरेझैँ लागेन ।
टीकाको करिब
तीन महिनापछि काका साह्रै नै बिरामी भएको सुन्नमा आयो । कान्छो हत्त न पत्त पुग्यो
। लाजगाल टार्न जेठो पनि अस्पतालमै पुग्यो अनि 'इमर्जेन्सी'को बहाना देखाएर तुरुन्तै टाप कस्यो । केही दिनपछि काका बितेको खबर आयो ।
दसैँमा टीका लगाउन जान नपाएको पछुतो हो या देखावटी मायाले हो जेठाले कान्छालाई
तुरुन्तै फोन गरेर भन्यो 'अब काकाको सत्गत् गरिसकेपछि तैँले
दुःख पाउन पर्दैन । तेह्र दिनसम्मै म क्रियापुत्री भाइहरूलाई कुरेर बस्छु ।'
-------------------------------
२०८०/०७/०७
(विजया दशमी) भोर्लेटार, लमजुङ
No comments:
Post a Comment