चैनको जिन्दगीः लघुकथा
सामान चाहिएर
हर्के साहुको पसलमा पुगेको आइते भाइलाई आश्चर्य लाग्यो । साहुजीका बुढाबुढी भित्र
भान्साकोठामा बसेर बियर तान्दै मासुको भुटुवा खाँदै गरेका रहेछन् । किन्नुपर्ने
सामान किनिसकेर फर्कँदा आइतेले सोच्यो -'आहा कति चैनको
जिन्दगी ! हामी मात्रै रहेछौँ, खान
नजानेका ...'
गाउँमा बिजुली
बत्ती पुगेको थिएन । धेरैजसोका घरमा टुकी र
लालटिन मात्रै थिए । हर्के साहुले सोलार प्यानलको बत्ती जोडेका थिए । एकदिन
कुनै प्रसङ्गमा सोमे काकाले गाउँलेसँग भन्न भ्याए -''आहा
कति मस्तीको जिन्दगी ! हामी मात्रै रहेछौँ, उज्यालोमा
बस्न नजानेका ...'
गाउँका महिला
दिदीबहिनीहरू दोहोरी गीत सुन्न र बुढापाकाहरू टि.भी. मा समाचार सुन्न हर्के
साहुकहाँ पुग्दा उनी आनाकानी गर्दैनथे । मङ्गली भाउजू र बुधे ठुलाबाहरू गाउँलेसँग
भन्ने गर्थे -'आहा, कति
आनन्दको जिन्दगी ! हामी मात्रै रहेछौँ, रमाइलो
गर्न नजानेका ...'
गाउँका क्लब, आमा
समूह वा स्कुलका लागि चन्दा उठाउन जाँदा हर्के साहु रित्तो हात फर्काउँदैनथे ।
बिरे दाइलाई लाग्यो -'हामी मात्रै रहेछौँ, समाजसेवा
गर्न नजानेका ...'
हर्के साहुले
आफ्नै लगानीमा मन्दिर बनाए । गाउँलेसँग शुक्रे कान्छाले भन्न भ्याएथ्यो -हामी
मात्रै रहेछौँ, धर्म गर्न नजानेका
...'
हर्के साहु
कहिलेकाहीँ गाउँका केही भद्र-भलाद्मीलाई बोलाउँथे र चिया खाजा खुवाउँथे । सन्सरे
सुवेदारले भने-'हामी मात्रै रहेछौँ, साथीभाइको
मन राख्न नजानेका ।'
हर्के साहुले
गाउँलेसँग ऋण लिएको कुरा पनि सुन्नमा आउँथ्यो तर ब्याजको हिसाब गरेर बसेका
गाउँलेहरू एक-आपसमा यस्तो कुरा गर्दैनथे । हर्के साहु बसाइँ सर्न खोज्दैछन् भन्ने
हल्लाखल्ला पनि यदाकदा सुनिन आउँथ्यो । गाउँलेहरू पत्याउँदैनथे । कुनै बुज्रुक
युवाले हर्के साहुको अवस्था औँल्याउँदै यसो भन्यो -'कुन
दिन हर्केले ठगेर भाग्छ अनि थाहा पाउँछौ ।' गाउँलेहरूले
'हर्के
साहुमाथि यस्तो पाप सोच्नु हुन्न' भन्दै
उसको कुरा एक कानले सुनेर अर्को कानले उडाइदिन्थे । पसलबाट बिस्तार बिस्तार सामान
किन रित्तिँदै छन् भन्ने शङ्कासम्म पनि गाउँलेले गरेनन् ।
×××
××× ××× ××× ××× ××× ××× ××× ×××
××× ×××
एकाबिहानै
हर्के साहुको पसल अगाडि गाउँलेको घुइँचो देखियो । हर्के साहु त रातारात फरार
भइसकेछन् ।
'हाम्रो
पैसाले पो मासु र बियर खाएको रहेछ, हर्केले
!'
'हाम्रो
पैसाले पो सोलार जोडेको रहेछ, हर्केले
!'
'हाम्रो
पैसाले पो टिभी किनेको रहेछ, हर्केले
!'
'हाम्रो
पैसाले पो चन्दा दिएको रहेछ, हर्केले
!'
'हाम्रो
पैसाले पो मन्दिर बनाएको रहेछ, हर्केले
!'
'हाम्रो
पैसाले पो हामीलाई नै खाजा खुवाएको रहेछ, हर्केले
!'
आइते भाइ, सोमे
काका,
मङ्गली भाउजू, बुधे
ठुलाबा, बिरे दाइ, शुक्रे
कान्छा, सन्सरे सुवेदार लगायतका गाउँलेहरूले
पक्कै पनि मनमनै सोचे होलान् - 'साँच्चै चैनको
जिन्दगी बिताउन नजान्ने त हामी नै रहेछौँ ।'
******************************
२०८०/०६/१६
भोर्लेटार लमजुङ
No comments:
Post a Comment